माता पार्वतीको जन्मथलो पाङ उपेक्षित

0
Shares

पर्वत  ।

आज हिन्दु नारीहरूले मनाउने तीज पर्व, हिन्दु नारीहरू निराहार व्रत बसेर तीज मनाउँछन् । हिमालयकी पुत्री पार्वतीले भगवान महादेवलाई पति पाऊँ भनेर व्रत बसेको धार्मिक विश्वास छ । तर, तीजको दिनमा पनि माता पार्वती जन्मेको विश्वास गरिएको पर्वतको पाङ भने अहिले पनि उपेक्षित बन्न पुगेको छ ।

जनकपुत्री सीताको जन्मथलो जनकपुर जसरी प्रख्यात बन्न पुगेको छ त्यस्तै सम्भावना बोकेर पनि पार्वतीको जन्मथलोको रूपमा रहेको पर्वतको पाङ उपेक्षित बन्न पुगेको छ । पर्वतको कुस्मा नगरपालिका–१ पाङमा हिमालयकी पुत्री पार्वती जन्मेको विश्वास गरिएका कारण पर्वती जन्मेको ठाउँ, तपस्या गरेको पार्वती गुफा र पार्वती खेल्ने पार्वतीचौरलगायतका क्षेत्र छन ।

पार्वतीले तीजमा रमाइलो गर्ने, संगीसँगै खेल्ने गरेको विश्वास गरिएको चौरमा दुई दशक अघिसम्म सोही सम्झनामा मेला लाग्दै आएको थियो । पछिल्ला वर्षहरूमा मेला हराउँदै गएको छ । पाङको खरिबोटमा पार्वती जन्मेको विश्वास गरिएको जमिन (गरा) मा मन्दिर बनाइएको छ भने खुर्कोट र पाङको सिमानामा पार्वतीले तपस्या गरेको विश्वास गरिएको पार्वती गुफा रहेको छ ।

यी क्षेत्रलाई समाबेश गरी ‘पार्वतीधाम’ को रूपमा विकास गर्ने योजना भए पनि अहिलेसम्म ठोस योजना र काम अघि बढ्न सकेको छैन । यसलाई पार्वतीधामको रूपमा विकास गर्नका लागि आवश्यक पहल भइरहेको कुस्मा नगरपालिका उपप्रमुख तथा पाङकी स्थानियबासी स्वस्थानी रिजालले बताउनुभयो । पार्वती ध्यानमा बस्ने गरेको पार्वती गुफा, स्नान गर्ने गरेको सहस्र धारा, खेल्ने गरेको मैदानलगायतका ठाउँ पाङमै रहेकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानियबासी बताउँछन् ।

पार्वती पाङमै जन्मिएकी हुन् भन्ने पुराणमा समेत उल्लेख भएका कारण यसको बिकास गर्न अभियान शुरू गर्न आवश्यक भएको कुस्मा नगरपालिका वडा नं १ का निर्वतमान वडा अध्यक्ष देबेन्द्र सुबेदी बताउनुहुन्छ । ‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी, सीताको जन्मस्थल जनकपुरजस्तै पार्वतीको जन्मस्थल पर्वतलाई पनि धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन आवश्यक भएकाले पार्वतीधामको रूपमा विकास गर्न अभियान थाल्न आवश्यक छ’, पूर्व वडाअध्यक्ष सुवेदीले भन्नुभयो ‘सबै धार्मिक, ऐतिहासिक र भौतिक तथ्यहरू राखेर यसको प्रचारप्रसारमा जुटेका छौं, अब भौतिक पूर्वाधारको बिकास संगै धार्मिक पर्यटक भित्र्याउने योजना बनाउन जरुरी छ ।’

केही समयअघि पाङलाई पार्वती धामको रूपमा विकास गर्न संस्कृतिविद्सहितको उपस्थितिमा छलफल समेत भएको थियो । माता पार्वतीको कथा स्वस्थानी व्रतकथा संग पनि जोडिएका कारण स्वास्थानी पूर्णिमाको दिन पारेर अन्तरकृया भएको थियो । अन्तरक्रियामा संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, विश्वहिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, पाङका बारेमा खोज अनुसन्धानकर्ता डा. षडानन्द पौडेललगायतले पार्वतीधामको रूपमा विकास गर्न सकिने सम्भावना औल्याउनुभएको अध्यक्ष सुबेदीले जानकारी दिनुभयो ।

पाङमा फेला परेका विभिन्न पुरातात्विक वस्तुहरूले पार्वती पाङमै जन्मिएको भन्ने कुरा पुष्टि गर्नमा सघाउने उपकुलपति डा. गुरुङले बताउनुभएको थियो । पार्वती गुफामा भेटिएको प्राचीन मूर्ति प्रस्ट रूपमा महिलाको भएको र त्यो पार्वतीकै हो भन्ने विश्वास गर्न सकिने आधार पनि रहेको विश्वास धेरैको छ । पाङलाई पार्वती धामको रूपमा विकास गर्न सकेमा नेपालबाहिरका मान्छे समेत सहस्र धारा र पार्वती गुफामा साधना गर्न आउने विश्वास पनि लिइएको छ ।