हेटौंडामा धमाधम समातिँदै गाँजा र गाडी

0
Shares

हेटौंडा ।

चाडपर्व नजिकिँदै गर्दा यस वर्ष पनि मकवानपुरमा लागुऔषध कारोबार पनि बढ्न थालेको देखिएको छ । प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले शुक्रबार हेटौंडा उपमहानगरपालिका–१०, बुद्धचोकबाट ३ सय ५ किलो गाँजा बरामद गरेको हो । हेटौंडा–११ को थानाभ-याङबाट बुद्धचोकतर्फ आउँदै गरेको ना. ८ ख १७३८ नम्बर ट्रिपरबाट १२ बोरामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । ट्रिपरलाई शंका लागेर चेक गर्दा पछाडि रातो त्रिपालले छोपेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको उहाँले बताउनुभयो ।

उक्त गाँजाा ओसारपसारमा संलग्न ट्रिपरचालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१० स्थित राप्तीपुलनजिक पूर्वपश्चिम सडकखण्डमा चितवनबाट हेटाैंडातर्फ आउँदै गरेको गाडीबाट गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

वागमती प्रदेश–०१–०२ ५च १९४२ नम्बर तरकारी बोक्ने पिकअप गाडी चेक गर्दा गाडीको पछाडि ढालाभित्र तरकारी राख्ने क्रेटमा लुकाइल्याएको अवस्थामा गाँजा ७४ किलो ७ सय ग्राम फेला परेको थियो । गाडीचालक नुवाकोटको बिदुर नपा वडा–३ को बर्मानगर बस्ने वर्ष ३१ का प्रकाश तामाङ र सोही गाडीमा सवार पर्साको ठोरी गापा वडा–३ बस्ने वर्ष ३४ की चन्द्रकुमारी श्रेष्ठसहित गाँजा, पिकअप गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।