स्याङ्जा कांग्रेसले खटायो प्रतिनिधि

0
Shares

स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा काँग्रेसले प्रतिनिधि खटाएको छ । ‘जनताको साथमा काँग्रेस’ भन्ने अभियानलाई सार्थक बनाउन काँग्रेस स्याङ्जाले जिल्लाका ११ वटै स्थानीय पालिकाका लागि प्रतिनिधि खटाएको हो ।

नेपाली काँग्रेसको निर्वाचन लक्षित केन्द्रिय अभियानलाई सार्थक बनाउन पालिका स्तरमा प्रतिनिधि खटाएको काँग्रेस स्याङ्जाका प्रबक्ता भरतप्रसाद लम्सालले जानकारी दिनुभयो । खटिएका प्रतिनिधिले पालिका तहमा ‘जनताको साथमा काँग्रेस’ अभियानलाई मतदाताको घरदैलोमै पु¥याउने छन् ।

जिल्लाका ११ पालिका मध्ये काँग्रेस स्याङ्जाको बैठकले नगरपालिका तर्फ पुतलीबजारमा महाधिबेशन प्रतिनिधि प्रेमराज पौडेल, भीरकोटमा युवा नेता अर्जुनप्रकाश अर्याल, वालिङमा जिल्ला उपसभापति शेरबहादुर थापा, गल्याङ्मा युवा बौद्धिक नेता युवराज पाण्डे र चापाकोटमा महाधिबेशन प्रतिनिधि महेन्द्र श्रेष्ठलाई खटाएको छ ।

काँग्रेस स्याङ्जाले दिएको जानकारी अनुसार गाउँपालितका तर्फ फेदीखोलामा धु्रबबन्धु पौडेल, आँधीखोलामा तारा मल्ल, अर्जुनचौपारीमा गोबिन्दबहादुर रानाभाट, बिरुवामा देबेन्द्र गुरुङ, हरिनासमा डोलबहादुर खड्का र कालिगण्डकीमा शिब गिरि खटिएका छन् ।

पालिका स्तरमा खटिएका जिल्ला प्रतिनिधिले वडा वडामा काँग्रेस कार्यकर्ताको भेला गरी निर्वाचन लक्षित रणनीति तयार गर्नेछन् । लक्षित रणनीति अनुरुप निर्वाचनमा कार्यकर्ताले मतदाताको घरघरमा पुगेर ‘जनताको साथमा काँग्रेस’ भन्ने अभियानलाई सार्थक बनाउने लक्ष्य राखिएको स्याङ्जा काँग्रेसले जनाएको छ ।

प्रवक्ता लम्सालका अनुशार कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी जिल्लाव्यापी रुपमा अभियान सञ्चालन गर्न लागेको हो । उहाँका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीति र जिल्लाका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ । स्याङ्जा कांग्रेसले पालिका प्रतिनिधिहरुलाई तत्काल सम्बन्धित पालिका पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ ।

प्रवक्ता लम्सालले जिल्लाका सबै पालिकामा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको बारेमा यथार्थ बुझेर आउन पालिका प्रतिनिधिहरु परिचालित गरिएको बताउनुभयो । त्यस्तै, पार्टीले सम्बन्धित पालिकामा गठबन्धन दलहरुबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्न समेत निर्देशन गरेको छ ।