साहसी मेयरलाई सलाम



‘कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ ।’ यो भनाइ काठमाडौँ महानगरपालिकाका मेयर बालेन उर्फ बालेन्द्र साहको हो । उनी आफू जनप्रतिनिधि चुनिएको १ सय दिनको हनिमुन डेज लगभग पूरा गरेपछि अहिले काठमाडौँ शहरमा नक्सा पास नगरी बनाइएका, सार्वजनिक जग्गाजमिन मिचेर ठड्याइएका घर, पसल कबल र महलहरूमा एकाएक डोजर चलाएर चर्चाको केन्द्रविन्दुमा आएका छन् ।

कतिपय मानिसले उनको यो सहासिक कार्यलाई हिन्दी सिनेमाका नायक अनिल कपुरले एक दिनका लागि नायक हुँदा शहरमा गरेको परिवर्तनलाई सम्झेर ‘अनिल कपुर त एक दिनका लागि नायक भएका तर बालेन साह पाँच वर्षका लागि काठमाडौँ महानगरपालिकाका नायक हुन्’ भनेर चित्रण गरेका छन् । हुन त अहिले उनको पक्ष–विपक्ष दुवैमा जमेर विभिन्न तर्कहरू आइरहेका छन् ।

पक्षमा तर्क गर्नेहरूले ‘काठमाडौँ उपत्यकाका शहरी संचरनाहरूमा ठूला पार्टीका ठूलै नेताहरूका वैध–अवैध सम्पत्तिले बनेका संरचनाहरू भएकाले भकाभकी लडाउने काम भएको’ भन्दै बालेनका विपक्षमा कुतर्क गर्न नुहुने भनाइ राखेका छन् । विपक्षमा तर्क राख्नेहरूले चाहिँ ‘बालेन जनप्रतिनिधि भएकाले आफैँले सिनेमा स्टायलमा त्यसरी संरचना भत्काउने कार्यको नेतृत्व गर्न नहुने’ तर्क गरेका छन् ।

यी दुवै तर्कहरू आफ्ना स्थानमा ठीक जँच्छन् तर कुरोको चुरो के हो भने, नेपालमा अघि–अघिका जनप्रतिनिधिहरूले चाहे ती वडाका वडा अध्यक्ष हुन् या गाउँपालिका तथा नगरपालिकाका मेयर ती सबैले आफ्नो कार्यकाल बिताउने सामान्य काम मात्र गरेका थिए । हिजोका जुनसुकै पार्टीका नेता र कार्यकर्ताहरूले आम नागरिक र भोटरहरूलाई यथास्थितिमा रोकिराख्नका लागि मात्रै केही–केही कामहरू गर्दथे । पार्टी राजनीतिमा लागेकालाई उसको अन्तर्वैयक्तिक विचारका कार्य गर्न विशेष छुट हुँदैन ।

पार्टीको अनुशासन, सिद्धान्त आदिबाट ऊ बाँधिएको हुन्छ । तर स्वतन्त्रका हकमा भने यो नहुँदो रहेछ । अहिले बालेनले काठमाडौँमा जुन प्रकारले संरचनाहरू भत्काउने काम गरेका छन्, ती कार्यले न्यून समयका लागि उनी केही मतदाता र विरोधीहरूबाट आलोचित हुन पुगे पनि आम नागरिक र सचेत बुद्धिजीवीहरूबाट मुक्तकण्ठले प्रशंसित भैरहेका छन् ।
केही समयदेखि उनी काठमाडौँको फोहोर व्यवस्थापनमा लागेका थिए । त्यहाँ पनि उनले स्थापित राजनीतिक शक्तिका नेता र कार्यकर्ताहरूबाटै आफ्ना शहरवासीको स्वच्छ हराभरा शहर बनाउने योजनामा भाँजो हालिएको पाए ।

कहिले सिसडोल सडकको मुद्दा, कहिले बन्चरे डाँडामा बाहिरबाटै फ्याँकिएको फोहोरको इस्युले विवादमा तान्यो तर उनी हारेनन् । खासमा काठमाडौँको फोहोर मेयरको मात्र समस्या होइन भन्ने कुरा प्रदेशसभा र संघीय संसद्का सांसदहरूले बुझेरै बुझ पचाए । बालेनले सबै राजनीतिक पार्टीका प्रमुख नेताहरूसँग भेटघाट गरेका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र संघीय मामला मन्त्रीहरूलाई समेत भेटेर कुरा राखे । जब उनले ती यथास्थितिमा चल्ने नेताहरूबाट नयाँ कुरा पाएनन् अनि आफ्नो अन्तर्मनले भनेका कुराहरू भटाभट गर्न थालेका हुन् । यसमा बालेनको दोष केही देखिँदैन ।

अहिले बालेनले खासगरी नक्सा पास नगरी बनाइएका भौतिक संरचनामा डोजर चलाएका छन् । उनले यसरी यी कामहरूमा सफलता पाउँदै गए भने काठमाडौँ उपत्यकामा नक्सा पास नगरी भन्दा पनि निर्माण सम्पन्न नभएका घर, महल र व्यावसायिक मलहरूमा डोजर चलाउँदा आउँदो मङ्सिर ४ गते हुने प्रादेशिक र संघीय संसद्को निर्वाचनमा उनको कामको प्रभावले देशैभरिबाट धेरै प्रादेशिक र संघीय संसद्मा स्वतन्त्रहरूले सजिलै चुनाव जित्ने भएका छन् । यो कुराको पूर्वानुमान गर्न सकिन्छ ।
नेपालको राजनीतिमा कुराहरू धेरै भए तर काम सार्थक रुपले भएनन् भन्ने एकथरीको आरोप छ ।

सामान्य भाव र भाषामा भन्ने हो भने ‘राज्यको ५ लाख लगानी भएका ठाउँबाट एकजना व्यक्तिले ३ सय ६५ दिन रोजगार पाओस् । १ करोड लगानी गरेको भ्यू टावरबाट २० जनाले रोजगारी पाऊन्, १ करोड नै लगानी गरेको पिच सडकका दायाँ–बायाँ व्यवसाय गरेर २० जनाले रोजगारी पाऊन् ।’ हरेक संरचनामा जनतालाई आर्थिक उन्नतिमा जोड्न पाइओस् भन्ने चेतना अहिले यतिखेर बढेको छ ।

घट्दो विदेशी मुद्राको सञ्चिति, देशबाट युवाशक्तिको पलायन, आयात प्रतिस्थापन गर्न नसक्दा सामान्य दाल, भात र तरकारीसमेत विदेशबाट आयात गरेर चलाउनुपरेको अवस्थाले पक्कै मुलुकका आगामी दिनहरू सुखद र आनन्ददायी हुने छैनन् भनेर भन्न सकिन्छ । मुलुकमा बिस्तारो गरी आर्थिक सङ्कटले प्रवेश पाउँदै छ । ‘सरल भाषामा आर्थिक सङ्कट व्यक्तिको क्रयशक्ति घट्दै जाने र अर्थतन्त्रमा नगदको प्रवाह घट्दै जाने अवस्था हो ।’ मुलुकमा सञ्चित रहेको डलरले अहिलेका अवस्थामा करिब ७ महिना मात्र धान्न सक्ने कुरा पटक–पटक राष्ट्र बैँकले भनिसकेको छ । यस्तो अवस्था रहिरह्यो भने निर्यात बढाउनुको कुनै विकल्प छैन ।

अतः निर्यात बढाउँदा कृषि र गैरकृषि क्षेत्रमध्ये देशलाई कृषि क्षेत्रकै उत्पादनहरूलाई बढाउनुपर्ने सजिलोपना हुन्छ, कारण मुलुकमा औद्योगिकीकरण हुन सकिरहेको छैन अनि भएका उद्योगधन्दा पनि अनेक समस्याका कारणले बिलखबन्दमा परेका छन् । यस्तो अवस्थामा निर्वाचित जनप्रतिनिधिहरूले जनतामा केही आशा र भरोसा बढाउनका लागि गरेका बालेन, हर्क र गोपी हमालका कामलाई समेत सरक्कै पार्टीको चस्मा लगाएर हेरिदिनुभएन । नयाँ पुस्ताका युवायुवतीहरूले अहिले देखिने गरी विकास भएको हेर्न चाहिरहेका छन् ।

भनिन्छ– ‘स्थानीय सरकार भनेको जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने गरी आफ्नो हातैले छुइने अवस्थाको सरकार पनि हो । दुःखसुख, हाँसोआँसु, मरौपरो र भोजभतेरमा समेत मतदाताले आफ्नो गाउँठाउँ र खोलाटोलाका जनप्रतिनिधिहरूलाई नै खोजिरहेका हुन्छन् ।’ खासमा भन्ने हो भने, अहिले क्रियाशील राजनीतिक पार्टीहरूले जनतामा जानका लागि कुनै खास इस्यु नै पाएका छैनन् । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र हेर्दा फरकजस्ता देखिए पनि यिनीहरूका राजनीतिक लक्ष्य भनेका उस्तै–उस्तै हुन् ।

समाजवाद नभएको कांग्रेसमा समाजवादी चिन्तनको डरलाग्दो व्याख्या औ मीमांसा हुने गर्छ । हालै कांग्रेसभित्रका धेरैले मन पराएका र विरोधी पार्टीहरूले समेत सम्मान प्रकट गर्ने बौद्धिक व्यक्तित्व प्रदीप गिरीको निधन भयो । उनी करिब दुई वर्षदेखि थलिएका थिए तर यति चाँडै राजनीतिक आकाशबाट अस्ताइहाल्छन् भन्ने कसैले सोचेका थिएनन् । विधिको विधान, उनी गए । यो हप्ता उनीबारे धेरै चिन्ता र चासो प्रकट भए । पार्टीमा उनको नीति, सिद्धान्त र सोचलाई प्रकटीकरण गर्ने तथा व्यवहारमा लागू गर्ने मानिसको सर्वथा अभाव छ । यसो किन हुन्छ भन्दा सबैजसो राजनीतिक शक्तिहरू अहिले भन्ने एकथोक र गर्ने अर्कोथोक गरिरहेका छन् ।

एमालेको पनि लगभग गतिगराँस त्यस्तै छ । त्यो पार्टीमा त झन् एकल निर्णय, एकल नेतृत्व र एकल अभिव्यक्ति प्रकट भैरहेको देखिन्छ । गएका दुई–तीन वर्षदेखि एमाले अध्यक्ष केपी ओली मात्रै विचार प्रवाहमा सक्रिय देखिए । हुन त एमाले मुलुकको सबैभन्दा धेरै संगठित सदस्यहरू भएको ठूलो पार्टी हो । उसले बेलाबेलामा देखाउने राजनीतिक सुझबुझ र कार्यदिशाले देशको दैनन्दिन राजनीतिक घटना र परिघटनाहरूमा आमूल परिवर्तन राख्न सक्ने ल्याकत र हैसियत बोकेको छ तर उसका सकल नेताहरू केपी बाले के बोल्छन् भनेर सधैँ उनैका मुख ताक्छन् । एमालेमा बोल्ड डिसिजन लिने र अभिव्यक्तिमा खरो उत्रने नेताहरूको अनिकाल पर्दै गएको देखिन्छ । यो आम मतदाताहरूले अनुभव गरेको कुरा हो ।

रह्यो माओवादीहरूको कुरो । माओवादीका नेता प्रचण्ड आफू सत्ताको केन्द्रमा रहिरहनका लागि मुलुकमा विकसित हुने राजनीतिक घटनालाई दिनहुँ केही न केही बोली बोलेर प्रभावित पारिरहेकै हुन्छन् । साता–पन्ध्र दिन र महिना दिनका उनका बोलीहरूलाई एकीकृत गरेर संश्लेषण गर्ने हो भने उत्तरोत्तर प्रगति र उन्नतिभन्दा पनि सत्ता राजनीतिलाई बचाउने र आफू विपरीत पार्टीहरूलाई बझाउने, टुटाउने र फुटाउने अभिव्यक्तिहरू नै प्राथमिकतामा पर्दा रहेछन् । बाँकी रहे मधेसवादी दलहरू जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी ।

यिनीहरूले मधेस केन्द्रित राजनीति, मुद्दा र सोचलाई मात्र अघि सार्ने गरेकाले आम जनताको चासोलाई तान्न सकेका देखिँदैनन् । राजावादी पार्टीहरूमा कमल थापा पुरातन सोच र समझलाई नै घुमाइफिराईकन राजनीतिक रुपले क्यास गर्न खोज्ने पार्टीका प्रमुख हुन् भने राजेन्द्र लिङ्देनको पनि नयाँ विचारको पसल मिडियामैत्री र सामान्य रुपले सामाजिक सञ्जाललाई रङ्गीन बनाउने ध्येय मात्र हुने गरेको पाइन्छ । वैकल्पिक राजनीतिको डङ्का पिटेर केही समय राजनीतिक बौछार ल्याउन सफल तथा सबैभन्दा अस्थिर नेता भनेर चिनिएका र हालै मात्र नेपाल समाजवादी पार्टी खोलेर चर्चा र चासोमा आएका डा. बाबुराम भट्टराई एमालेमा जाने भन्ने भित्रभित्रै ठूलो हल्ला थियो तर उनी घुमिफिरी रुम्जाटार भनेझैँ पुनः चुनावी एकीकरणका लागि मात्रै भए पनि माओवादी पार्टी नजिक आएर उभिए ।

उनले आफूलाई गोर्खा र छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँ–२ बाट उठाउने र जिताउने पहलका लागि भारतीय लबीसँग बाहिरी-भित्री साँठगाँठ गर्न थालेका समाचारहरू सञ्चारमाध्यमहरूमा आउन थालिसके । यसबाट उनी जसरी भए पनि आफू सत्ताको इर्दगिर्दमै रहेर आफ्नो ‘मालिक भक्तिको नमुना प्रदर्शन’ गर्न चाहिरहेका छन् भन्ने सन्देश पाइन्छ । विवेकशील साझाबाट राजीनामा दिई बाहिरिएका रवीन्द्र मिश्र र सिके राउतको जनमत पार्टी पनि अनटेस्टेड भएकाले आउने चुनावमा यस्तै स्थान ओगट्छन् भन्न सकिने स्थिति छैन ।

यस्तो परिस्थितिमा नयाँ भोटरहरूको ध्यान तान्ने प्रयत्न गर्नेहरूको समूहमा केही स्वतन्त्रहरूको हल्का चर्चा-परिचर्चा चल्न थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका चतुर युवा नेता रवि लामिछाने र केही अन्य नयाँ अनुहारहरूले शहर केन्द्रित राजनीतिलाई चलायमान बनाउने शक्ति राख्छन् । त्यसैले मात्र आगामी संसद्मा नयाँ अनुहारको सुनिश्चितता नदेखिने हुनाले मतदाताको मन छुन सक्ने युवाहरूको संसद् प्रवेश सुनिश्चित देखिएको छ । त्यसैको कास्टिङ बालेनले गरेका कामहरू हुन् भन्छन् मतदाताहरू ।

प्रतिक्रिया दिनुहोस्