अब पाँचतारे होटल र भव्य महलमा

महानगरको एक्सन

0
Shares

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले अबको एक्सन राजधानीको पाँचतारे ठूला होटलमा गर्ने तयारी गरेको छ । महानगरले एक दुई दिनमा भूमिगत तलामा क्यासिनो र पसल सञ्चालन गरिरहेका होटललाई कारबाही गर्ने तयारी गरेको छ । कामपा स्रोतका अनुसार केही होटलले मापदण्डबेगर भूमिगत तलामा व्यापार गरिरहेको आँकलन गरेको छ ।

कतिपयले त भूमिगत तलामा क्यासिनो सञ्चालन गरिरहेको छ । महानगरले त्यस्ता होटलको विवरण संकलन गरी कारबाही गर्ने अन्तिम तयारी गरेको छ । उच्च स्रोतका अनुसार यसै साता त्यस्ता होटललाई कारबाही गर्नेछ ।

यसअघि हिजो सोमबार न्युरोड क्षेत्रमा भूमिगत तलामा पसल सञ्चालन गरेका आधा चार ठूला भवनको भूमिगत तला खाली गराएको छ । नक्साअनुसार उपयोग नगरी भाडा खाइरहेका घरधनीलाई भवन भत्काउन र केही स्थानमा खाली गर्न ३५ दिने सूचना अटेर गरेपछि एक साता यता करिब डेढ दर्जन भवनको भूमिगत तला खाली गराएको छ ।

सोमबार मखनको सुरज आर्किड, वसन्तपुरको कासा भवन, वसन्तपुर कम्प्लेक्स र विरा भवनको भूमिगत तला खाली गराएको छ । बिहान डोजरसहित सुरज आर्किड पुगेका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह, कामपा शहरी विकास विभाग निर्देशक सुरज शाक्य र कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, वडा अध्यक्ष र प्रहरी टोलीसहितको टोलीले भवन खाली गराएको थियो ।

त्यस क्रममा सुरज आर्किडको भूमिगत तलामा पसल सञ्चालन गरेका व्यापारीको भागाभाग भएको थियो । त्यस बेला प्रहरीले तत्काल सामान हटाउन निर्देशन दिएको थियो । लगत्तै आ–आफ्ना पसल पुगेका व्यापारीले दिनभर बेसमेन्ट खाली गराएका थिए । सुरज आर्किडमा सोमबार साँझसम्म अधिकांश पसल खाली भइसकेको छ । कामपा प्रहरी प्रमुख पाण्डेले सोमबार खाली गराइएका सबै भूमिगत तलामा पार्किङको व्यवस्था गर्न निर्देशन दिएको बताउनुभयो ।

वसन्तपुर कम्प्लेक्स, नविल बैंक रहेको कासा भवनका भूमिगत पार्किङ हटाउन शुरू भइरहेको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिगत तला खाली गराउने क्रममा विरा भवनमा व्यापारी र कामपा प्रहरीबीच केहीबेर भनाभन भएको थियो । लामो समय रस्साकस्सीपछि विरा कम्प्लेक्स सञ्चालकले भूमिगत तलामा भण्डारण मात्र गर्ने सहमति गरेपछि साम्य भएको थियो । सो भवनले भूमिगत तलामा गोदाम राख्ने गरी नक्सा पास गरेको थियो ।

‘पछि नक्सापास गर्दा भूमिगत तलामा नक्सा पास भएअनुसार भूमिगत तलामा पसल सञ्चालन नगरी गोदाममात्र बनाउने गरी सहमति भएको छ’ –प्रहरी प्रमुख पाण्डेले भन्नुभयो । कामपा प्रमुख साहको नेतृत्वको टोलीले हालसम्म बानेश्वर कम्प्लेक्स, काठमाडौंमल, शंखमूलको बर्गर हाउसलगायत चारवटा भवन, पुरानो बानेश्वरको मुक्तिनाथ बैंक र बर्गर हाउस रहेको भवन, बानेश्वरको अल्फाबिटा कम्प्लेक्स, त्रिपुरेश्वरको राहदानी विभाग, न्युरोडको आरबी कम्प्लेक्स, दरबारमार्गको यूके पब, रत्नपार्कको सबवे, असन, न्युरोड र मखन क्षेत्रमो सुरज आर्किड, बिरा कम्प्लेक्स, वसन्तपुर कम्प्लेक्स, कासा भवनको भूमिगत तला खाली गर्न निर्देशन दिएको छ ।

महानगरले भूमिगत तला खाली गर्न आदेश दिएका सबै भवनले एकसाता भित्र भूमिगत पार्किङकै रूपमा प्रयोग गर्नुपर्नेहुन्छ । ‘हामी निरन्तर अनुगमन जारी राख्नेछौं । यदि आदेश नमाने तत्काल कारबाही प्रक्रियामा जानेछौं’ –प्रहरी प्रमुख पाण्डेको भनाइ थियोे ।

उहाँका अनुसार भूमिगत तलामा सवारी पार्किङ व्यवस्थापन गर्न कामपाले -याम बनाउन सहयोग गर्ने भएको छ । महानगरले सबै वडामा मापदण्डविपरीत निर्माण भएका र भइरहेका भवनको विषयमा अध्ययन जारी राखेको जनाएको छ । कामपा प्रहरीको एसपी र डीएसपीको कमान्डमा रहेको टोलीले सबै वडाका भवनको तथ्यांक संकलन जारी राखेको जनाएको छ ।