फोहोर व्यवस्थापन अवलोकन गर्न उपत्यकाको मेयर गोकर्णेश्वर र मध्यपुर थिमीमा

0
Shares

काठमाडौं ।

उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न दुुई महानगरपालिकासहित उपत्यकाका आधा दर्जन नगरपालिकाका मेयर र उपमेयर गोकर्णेश्वर र मध्यपुर थिमीको फोहोर व्यवस्थापन अवलोकनमा गएका छन् ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा खर्च बढ्ने र अधिकांश समय स्थानीयसँग विवाद हुन थालेपछि दुई महानगरसहित नगरपालिकाका मेयर र उपमेयर भ्रमणमा गएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र मञ्जली शाक्य, मध्यपुर थिमी नगरपालिकाको सुरेन्द्र श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाको मेयर दीपककुमार रिसाल, दक्षिणकालीका मेयर मोहन बस्नेत र कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईलगायतको टोलीले गोकर्णेश्वर र मध्यपुर थिमी नगरपालिकाको फोहोर व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको थियो । काठमाडाैं महानगरपालिकाका मेयर साहले उपत्यकाको फोहोर उपत्यकामै व्यवस्थापन गर्ने विषयमा छलफल चलाएपछि महानगरका मेयर र उपमेयरसहितको जम्बो टोली फोहोर व्यवस्थापनको अवस्थाबारे अवलोकन गर्न पुग्नुभएको थियो ।

ललितपुर महानगपालिकाका उपमेयर मञ्जली शाक्यले मध्यपुर र गोकर्णेश्वर नगरपालिकाको फोहोर व्यवस्थापनको अवस्थाबारे जानकारी लिएको बताउँदै भन्नुभयो– ‘दुई नगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लियौं, मध्यपुर थिमी नगरपालिकाले व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गरेको पाइयो ।’

गोकर्णेश्वर नगरपालिकाले इन्सिनरेटरबाट फोहोर जलाउने प्रविधिको प्रयोग गरी दैनिक ३ टन फोहोर जलाउने गरेको छ । त्यसै गरी मध्यपुर थिमी नगरपालिकाले जापानी टोकाजाई प्रविधि ५ सय घरधुरीको फोहोरबाट मल उत्पादन गर्ने गरेको छ । मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले टोलीलाई ३५ प्रतिशत अर्गानिक र बाँकी भुस, माटो, पत्कर प्रयोग गरी मल बनाउने गरिएको जानकारी दिनुभएको थियो । त्यस क्रममा दुई महानगरपालिकाका मेयर र उपमेयरले जग्गा उपलब्ध भए आफैंले फोहोर व्यवस्थापन गर्न सकिने बताएका थिए ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले मध्यपुर नगरपालिकाले व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गरेको जानकारी दिँदै भन्नुभयो– ‘न गन्ध आएको छ, न त फोहोर देखिएको । अति नै सफा गरी मल बनाएको भेटियो ।’ टोलीले भक्तपुर नगरपालिकाको फोहोर व्यवस्थापनको अवस्थाबारे जानकारी लिन खोज्दा मेयर सुनिल प्रजापतिले भने हालसम्म कुनै पनि निकायलाई प्रविधिको बारेमा जानकारी नदिएको र दिन नमिल्ने बताउनुभएको थियो ।

दुई महानगरपालिकाको फाहोर व्यवस्थापन प्रविधि अध्ययनपछि ललितपुर र काठमाडौंले जग्गा खोजेर मल बनाउने प्रविधि शुरू गर्ने जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै स्वामित्वमा मल कारखाना स्थापना गर्न बजेट व्यवस्था गर्ने बताउनुभएको छ । यसअघि काठमाडौंका मेयर साहले चन्द्रागिरि नगरपालिका, मध्यपुर थिमीलगायत नगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । कामपाले फोहोरको वर्गीकरण गरेपछि मात्रै फोहोर संकलन गर्न आह्वान गरेको थियो । सो व्यवस्था कार्यान्वयनमा कठिन भएको छ । कुहिने फोहोर व्यवस्थापन गर्न मल कारखाना खोल्ने विषयमा दुई महानगरपालिकाले लगातार अध्ययन गरिरहेका छन् ।