पाँचखाल महोत्सवमा सुपथ मूल्यका स्टल

0
Shares

काभ्रे, पाँचखाल । पाँचखाल युनाईटेड फुटबल एशोसिएन पाँचखालले असोज ३ देखि १६ गतेसम्म विजयादशमी तथा शुभ दिपावलीको अवसर पारी तेश्रो पाँचखाल महोत्सव आयोजना गर्ने भएको छ । दशैँ तिहारलाई आवश्यक पर्ने खाद्यान्न लगायतका सामानहरुको सुपथ मुल्यका स्टलहरु महोत्सवमा राखिनेछ ।

 

महोत्सवको तयारी र उद्देश्यका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष मिलन श्रेष्ठले एशोसिएसनले विगतमा गरेका कृयाकलापहरु तथा आगामी कार्यक्रमका बारेमा अवगत गराउनु भएको थियो ।

व्यक्तिगत प्रयोजनका लागि खपत हुने तरकारी तथा कृषि उपजहरुलाई ब्यवसायीकरण गर्ने, ब्यापार तथा कृषि पर्यटन प्रर्वद्धन गर्ने, पाँचखालको चिनारीलाई अझै उचाईमा पु¥याउने, चाडपर्व लक्षित सुपल मुल्यका सामानहरु स्टलमा राख्ने लगायतका महत्पूर्ण योजनाहरुका बारेमा अध्यक्ष श्रेष्ठले महोत्सव फलदायी हुने बताउनु भयो ।

‘पाँचखाल युनाईटेड फुटबल एशोसिएसनले पहिलो महोत्सव २०७१, दोश्रो महोत्सव २०७६ र तेश्रो महोत्सव २०७९ आयोजना गर्न लागेको छ’–अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘दुई वर्ष कोभिड १९ को महामारीका कारण हुन नसकेको महोत्सवले अब निरन्तरता पाएको छ ।’

महोत्सव सम्पन्न गर्न गणेशप्रसाद काफ्लेको संयोजनमा मुल समारोह समिति गठन भएको छ । एशोसिएसनले फुपा राष्ट्रिय आमन्त्रण कप, नगरब्यापी फुटबल प्रतियोगिता, तीज सांस्कृतिक कार्यक्रम, पाँचखाल प्रथम मेयर कप २०७७ आयोजना गरिसकेको छ । महोत्सवका लागि ३० लाख खर्च हुने अनुमान गरिएको छ ।

६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवको तयारी शुरु भएको छ । स्थानीय सरकार तथा विभिन्न संघ संस्थाको समन्वय र सहयोगमा हुने महोत्सवले धार्मिक, सांस्कृतिक, कृषि तथा पर्यटनको प्रचार प्रसार हुने बताईएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका सदस्य अप्सरा ढुंगाना, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना, वडा अध्यक्षहरु संजय लामा, सुन्दर लामा, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, आयोजक संस्थाका सचिव जीवन नेपाल, संयोजक गणेशप्रसाद काफ्ले लगायतले महोत्सव र त्यसले पार्ने प्रभावका बारेमा सुझाव दिनु भएको थियो ।