आर्मीलाई हराउँदै गण्डकी सेमिफाइनलमा

0
Shares

पोखरा । 

गण्डकी प्रदेश भलिबल टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी मा.वि.को भलिबल कोर्टमा सोमबार भएको खेलमा आर्मीलाई हराउँदै गण्डकी समूह विजेता बन्न सफल भएको हो । आर्मी उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

लिग कम नकआउटको आधारमा खेलाइएको खेलमा आर्मी र गण्डकी समूह ‘ए’ मा रहेका छन् । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा सोमबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो सेट गण्डकीले १९–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेपछि गण्डकी खेलमा फर्किने संकेत दिएको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको गण्डकीले त्यसपछिको दुवै सेटमा २५–२३ र १७–१५ ले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा गण्डकीले २०–२३ को स्थिति उल्ट्याएर लगातार ५ अंक जोड्दै जित निकाल्न सफल भएको थियो ।

निर्णायक तथा पाँचौं सेटमा गण्डकीले एक समय ८–४ को आरामदायी अग्रता लिए पनि आर्मीले पुनरागमन गर्दा खेल रोमाञ्चक बन्न पुग्दा तीन पटकको सेट प्वाइन्टमा जित निकाल्न सफल भयो । गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच घोषित भए । गण्डकीले आर्मीमाथि झन्डै दुई वर्षपछि जित निकालेको हो । गण्डकीले आर्मीलाई पछिल्लोपटक २०७७ मा पोखरामा भएको टाइगर कप भलिबलको फाइनलमा हराउँदै उपाधि जितेको थियो ।

आर्मी र गण्डकीबीचको खेल दुई पटकसम्म रद्ध भएको थियो । यी दुई बीचको खेल शनिबार नै हुनुपर्ने भए पनि वर्षाले प्रभावित बन्दा शनिबार र आइतबार एक–एक सेटपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको थियो । शनिबार आर्मीले ३१–२९ को सेटमा जित निकाल्दा आइतबार गण्डकीले २५–१९ को सहज जित निकालेको थियो । उक्त खेल हेर्न नपाएको भन्दै दर्शकहरूले आक्रोशसमेत व्यक्त गरेका थिए । उनीहरूले आयोजकको विरोध गर्दै टिकटको रकम समेत माग गरेका थिए । यी दुई टिमको खेल सोही टिकटमा हेर्ने व्यवस्था गरेसँगै विरोध साम्य भएको थियो ।

यस्तै, समूह ‘बी’ बाट नेपाल पुलिस क्लब समूह विजेता बन्न सफल रह्यो । पुलिसले एपीएफलाई ३–२ को सेटमा हराउँदै ५ अंकका साथ समूह विजेता बन्न सफल भएको हो । पुलिसले यसअघि, मणिमुकुन्द भलिबल क्लबलाई हराउन सफल भएको थियो । यस्तै, एपीएफले पनि मणिमुकुन्दलाई हराउँदै ३ अंक जोड्न सफल भएको थियो । एपीएफ ४ अंकका साथ उपविजेता बन्यो । पुलिसले २५–१९,१७–२५, २५–२१, २१–२५ र १५–१० को सेटमा हराएको हो ।

दुई खेलमा हार व्यहोरेको मनिमुकुन्द अंकविहीन हुँदै लिगचरणबाटै बाहिरिएको थियो । ‘बी’ मा ३ टिम रहेका थिए । पुलिस, एपीएफ र मणिमुकुन्द क्लब समूह ‘बी’ मा रहेका छन् । पुरुष तर्फको सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह विको उपविजेता अर्थात् गण्डकीले एपीएफसँग भिड्नेछ । यस्तै, समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लबले ‘ए’ को उपविजेता आर्मीको सामना गर्नेछ ।

महिलातर्फ समूह ‘ए’ बाट नेपाल पुलिस र गण्डकी सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा ३ टिम रहेका थिए । नेपाल पुलिस क्लब, गण्डकी र एपीएफ क्लब रहे पनि एपीएफ नआएपछि दुई टिम मात्रै भएको हो । पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले २५–१६, २५–१५ र २५–९ को सेटमा हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो ।

एपीएफले खेलमा सहभागिता नजनाउँदा गण्डकी समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । महिलातर्फकै समूह ‘बी’ को खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्ल्बलाई ३–० को सोझो सेटमा हराउँदै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले आर्मीलाई २५–१६, २५–२२ र २५–१९ ले हराउँदै समूह विजेता बनेको हो । अब फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेताले समूह बी को उपविजेता अर्थात् डायमण्डले गण्डकीको र पुलिसले आर्मीको सामना गर्नेछ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार हुनेछन् । फाइनल खेल १ दिनपछि सरेको क्लबका सदस्य बुद्धिबहादुर शर्माले जानकारी दिए ।

दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरूपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।