विश्वप्रसिद्ध शिक्षाविद्का विचारसहित शैक्षिक मन्थन

0
Shares

शिक्षाले मानिसलाई संसार चिनाउने र उपयोगी काम गर्न सिकाउँछ । तर आजकोे उचित र केटाकेटीका निम्ति उपयुक्त ठानिएका प्रक्रिया अनि व्यवहार सान्दर्भिक मानिएका छैनन् । यसै सन्दर्भमा विश्वविख्यात अमेरिकी शिक्षाविद् जोन हल्टको कृति ‘द अन्डर अचिभिङ स्कुल’ नामक पुस्तक आजभन्दा ५० वर्षअघि लेखिएको हो । यस पुस्तकमा विद्यालय शिक्षामाथि उनले उठाएका विचारहरु हाम्रा सन्दर्भमा कैयौँ मिल्दाजुल्दा छन् ।

अहिले पनि हामीकहाँ जातीय सामाजिक मनोविज्ञान, विद्यार्थीप्रतिको दृष्टिकोण र व्यवहार अनि शैक्षणिक जडता ५० वर्षअघिका विकसित देशहरुले भोगेको परिस्थिति अहिले दुरुस्तै मिल्दोजुल्दो छ । आफ्नो पुस्तकबाट विद्यार्थीले कसरी सिक्छन् र विद्यालयहरुले तिनका इच्छामा कसरी बाधा पु-याउँछन् भन्ने कुरा खरो भाषामा जोन हल्टले अभिव्यक्त गरेका छन् । अनुशासनका नाममा विद्यार्थीलाई आज्ञापालक र अनुयायी बनाउनेतर्फ लगाइन्छ । जसले गर्दा विद्यालय पढ्न जानु केटाकेटीका लागि आनन्द नबनी यातना दिने ठाउँ हो कि भन्ने भान हुन पुग्छ ।

शिक्षा मानवीय विकासको मूल आधार हो । शिक्षाको आदर्श–उद्देश्य प्राप्तिले नै परनिर्भरताबाट मुक्ति र आफ्नो जीवनोदृश्य स्वयं निर्धारित गर्न अनि स्वेच्छाले अघि बढ्ने प्रेरणा दिलाउँछ । यसर्थ हरेक केटाकेटीलाई स्वयं अघि बढ्न दिनुपर्दछ । ज्ञानको बीज ऊसँगै हुन्छ । उसलाई विकसित हुने अवसर भने जुटाइदिनु जरुरी छ । यसै सन्दर्भमा शिक्षाका अर्का प्रख्यात विद्वान् लर्ड मेकालेले बफादार विद्यार्थी तयार पार्ने उद्देश्यले तत्कालीन ब्रिटिस साम्राज्यलाई आफ्नो उपनिवेशमा चाहिने नागरिक उत्पादन गर्ने शिक्षा नीति तय गरे । त्यो शिक्षासम्बन्धी नीति सफल रह्यो ।

अहिले मेकालेको शिक्षाको मोडेलको आलोचना प्रशस्त गरिने गरेको छ । तथापि अझै विश्वभरका शिक्षाका विविध ढाँचामा प्रचलित शिक्षा मेकालेकै परिवर्तित नयाँ ढाँचा मात्र हो । यस किसिमको शिक्षाले राज्य र बजारलाई चाहिने उपयुक्त नागरिक तयार गर्ने कार्य गर्दै आएको छ । कुनै शिक्षाको मोडेलले विद्यार्थीको वास्तविक रुचि, चाहना र स्वतन्त्र व्यक्तित्व दबाउन खोज्छ भने त्यस किसिमको शिक्षा व्यक्ति, परिवार, समुदाय, समाज र राष्ट्रकै लागि घातक ठहर्छ । यस किसिमका विद्यालय विद्यालय नभएर सजाय दिने जेलजस्ता बनेका छन् ।

शिक्षालाई जीविकाका निम्ति वा भौतिक खाँचो पूर्ति र आर्थिक समृद्धिको साधन बनाउन हुने विचार उनले राखेका छन् । राम्रो भवन, भव्य कोठा, स्तरीय शैक्षिक उपकरण, आधुनिक प्रविधि, कम्प्युटर सुविधा, प्रशस्त खेलकुद, आर्थिक पर्याप्तता आदि भएर मात्र पनि विद्यालय सफल हुन्छ भन्ने कुरामा जोन हल्ट सहमत देखिँदैनन् ।

मानिसको अन्तरजात प्रतिभा र सामथ्र्य पहिचान गरी तिनलाई विकसित गराउन मद्दत नहुने शिक्षा किमार्थ असल शिक्षा होइन । हाम्रा ऋषिमुनीहरुले पनि ज्ञान बाहिरबाट आउने होइन, मानिसभित्रै हुन्छ भन्थे । शिक्षाबाट सिक्ने भनेको विद्यार्थीले आफूभित्र रहेको ज्ञान अनावृत्त गर्ने हो । प्रत्येक बालक फरक–फरक विशेषता र जीवनोदृश्य लिएर जन्मन्छ । ऊ जे हुन संसारमा आएको छ त्यही बन्ने अवसर उसले पाउनुपर्दछ ।

बालबालिकालाई सिकाउने गुरु वा शिक्षकले सहयोगी भूमिका मात्र निर्वाह गर्ने हो । तर शिक्षक आयोग्य र कर्तव्यच्यूत भएमा उसले राम्रो सहयोगी भूमिका निभाउन सक्दैन । यसका लागि शिक्षक नियुक्ति वा छनोट प्रक्रिया अति निष्पक्ष, पारदर्शी र सुधारोन्मुख होस् । अद्यावधिक कार्य क्षमता विकास नीतिलाई व्यावहारिक, वैज्ञानिक र आध्यात्मिक ढंगले सोच्ने अनि विचार गर्ने हुनु जरुरी छ ।

विद्यालय एउटा अमूर्त संरचना हो । यसमा प्राण भर्ने काम शिक्षकको भएकाले उसको चालचलन र चरित्रले अभिभावक अनि विद्यालयबीचको सामीप्यता बढाउँछ । अहिले हाम्रा विद्यालय र समुदायबीचको दूरी फराकिलो हुँदै जानुमा शिक्षकहरुको नै कमी–कमजोरीको परिणाम मान्न सकिन्छ । शिक्षकले शिक्षण कार्यप्रतिको लगाव बढाउनुका साथै सिर्जनशीलतालाई अभिवृद्धि गरी आफूले पढाउने विषयप्रति कत्तिको अपडेट छु र मैले आफूलाई स्वपरिमार्जन गर्दै लग्नुपर्छ भन्ने कुराको आत्मसात् गर्नुपर्दछ ।

शिक्षा सुधारका सवालमा विगतदेखि थुप्रै प्रयास हुँदै आएको पाइन्छ । अझ पछिल्लो समयमा आएर निर्वाचित नेतृत्वले विद्यालयमा विद्यमान यथास्थितिबाट फरक ढंगले लग्न खोज्दा शिक्षकहरुको रुचि नदेखिने र कतिपय शिक्षकहरु दलीय कित्ताबाट विभिन्न पक्ष–विपक्षका धारमा विभक्त हुँदा जनप्रतिनिधिले आफ्नो अनकूलतावश पूर्वाग्रह लिने गरेका विषय पनि कम चर्चामा रहेनन् । यसले गर्दा शिक्षकहरु आफ्नो सुरक्षा र स्वार्थका लागि दलीय कित्तामा लाग्ने नै भए । जसले गर्दा विद्यालयमा राम्रो नगर्ने शिक्षक वा कर्मचारीलाई कारबाही गर्दा सहजै शिक्षक आबद्ध दलले संरक्षण दिने प्रवृत्ति बढ्दै आयो ।
आफ्नो विषयवस्तुमा अब्बल शिक्षक जो आफ्ना विद्यार्थीलाई राम्रोसँग पढाउन सक्छ, ऊ खासै राजनीतिको फेर समाउन जाँदैन ।

ऊ एक स्वाभिमानी शिक्षकको रुपमा रहन्छ । तर जो राम्रोसँग पढाउन नसक्ने, विद्यार्थीबाट तिरस्कृत हुने हुन्छ भने आफ्नो सुरक्षाका लागि पनि कुनै दलसँग आबद्ध हुन पुग्छ । यसर्थ शिक्षक छनोट प्रक्रियाबाट अब्बल शिक्षक नियुक्ति गर्न सकेमा दलगत कित्ताबाट मुक्त शिक्षकहरु राज्यले पाउने आशा राख्न सकिन्छ । यस्तै शिक्षकले मात्र विद्यार्थीलाई सही चिन्तन र विश्लेषण गर्न सक्ने क्षमता वृद्धि गराउन सक्छन् ।

जब विद्यार्थीकालदेखि ज्ञान र जानकारीको मूल सारतत्वको बोध हुँदैन, अहंकारले तार्किक सोचलाई छोपी आफैँभित्र ममत्व पलाउन थाल्छ । अनि मेरो सिद्धान्त, मेरो मान्यता र मेरो संस्कृति नै अरुको भन्दा उत्कृष्ट हो, त्यसैले यसप्रति विश्वास र आस्था राख्छु भन्ने सोच बढी पलाउँछ । यसै गरी आजका राजनीतिक सोचहरु विकसित हुँदै आएका छन् । फरक विचारप्रति षड्यन्त्रका आँखाले हेर्ने गर्दछन् । आज बढ्दो जातीय, धार्मिक, क्षेत्रीय भावना पनि यस्तै अब्बल संस्कृतिको होडबाजीका नाममा ल्याएका संकीर्ण सोच हुन् ।

यस्ता सोच र विचारलाई न्यूनीकरण गर्न मानविकी र बहुआयामिक शिक्षा पद्धतिलाई अंगिकार गरी हरेक तप्का र तहसम्म पु-याउने प्रतिबद्धतासहितको शिक्षा प्रणाली आजको अपरिहार्यता हो । आम मानिसलाई पथप्रदर्शन गर्ने र देशलाई प्रगतिको बाटो देखाउने काम शिक्षाले नै गर्दछ । मानिसमा तीक्ष्ण बुद्धि, अनुभव, समयोचित ज्ञान र साहस पनि शिक्षाबाट नै प्राप्त हुने हो । यसर्थ राज्यले शिक्षा प्रणाली अपनाउँदा आफ्नो देशभित्र आवश्यक जनशक्तिको खाँचो र अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक पर्दा हाम्रा दक्ष जनशक्ति सहजै प्रतिस्पर्धामा उत्रन सक्ने होऊन् ।

प्राविधिक, व्यावसायिक र व्यावहारिक शिक्षा प्रदान गर्न सकेको खण्डमा हाम्रा शिक्षाका उत्पादन नेपालमा मात्र होइन, विश्वको कुनै पनि भूभागमा गएर आत्मसम्मानका साथ काम गर्न सक्नेछन् । यसो हुन सकेमा अहिले हाम्रो शिक्षाले व्यहोर्नुपरेको शैक्षिक बेरोजगार समस्या स्वतः कम हुँदै जानेछ । शिक्षा भनेको विद्यालय कक्षाकोेठाभित्र मात्र सिकाएको भरमा मनोपयोगी तथा व्यवहारोपयोगी बन्न सक्दैन । हरेक बालबालिकाका लागि घर, परिवार, समुदाय, विद्यालय र अन्य वातावरणबाट पनि प्रशस्त ज्ञान, सीप आर्जन गर्न सक्छन् ।

अझै हाम्रा शिक्षक जीवनोपयोगी सिकाइ क्रियाकलापबाट अपरिचितझैँ देखिन्छन् । फलतः हाम्रा केटाकेटीमा सहयोग, सद्भाव, मिलिजुली बस्ने बानी र सामूहिक जिम्मेवारी लिने संस्कारको अभाव खड्किरहेको छ । अहिलेसम्मका हाम्रा हरेक शैक्षिक नीति, कार्यक्रम र योजनामा राजनीतिक नेतृत्व र प्रशासनको भूमिका बढी देखिन्छ । विद्यालय अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका गौण रहँदै आएको छ ।

यस्तो परिस्थितिमा सरोकारवाला स्वयंले नै अपनत्व महसुस गर्न नचाहने स्थिति पनि देखा पर्दै आएको छ । त्यसैले शिक्षा ऐन, नियमको व्यावहारिक कार्यान्वयन स्वतः निष्प्रभावी बन्दै आएको हो । यसमा शिक्षकका पेसागत संघ–संगठनहरुसमेत शिक्षा सुधारका कार्यक्रमप्रति भन्दा पेसागत हकहित र सुरक्षाका लागि आवाज उठाउन तल्लीन छन् । अतः स्थानीय सरकार, समुदाय, अभिभावक, विद्यार्थी र शिक्षकजस्ता सरोकालवाला पक्षलाई पनि परिवर्तन र सुधारको अंशियारका रुपमा स्वीकार गर्दै सबैसँग समन्वय कायम गरी अघि बढ्न सकेमा मात्र शिक्षा सुधारको अपेक्षा गर्न सकिन्छ ।

(लेखक गौतम शिक्षाविद् हुनुहुन्छ ।)