विवेकशीलको पाठ

0
Shares

राजनीतिक दलको विकास र समृद्धिमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने तथ्यलाई विवेकशील साझा पार्टीको वर्तमान अवस्थाले पुनर्पुष्टि गरेको छ ।

भ्रष्टाचार, अनियमितता र पारदर्शिताको अभावजस्ता विकृतिले आक्रान्त र शिथिल बनेका नागरिकहरुका बीच जब विवेकशील साझा पार्टी उदायो, तब सर्वत्र आशको किरण फैलियो । अपारदर्शी व्यवहारका कारण पुराना राजनीतिक दलहरुलाई पाठ सिकाउनका लागि पनि जनताले विवेकशील युवाहरुलाई मतदान गरे ।

केही वर्षसम्म यस पार्टीले आशाको सञ्चार गरिरह्यो । तर जब यसका संस्थापक मध्येका एक उमेश थापाको असामयिक निधन भयो, यसका पीडादायक दिनहरु सुरु भए । पार्टीमा आएको विचलनकै कारण पछिल्लो पटक संस्थापक सदस्य विराजभक्त श्रेष्ठ लगायत सात केन्द्रीय सदस्यले संगठन त्याग गर्नुभएको छ । अन्य ६ केन्द्रीय सदस्यहरु जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धरले पनि सँगै पार्टी छोड्नुभएको छ ।

उहाँहरुले आइतबार ललितपुरको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालयमा दर्ता गराएको राजीनामा पत्रमा अपेक्षा अनुसार विवेकशील साझाले काम गर्न नसकेका कारण राजीनामा दिएको जनाइएको छ । राजीनामा पत्रको व्यहोरा छ, ‘पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै विवेकशील साझा पार्टीको स्थापना भएको थियो ।

दुखका साथ भन्नु पर्दा विवेकशील साझा पार्टीमा न त आफ्नै मूल्य र मान्यता पालना भएको पाइएको छ, न त सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने प्रयास गरेको पाइएको छ ।’ पार्टी २०७४ सालको सङ्घीय र प्रादेशिक निर्वाचनमा प्राप्त जनमतको सम्मान गरेर आम नागरिकहरूको समस्याहरूलाई सम्बोधन गर्दै संगठन विस्तार गर्नुभन्दा पनि आन्तरिक कलहमा फस्दै, सम्भावनामाभन्दा बढी अरूको आलोचनामा अल्झिरह्यो ।

पार्टीलाई माया गर्ने समूहले उठाएका विषयहरू कहिल्यै पनि सम्बोधन हुन सकेनन् साथै पार्टीले न्यूनतम लोकतान्त्रिक अभ्यासको पालना गरेको आभाससम्म पनि हुन सकेन भन्ने आरोप सामान्य होइन । स्थापना भएको लगभग पाँच वर्षसम्म नयाँ सङ्गठन त बनेनन् नै, भएका सङ्गठनहरू पनि भङ्ग गरिदा, सङ्गठन बनाउन प्रयासरतहरू निरुत्साहित भए । त्यसैले स्थापना कालदेखि नै अनवरत रूपमा सुसंस्कृत राजनीति स्थापना गर्न लागेका धेरै सदस्यहरू, नेताहरू र केही प्रदेश संयोजकहरूले प्रदेश समिति सहित पार्टी परित्याग गर्दै गए । परिणामतः पार्टीले गत स्थानीय निर्वाचनमा लज्जास्पद हार व्यहोर्न पुग्यो ।

विगत पाँच वर्षमा, पटक पटक विभिन्न बहानामा पार्टीको महाधिवेशन हुन सकेन र महाधिवेशन कहिल्यै पनि प्राथमिकता परेन । पछिल्लो क्रममा त न्यूनतम आन्तरिक लोकतान्त्रिक अभ्यासलाई पनि लगभग पूर्ण रूपमा बन्द नै गरियो । फरक मतहरू, सुझावहरू, धारणाहरू प्रस्तुत गरिदा अभद्र व्यवहारहरूको सामना गर्नपर्ने अवस्था आएको थियो, जुन पार्टी र लोकतन्त्रकै लागि अहितकारी थियो । राजीनामा पत्रमा रवीन्द्र मिश्रको नाम नलिई उहाँको अध्यक्षताका बेला पार्टी निकै कमजोर भएको विश्लेषण गरिएको छ । मिश्रले पार्टीलाई राजावादी बनाउने प्रयास गरेका कारण पनि यसलाई छोड्नजाहनेहरु थपिए । विवेकशीलको शक्ति अब अरुका लागि एक पाठको विषयमा सीमित भएको देखिन्छ ।