कोहलपुर नगरपालिकाद्धारा अबैद्य संरचना भत्काउन सुरु

0
Shares

बाँके ।

कोहलपुर नगरपालिकाले सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको हो ।

कोहलपुर नगरविकास समितिले ३० असारको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउने निर्णय गरेअनुसार नै अबैध संरचना हटाउने सुरु गरिएको कोहलपुरका मेयर पूर्ण आचार्यले जानकारी दिए ।

उनका अनुसार समितिको सो निर्णय अनुसार ३५ दिने सुचना जारी गर्दा पनि हटाउन आनाकानी गरे पछि अवैध संरचना हटाउन तथा जग्गा खाली गर्न पुनस् तीन दिने सूचना जारी गरिएको थियो ।

नगरपालिकाले जारी गरेको ३५ दिने सूचनाको अवधि सकिए लगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षासमेत दिनु परेको थियो । अब सुरक्षाकर्मी थपेर भए पनि कोहलपुर नगरपालिका भित्रका सरकारी जग्गामा गरिएको अवैध कब्जा हटाउने मेयर आचार्यले बताए ।