कामपाले ९६ कर्मचारी करारमा नियुक्ति गर्ने

0
Shares

काठमाडौं  । 

काठमाडौं महानगरपालिकाले ९६ कर्मचारी भर्ना गर्ने भएको छ । कामपाको आइतबार सम्पन्न आठौं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा ३२–३२ जना इन्जिनियर, एमडीजीपी डाक्टर र नर्सको अस्थायी दरबन्दी स्वीकृत गरी करारमा लिने निर्णय निर्णय गरेको छ । बैठकमा २७ वटा प्रस्ताव थिए ।

बैठकले दिना श्रेष्ठ, शंकरप्रसाद पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकार नियुक्त गरेको छ । यस्तै होटल, रेस्टुरेन्ट तथा बजारमा बिक्री हुने खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न खाद्य प्रविधि अध्ययन गरेका खाद्य निरीक्षक लिने, करारमा भएका कर्मचारीको पुस मसान्तसम्म म्याद थप्ने, अस्थायी करारका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेलगायत निर्णय भएका छन् ।

यसै गरी भूउपयोग परिषद् र व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ । बैठकमा प्रमुख शाहले स्वास्थ्यका सबै समस्या जटिल नहुने र जनरल फिजिसियनसँग परीक्षण गराउँदा धेरै समस्या समाधान गर्न सकिने भएकोले एमडीजीपी डाक्टर र नर्सहरूलाई करारमा लिन लागिएको जानकारी दिनुभयो ।

त्यस्तै, स्थानीय स्तरका विकास योजनालाई प्रक्रियामा लैजान प्राविधिक जनशक्तिको कमी भएकाले इन्जिनियहरूलाई करारमा लिन लागिएको हो । उपप्रमुख सुनिता डंगोलले शिक्षा, स्वास्थ्यलगायत संवेदनशील विषयमा छलफल भएको र सबै प्रस्ताव सर्वसम्मत पारित भएको जानकारी गराउनुभयो ।