‘जनताको सपना ब्युँझाउन ओली प्रधानमन्त्री’

0
Shares

काठमाडौं  ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताका मूच्र्छित सपनालाई ब्युँझाउन र पूर्वाधार विकासको थालनीलाई निरन्तरता दिन आगामी निर्वाचनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको बताउनुभएको छ ।

एमालेको केन्द्रीय प्रचार विभागले सोमबार आयोजना गरेको पत्रकारसँगको अन्तरसंवादमा महासचिव पोखरेलले विगतमा ओली प्रधानमन्त्री हुँदा जनतामा आशा जगाउने गरी समृद्धिका लागि काम गरेको बताउनुभयो ।

एमालेको यही भदौ १० र ११ गते सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जाने निर्णय गरेको थियो ।

महासचिव पोखरेलले एमालेका हरेक पार्टी सदस्यले दुई–दुई मत पार्टीका लागि बढाउने अभियान सञ्चालन गर्ने योजना पनि सुनाउनुभयो । सोही कार्यक्रममा उपप्रमुख विष्णु रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेको दाबी गर्दै भावी प्रधानमन्त्रीका रूपमा एमालेले उहाँलाई उभ्याएको बताउनुभएको छ । उहाँले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारण बताउनुभएको हो ।

उहाँले ओली एमालेको सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले पनि उहाँलाई जनतामाझ खडा गरेको बताउनुभयो । कार्यक्रममा उहाँले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले पनि नगरेको दाबी गर्नुभयो ।

उहाँले राष्ट्रियता र राष्ट्रवादमा उनीजत्तिको अरु कोही नउभिएको पनि बताउदै वर्षौं अघिदेखिको सीमा विवाद होस या दुई छिमेकी देशको सम्बन्ध सन्तुलनमा होस् सबैमा उहाँ सफल रहेको बताउनुभयो । यसकारण फेरि पनि ओलीको नेतृत्व राष्ट्रका लागि आवश्यक रहेको रिजालले बताउनुभयो ।