भड्किलो तीज र मौलिकताको कमी



हरेक वर्षभै बाबुको मुख हेर्ने पर्व कुशेऔंशी सकिनासाथ हिन्दूनारीहरुको एकलौटी पर्व तीज विशेष २०७९ चहलपहलका मनाइरहेको देखिन्छ । यस तीज पर्वलाई हरितालिका विशेष पनि भनिन्छ । सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री पार्वती आफ्नो जीवन साथी श्रीशिवलाई बनाउने इच्छामा थिइन् । बाबु हिमालयले श्रीविष्णुसँग बिहे गर्ने कुरो सुनेर खिन्न हुँदा साथीहरुद्वारा हरण गरिएर अन्यत्र एकान्तस्थलमा गई शिवको प्रार्थना गरेको कारण सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका को अर्थमा यस दिनलाई हरितालिकाको रुपमा मनाइने गरिएको चर्चा भविष्यपुराणमा वर्णित छ । भाद्रशुक्ल तृतीया तिथिलाई तीज अर्थात् हरितालिका भनिन्छ ।

हरितालिकाको अघिल्लो रात्रिमा विशेष खाना बनाई महिलाहरुले दर खाने गर्छन् । यस पर्वभरि प्रायः विवाहित स्त्रीहरु आप्mनो माइतीघरमा बसेर पूर्ण स्वतन्त्ररुपमा तीजपर्व मनाउने गर्छन् । छोरीबेटीहरुलाई तीज विशेषमा दाजुभाइहरुले माइतीमा विशेष निम्ता गर्ने चलन रहेको छ । वर्षभरिका दुःख, कष्ट र असामान्य परिस्थितिलाई समेत बिर्सेर हँसी, ठट्यौली गर्दै श्रीशिवको अनुष्ठान गर्दै मनाइने पर्व तीजमा रसिला, मीठो र व्यंग्यात्मक गीतहरु गाउने, नृत्य गर्ने पनि चलन छ । तीजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरिन्छ ।

साँझ साथीहरुका साथ बालुवाको शिवलिंग बनाई महादेव–पार्वतीको पूजा गर्ने गरिन्छ । दीप, कलश, गणेश र बालुवा प्रतिमासहितको शिवलिंगमा उमामहेश्वरको पूजा गर्ने, षोडशोपचार विधिले पूजा सम्पन्न गर्ने, कथा श्रवण गर्ने परम्परा रहेको छ । तीजका दिन रंगीन, सौभाग्यका कपडाहरुले सजिएर, निकै ठाँटिएर नारीहरु देवस्थल खासगरी शिवमन्दिरमा पुगी दर्शनका लागि भीड लाग्ने गर्छन् । पशुपतिनाथ मन्दिर परिसर, कुम्भेश्वर ललितपुर आदि क्षेत्रमा त यस दिन पाइला राख्ने ठाउँ नै पाइँदैन । तीजको पावन अवसरमा विशेष व्रत बस्नाले पतिको आयु वृद्धि हुने पौराणिक मान्यता छ भने कुमारीहरुले यस्तो व्रत गर्दा भावी पति असल हुने विश्वास गरिन्छ ।

अघि सखीहरुले साथ भई शिव आराधाना गर्दा पार्वतीलाई महादेव पति प्राप्तिको इच्छापूर्ण भएको स्मरणस्वरुप पनि हरितालिका व्रत गर्ने चलनले पौराणिक कालदेखि हालसम्म नै निरन्तरता पाएको देखिन्छ । तीजको पूर्णता भने ऋषिपञ्चमीमा सप्तर्षिहरुको पूजा गरेपछि मात्र पूरा हुन्छ । गणेश चतुर्थीको भोलिपल्ट पर्ने पञ्चमी नै ऋषिपञ्चमी हो । सती अरुन्धतीसहित सप्तर्षिहरु कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, जगदग्नि, गौतम एवं वशिष्ठ ऋषिहरुको विशेष व्रत उपासाना, दर्शन, पूजन, गरिने हुनाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो ।

प्रकृतिको विधान अनुरुप नारीधर्म, रजश्वला, रजोवती समय मासिक धर्म ! वर्षाकालमा नदीहरु पनि रजश्वला हुन्छन् भनिएको छ । सिर्जनाको निरन्तरतालाई कायम राख्ने केही निश्चित विधानहरु छन् । केवल स्त्रीहरुलाई प्राप्त सिर्जनाका यी विशेषताहरु नारीहरुको मौलिक गुण पनि हुन् । अघि ब्रह्महत्या दोष देवताका राजा इन्द्रबाट झिकी विभिन्न ४ स्थानहरुमाः नदीको पहिलो छाल, जमिनको अग्लोे शिखर पर्वत भाग, आगोको पहिलो ज्वाला र स्त्रीको रजश्वलामा राखेपछि अपवित्र भएका यी स्थानमध्ये नारीको रजश्वलाका समय भाँडाकुडा स्पर्श गर्नु नहुने, खाद्यान्न सामग्रीहरुबाट पर रहनुपर्ने र चार दिनमा स्नान गरेपछि मासिक धर्म दोष निवारण हुने कुरा शास्त्रमा विस्तृत वर्णन छ । वैज्ञानिक विचारमा पनि नारी रजश्वलाको रक्त अशुद्धि, विषाक्त कीटाणु आदिका कारण विशेष सरसफाइमा ध्यान दिनुपर्ने दखिन्छ ।

स्त्रीहरुको रजोधर्म दोषको निवारणहेतु ऋषिपञ्चमीको व्रत र सप्तर्षिहरुको पूजा, कथाश्रवण गर्नुपर्ने विषयमा विभिन्न पुराणहरुमा चर्चा पाइन्छ । ऋषिपञ्चमीमा ऋषिहरुको पूजा गर्नुअघि बिहानै नदी जलाशयमा गई विशेष स्नान गर्नुपर्ने हुन्छ । वर्षभरिका अशुद्धिहरु हटाउन ३६५ वटा दतिवन लगाउने, पञ्चगव्यले स्नान गर्ने विधान छ । प्रतिदिन विशेष स्नान गर्न असुविधा हुने कारण यसलाई संस्कार गर्दै वर्षभरिकै एकैदिन विशेष स्नान गर्ने परम्पराले मान्यता पाएको छ । काठमाडौंको टेकुक्षेत्रमा सप्तर्षिको स्थान छ ।

कतिपय महिलाहरु त्यहाँ गई सप्तर्षिको पूजा लगाउने, गोदान, पूर्णपात्र गर्ने गर्छन् । नाचगान गर्दै–गर्दै काठमाडौंका विभिन्न स्थानमा पुगी रंगीन उत्सवसमेत मनाउने गर्छन् । केही दिदीबहिनीहरु नदीकिनारामा, मठ,मन्दिरमा ठूलो उत्साहका साथ आप्mना साथीहरुका साथमा ऋषिपञ्चमीको पूजा गर्ने गर्छन् । देवालय, मन्दिरहरुमा ठूलो चहलपहल हुने गर्छ । कोही आमा–दिदीबहिनीहरु घरघरमा बसेरै पनि सामूहिक पूजा र कथा श्रवण गर्ने गर्छन् ।

नारीजातिमा प्रतिमास देखा पर्ने रजोधर्ममा ब्रह्महत्या दोष रहने र त्यसको निवृत्तिको सजिलो उपाय ऋषिहरुको दर्शन, पूजा नै हो भनी शास्त्रले किटान गरेको छ । ज्ञान, तप, त्याग र विवेकका प्रतिक ऋषिहरुको चिन्तन गर्नाले मानवजीवन सुखद हुन्छ । कतिपय अर्थमा मानिसले ऋषिऋण चुक्ता गर्न सकेको हुँदैन । पुरुषहरुले गर्ने तर्पण आदि कार्य, ब्रह्मसूत्रको कार्य नारीहरुबाट यिनै ऋषिहरुको चिन्तन, मनन गर्नाले पूर्ण हुन्छ । वायु पुराणले ऋषिहरुको चर्चा गर्दै ऋषि भन्नाले श्रुति (वेद), सत्य, त्याग र तप हो भनी बताएको छ ।

आदर्श हिन्दू नारीहरु सहनशील छन्, जसले तीज विशेषमा वैदिक परम्परालाई निर्वाह गर्दै ऋषि पञ्चमीका दिन बिहानै उत्तर, पूर्व फर्की विशेष स्नान गर्दै ऋषि पञ्चमीको व्रत, सप्तर्षिहरुको पूजा गर्ने संकल्प पनि गर्दछन् । माता अरुन्धतीलाई विशेष सौभाग्य दान गर्दै आपूm निरन्तर सौभाग्यवती रहन कामना पनि गर्छन् ।ऋषिपञ्चमी व्रत गर्ने नारीहरुले यस दिन एकछाक खाने गर्छन् । नरोपीकनै उम्रने अन्न सामा, कागुनो, कन्दमूल (कर्कलो) आदि खाई हविष्यान्न भोजन गर्छन् । महिनावारी भएका बखत अन्जानमा भएका त्रुटिहरुको प्रायश्चित्त गर्ने एकमात्र सरल साधनको रुपमा रहेको ऋषि पञ्चमी व्रत अनुष्ठानले नारीहरुमा छुट्टै तेज वृद्धि हुने, दीर्घायु, निरोगीे र पूर्ण सौभाग्यवती हुने कुरा धर्मशास्त्रहरुले विशद वर्णन गरेका छन् ।

विगत केही वर्षयतादेखि हाम्रो मौलिक चाड तीज भड्किलो चाडको रुपमा देखा परेको छ । यो आपैmँ भड्किलो भएको भने होइन, बनाइएको हो । हाम्रा दिदीबहिनीहरुले पार्टी प्यालेसहरुलाई माइती घर बनाएर हो, होटलहरुलाई माइतीघर बनाइदिएर हो । हाम्रा दिदीबहिनीहरु हुनेखाने मात्र होइन हुँदा खाने पनि छन्, मीठो मसिनो खान तीज र दशैँ नै पर्खनुपर्नेहरु पनि छन् । कोरोना र युक्रेन घटनापछि बजार पीडादायी बनेको छ । रोजगारी र आयआर्जनका ढोकाहरु बन्द छन् ।

विषम यस्तो बेला पनि गरगहना प्रदर्शन गर्ने चाडको रुपमा हेर्ने गरियो तीजलाई । मौलिकपना हराउँदै जान लागेकोमा धर्म–संस्कृति र संस्कारविद्हरु चिन्ता प्रकट गर्दै छन् । दुई महिनाअघिदेखि भड्किलो रुपमा दर खाने खुवाउने चलन चल्यो । चाडबाडको दिन आफूखुशी गर्नु स्वाभाविक हुन सक्छ, परन्तु आप्mनो धर्म, संस्कृति, संस्कार विपरीत आर्थिक रुपमा ढाडै सेक्नु राम्रो हुन्न । कतिपय स्थानीय प्रशासनहरुले सूचना जारी गरेरै यस्ता कार्यमा ध्यानाकर्षण पनि गराएका हुन् ।

यसलाई संकेतको रुपमा सबैले बुभ्mनुपर्ने हुन्छ । काभ्रे, धादिङ, कास्की, रुपन्देही, पर्वत, स्याङ्जा आदि क्षेत्रमा स्थनीय प्रशासनले यस्तोे सूचना जारी गर्दा व्यवसायीहरुबाट विरोधका स्वर पनि आएका थिए अतीतमा । गीतका उच्च स्वरले ध्वनि पनि प्रदूषण हुन सक्छ, खानपानमा ध्यान नदिँदा अनावश्यक रोग थपिन सक्छ । जुन दिनमा हो त्यस दिनका लागि हो मनोरञ्जन वा अन्य कार्यहरु गर्ने । महिनौँ अघिदेखि त्यसैमा रस्साकस्सी गर्नु राम्रो थिएन । अर्को कुरा, जसरी तीज संस्कृति शुरुवात भयो त्यो देवी पार्वतीबाट भएको हो र उनले यो व्रत बस्न अघिल्लो दिन रातिमा केवल तीन अँजुली पानीको दर खाएर यो परम्पराको शुरुवात भएको हो, हिजोआजको जस्तो होटल, पार्टी प्यालेसमा पुलाउ र मासु, वाइनबाट होइन ।

साँच्चै भन्ने हो भने व्रतीको आहार पूर्ण सात्विक हुनुपर्छ, खानपिनको कुरो व्यक्तिगत विषय होला तर तामसी खानपिनबाट व्रतको फल प्राप्त हुन्न, न धर्मकै जगेर्ना हुन सक्छ । आडम्बर र देखावटीपनाले हाम्रो संस्कृति बिस्तारै लोपोन्मुख हुँदै छ, अग्रज बुजु्रकहरुको राय पनि आवश्यक हुन्छ । धर्म र संस्कृति प्रदर्शन होइन, नितान्त दर्शन हो, त्यो पनि जीवनदर्शन । गरगहना, कपडा, भड्किलो खानपिन, लामो समयसम्मको नाचगान आदि अनुत्पादक कार्यहरुले तीजजस्ता चाडबाडहरु भड्किलो हुँदै आइरहेका छन् । विषयको गहिराइतिर जानु बढी श्रेयष्कर हुन्छ । सबै दिदीबहिनीहरुप्रति तीजको शुभकामना !

प्रतिक्रिया दिनुहोस्