दोलखाको शैक्षिक धरातलमा उदाएका सूर्य

0
Shares

प्राकृतिक रुपमा उदाउँदो सूर्यले भौगोलिक धरातलमा प्रकाश र ताप फिँजाएर सम्पूर्ण प्राणीहरुलाई जीवनको अस्तित्व बुझाएको हुन्छ । मानवीय जीवनमा मात्र नभएर यो ब्रह्माण्डमा भए–रहेका सबै प्राणीलगायत वनस्पतिलाई आवश्यक पर्ने न्यानोपन र प्रकाश बिहान उदाएर साँझमा अस्ताउने सूर्यले दिइरहेको छ । यो मानवीय जीवनको लागि अपरिहार्य छ ।
प्रकृतिले नगण्यरुपमा अनेकौँ उपहारहरु दिएको छ ।

त्यसलाई चिन्तन–मनन गरेर सदुपयोग गर्नको लागि चेतना र ज्ञानको आवश्यक पर्छ । ती आवश्यकीय वस्तुगत र विषयगत ज्ञान हासिल गर्नका लागि शिक्षाको जरुरत पर्छ । त्यही शिक्षाको परिवेशमा घुलमिल हुनका लािग अक्षरको पनि ज्ञान हुनुपर्छ । यही अक्षरबाट नै पठनपाठनमा गतिशील हुँदै शिक्षाको विकास हुन्छ । यही शिक्षाको आधारबाट नै प्राणीमध्येको सर्वश्रेष्ठ बुद्धिजीवी र चेतनशील प्राणी बन्न सफल भएको हो । भलै प्राकृतिक सूर्यले प्रकाश र तापको महसुस मात्रै दिएको किन नहोस्, त्यसको असर र प्रभाव अनि स्वभावको बारेमा बुभने क्षमता मानव जातिमा हुन्छ । त्यसको लागि पनि त शिक्षाको आवश्यकता पर्छ । त्यसैले शिक्षाको महत्वलाई बुझेर गहन अध्ययन गर्न जरुरी छ ।

मानव समुदायमा शिक्षाको औचित्य नबुझ्दा कतिपयले अनावश्यक झेमला भोग्न बाध्य भएका छन् । कतिपयले निरक्षरताको कारणले आर्थिक अभाव झेलिरहेका छन् । ती कुराहरुलाई हृदयङ्गम गरी अबको पालामा यस्तो नहोस् भनेर नै दोलखाका एक युवक लागिपरेका छन् । नेपालको सन्दर्भमा सरकारी तवरबाट भैरहेको निम्नस्तरीय शिक्षाको पठनपाठनले कमजोर देखिएको अवस्थालाई बलियो बनाउन निजी शिक्षालयको स्थापना गर्ने सोचका साथ अथक परिश्रम र अध्ययन गरी उनले २०४९ पौष १ बाट विद्यालय खोल्न सफल भएका हुन् । उनै साहसी, निडर युवा दोलखाली पुत्र सूर्यकृष्ण श्रेष्ठ हुन् ।

त्यसपछिका दिनहरुमा विभिन्न विषयमा तालिम लिएर-दिएर आफ्नो कर्तव्यलाई उनले निरन्तरता दिँदै आएका छन् । २०६९ साल असार ६ बाट १० गतेसम्म भएको प्रशिक्षक तालिममा भाग लिएको, २०७६ साल असार ८ गतेबाट भएको ५ दिने मेलमिलापसम्बन्धी उच्च स्तरीय लालिम र सन् २०१४ डेसेम्बर २३ देखि ८ दिनसम्मको आधारभूत मेलमिलाप तालिमसमेत सूर्यकृष्णले प्राप्त गरका छन् ।

उनले २०७८ को कोरोना महामारीको समयमा दोलखा प्रहरीको संयुक्त प्रयासमा जनताका लागि जनताचेतनका कार्यक्रममा सक्रिय भूमिका गरेका थिए । यसबापत वि.सं. २०७८ मा प्रहरी कार्यालय, काठमाडौंबाट समेत उनलाई सम्मान प्राप्त भएको छ । शिक्षा क्षेत्रको उन्नयनको खातिर विद्यार्थी जीवनकालमा उनलाई जापान भ्रमण गर्ने अवसर मिलेको थियो । यस भ्रमणबाट हासिल गरेको अनुभव विद्यालय स्थपनामा उपयोग भएको थियो । साथै विदेशी दाता मित्रहरुको सहयोगमा युरोपको डेनमार्क, जर्मनी र नेदरल्यान्डको शैक्षिक भ्रमण गर्ने अवसरसमेत उनले प्राप्त गरेका थिए ।

सूर्यकृष्ण श्रेष्ठको दोलखाप्रतिको योगदानको कुरा गर्दा, वि.सं. २०४९ देखि हालसम्म गरी उनीद्वारा स्थापित शंकर बोर्डिङ स्कुल, दोलखाले एक हजारभन्दा बढी छात्रछात्रालाई निःशुल्क अध्यापन कार्य गरिसकेको र सो विद्यालयमा प्रत्येक वर्ष ३० जनाभन्दा बढीले रोजगारसमेत प्राप्त गरका छन् । यस स्कुलमा पढ्ने विद्यार्थीका अभिभावकको जीवनस्तर उकास्ने उद्देश्यले उनीहरुलाई कुखुरा र बाख्रा उपलब्ध गराएर सूर्यकृष्णले आर्थिक उन्नतिमा टेवा पु¥याएका छन् । यसका अतिरिक्त उनले गरिब विद्यार्थीका लागि जाडो महिनामा न्यानो कपडा उपलब्ध गराउनुका साथै पुस्तक किन्न नसक्ने बालबालिकालाई निःशुल्क पुस्तकसमेत वितरण गरेका छन् ।

यस्तै अर्बुद रोग (क्यान्सर) बाट पीडित आशिष चौलागाईंलाई उपचारका लागि उनले १ लाख रुपियाँ प्रदान गरे भने अर्का क्यान्सर पीडित बालक मदन केसीलाई विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाई ८ लाख ५० हजार रुपियाँ र किड्नी मृगौला पीडित बालिका लक्की शेर्पालाई उपचारको लागि ३ लाख ५० हजार रुपियाँ सहयोग गरेका छन् । त्यसै गरी कोरोना महामारीका समयमा उनले १२० परिवारलाई प्रतिपरिवार ३० केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, साबुन ४ वटा र ३० वटा मास्क वितरण गरेको कार्य स्मरणीय छ ।

यसै गरी दोलखा जिल्ला बालकल्याण समितिमार्फत १५ वर्षसम्मका बालबालिकाहरुमा हुन सक्ने जोखिमपूर्ण श्रम, घरेलु हिंसा, बालविवाहजस्ता जघन्य आपराधिक घटना हुन नदिन यसको रोकथामका लागि विशेष योगदान गर्नुका साथै निःशुल्क स्वास्थ्य उपचार क्याम्प पनि सञ्चालन गरिएको थियो ।

दोलखा अदालतअन्तर्गत जिल्ला न्याय क्षेत्र समन्वय समितिमा वि.सं. २०७५ माघ ३ गतेदेखि हालसम्म कार्यरत रहेको, दोलखा जिल्ला शिक्षा समितिमा २ कार्यकाल समितिको सदस्य भई योगदान गरेको, निजी तथा आवासीय विद्यालय संगठनको २ कार्यकाल जिल्लाको अध्यक्ष र केन्द्रीय सदस्य भई योगदान गरेकोले पनि सूर्यकृष्ण श्रेष्ठलाई दोलखाको शिक्षा क्षेत्रका उदाउँदा सूर्यका रुपमा लिन सकिन्छ । यी सबै कुरालाई मध्यनजर गर्दा, यस्ता व्यक्तिलाई टोल, समाज, राष्ट्रले उचित मूल्यांकन गरेर सम्मानसहित स्याबासी दिँदै इनामको सच्चा हकदार बनाउन जरुरी छ ।