मेयरको मुख खुल्यो बाटो खुुलेन

सदरमुकाम जाने बाटोकै कन्तबिजोक

0
Shares

बाजुरा । 

मंगलबार दिउँसो देशभरका महिला हरितालिका तीजको रमझममा थिए । बाजुराका केही महिलालाई भने ज्यानको बाजी थापेर बल्देबाट चाउचाउ, तेल, चिनीलगायतका अत्यावश्यक सामान सदरमुकाम मार्तडीतर्फ ओसार्दै ठिक्क थियो । गाडीको सामान ओसार्ने र बालबालिका पाल्ने, पढाउने दैनिक दिनचर्या जस्तै बनेका श्रमिकले हिजोआज सदरमुकाम मार्तडीमा काम पाउँदैनन् । तीजभन्दा पनि दैनिक ज्यालामजदुरी गरी जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले उनीहरू मजदुरीमै व्यस्त देखिन्छन् ।

हिजोआज उनीहरूले काम पाउन दैनिकजसो सदरमुकाम मार्तडीबाट करिब १९ किलोमिटर तल बल्दे पुग्नुपर्छ । गत असारदेखि बल्दे–मार्तडी सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै उनीहरू पनि भारीको जोहो गर्न तल झरेका हुन् । बल्देको सडक सञ्जाल पनि पहिरोले चुँडेर लगेपछि भारी बोकी जीवन निर्वाह गर्ने ज्यामीलाई ज्यानको बाजी थापेर सदरमुकामसम्म सामान पु¥याउनुपर्छ । हुन त दिनमा एक भारी सामान मार्तडी पु¥याएबापत सिजनमा दैनिक १५ सयदेखि २५ सय रुपियाँसम्म कमाइ हुने ज्यामी शान्तीदेवी रोकायाले बताउनुभयो । ‘बाजुरेलीको बाह्रैमास सरर गाडी मोटर चढ्ने सपना त परको कुरा छ मान्छे र खच्चड हिँड्ने बाटो पनि सहज छैन । भारी बोकेर त हामी खान्थ्यौं सदरमुकाम जाने बाटो नै छैन’ –दानबहादुर कार्कीले भन्नुभयो ।

बल्देको मोटर बाटो गत असारदेखि पहिरोमा परेपछि यात्रु आवगमनमा सास्ती मात्र हैन कन्तबिजोक भएको छ । सडक अबरुद्ध भएको तीन महिना बितिसक्दा पनि यातायात चालु नहुँदा सदरमुकाम मार्तडीलगायत जिल्लाका अन्य व्यापारीले भरियाबाट सामान ढुवानी गराउनु परेको व्यापारी चक्र रोकायाले भन्नुभयो । ‘दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । प्रति केजी ५ रुपियाँमा धनगढीबाट मार्तडी पुग्ने सामान बाटो नहुँदा २५÷३० रुपियाँ प्रतिकेजी पर्न आउँछ । व्यापारले आफू टाट पल्टेर बिजनेस गर्न सक्दैन । यसको प्रत्यक्ष मार उपभोक्तालाई नै परेको छ’ –व्यापारी धर्म बोहोराको भनाइ छ ।

२०५२ सालमा शिलान्यास भएको साँफे–मार्तडी सडकको न त स्तर उन्नति हुन्छ न वैकल्पिक मार्गको व्यवस्थापन गरिन्छ । हामीले कहिलेसम्म सास्ती खेप्ने भन्दै पार्वती उखेडाले दुःखेसो गर्नुभयो । ‘बल्दे–मार्तडी सडक खण्ड पहिरोका कारण अवरुद्ध हुँदा प्रमुख जिल्ला अधिकारी गोपालचन्द्र अधिकारीको अध्यक्षतामा अमकोटका स्थानीय बासिन्दासहित सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा स्थानीयले हामी थातथलो छाडेर पनि जग्गा उपलब्ध गरायौं । बूढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले हप्तामै वैकल्पिक बाटो खुुल्छ भन्नुुभयो । तर तीन महिना बित्न थाल्यो न बाटो खुलेको छ न लगाएको खेती रह्यो । मेयरको मुख मात्र खुल्यो बाटो अझै खुुलेन’ –अम्कोटका रामप्रसाद पाध्यायले भन्नुभयो । उसो त बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख बानियाले गत साउनमै एक हप्तामै अम्कोट हरडे खोलाको वैकल्पिक बाटो चालु हुने भनी विभिन्न सञ्चारमाध्यमसँग अन्तर्वार्ता पनि दिनुभएको थियो ।

‘बल्दे–दवरीको बाटो सडक डिभिजनलाई दुहुनो गाई भएको छ । वर्षेनी पहिरो जान्छ मर्मतसम्भारमा मोटो रकम आउँछ न रकम रहन्छ न त बाटो नै बन्छ । जनतालाई समस्या ज्यूँका त्यूँ छन् । सडक विभागवालालाई मस्ती छ’ –स्थानीय जुनादेवी पाध्यायले भन्नुभयो । उहाँले गुसानो गर्दै भन्नुभयो– ‘बसको भाडा १ सय रुपियाँ थियो, हिजोआज जिपले ५ सय रुपियाँ लिन्छन्, त्यो पनि तीन ठाउँमा चेन्ज गर्नुपर्छ ।’

बाजुरा–अछाम सडक डिभिजन कार्यालय अछामका प्रमुख राजेशकुमार यादवले आन्तरिक स्रोत १०-१२ लाख रुपियाँ खर्च गरी वैकल्पिक बाटो पनि तयार गर्ने र साविकको बल्दे–दवारी सडक मर्मत पनि दुवै कामसँगै गरी एक हप्ताभित्र बाटो चालु गर्ने नेपाल समाचारपत्रसँग बताउनुभएको थियो । तर, हालसम्म न त वैकल्पिक मार्ग बनेको देखिन्छ त पुरानो बाटो मर्मत गरिएको छ ।

वर्षौंदेखि साँफे–मार्तडी सडक खण्डमा आवागमन गर्न साँफे–मार्तडी सडक खण्डबाट गाडीमा सरर गुडेर मार्तडी पुग्ने बाजुरेलीको सपना अधुरै रहने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । प्रत्येक वर्षात्को समयमा बल्दे दवारी सडकमा जाने पहिरो रोकथाम भएको छ न बैकल्पिक बाटोले निरन्तरता पाएको छ । सरकारको वजेट वर्षेनी बूढीगंगा नदीमा मिसिँदै छ । जनताले सधैंभरि पिठ्युँको भारीको सहरामा बाँच्न विवश छन् ।