बजेट, भौतिक पूर्वाधार र जनशक्तिबिना नै कार्यालय उद्घाटन

0
Shares

बाँके  । 

बाँकेको कोहलपुरमा बजेट, भौतिक पूर्वाधार र जनशक्तिबिना नै मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतका भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागले आवश्यक स्रोतसाधनबिना नै मालपोत र नापी कार्यालयको उद्घाटन गराएका हुन् ।

उद्घाटन गरिएको मालपोत र नापी कार्यालयबाट तत्काल सेवा दिन सकिने अवस्था छैन । सेवा कहिले शुरू हुने हो थाहा छैन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बोलाएर दुई कार्यालयको उद्घाटन गरिएको छ । निकट चुनावलाई लक्षित गरेर हतार–हतारमा कार्यालय उद्घाटन गरेको देखिन्छ ।

कोहलपुरमा उद्घाटन गरिएको मालपोत र नापी कार्यालयबाट कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिने भनिएको छ । कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्नु राम्रो कुरा हो । राम्ररी सञ्चालन हुँदा त्यस क्षेत्रका तीन पालिकाका जनताले सेवा पाउँछन् । उनीहरूलाई नेपालगञ्ज नै आउनुपर्ने बाध्यता हट्छ । तर, बजेट, भौतिक पूर्वाधार र जनशक्तिबिना नै उद्घाटन गरिएको मालपोत र नापी कार्यालय कहिले सञ्चालनमा आउने हो निश्चित छैन ।

कार्यालय उद्घाटन गर्न आइपुगेका मन्त्रीदेखि सांसद, सचिव र महानिर्देशकले कार्यालय ‘यथाशीघ्र’ सञ्चालनमा आउने आश्वासन दिएका छन् । उनीहरूले यति दिनभित्र नै सेवा दिन्छौं भन्न सकेनन् । सामान्यतया कुनै पनि कुराको उद्घाटन गर्नु भनेको चालु हुनु हो भन्ने बुझिन्छ । मालपोत र नापी कार्यालय उद्घाटन गरिएपछि तत्कालै सेवा चालु गर्नुपथ्र्यो । बाँकेको कोहलपुरमा भने उद्घाटन गर्ने र सेवा चालु अनिश्चित हुने अवस्था आएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानको रक्षा गर्न बनेको वर्तमान सरकारले जनतालाई सहज र सरल तरिकाले सेवा दिन लागिपरेको बताउनुभयो । ‘जनतालाई कसरी सहज तरिकाले सेवा दिन सकिन्छ । संविधानको कार्यान्वयन हुन्छ भन्नेमा वर्तमान सरकार लागिपरेको छ’, मन्त्री श्रेष्ठले भन्नुभयो– ‘यद्यपि, यो संविधान सम्झौताको दस्तावेजका रूपमा आएको छ ।’

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले कोहलपुरमा मालपोत र नापी कार्यालय देखाउनका लागि मात्रै नभई काम गर्नका लागि उद्घाटन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उद्घाटन गर्नु भनेको सञ्चालन गर्नु हो । यसका लागि विभागीय मन्त्रीले सबै चाँजोपाँजो मिलाउनुहुन्छ भन्ने विश्वास गरेका छौं ।’

पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले आइतबार उद्घाटन गरिएको मालपोत र नापी कार्यालय निर्वाचनअघि चालु भएको कोहलपुरवासीले हेर्न चाहेको बताउनुभयो ।कोहलपुरका मेयर पूर्ण आचार्यले मालपोत र नापी कार्यालय सञ्चालनका लागि बजेट र जनशक्तिको अभाव हुन नदिन आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशकले कोहलपुरबाट छिट्टै मालपोत र नापी कार्यालय सञ्चालनमा आउने आश्वासन दिनुभयो । मालपोत कार्यालय, बाँकेका प्रमुख छविलाल नेपालीले स्रोत, साधन र जनशक्तिको तत्काल व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

मालपोत र नापी कार्यालय कोहलपुर नगर विकासको जीर्ण भवनमा उद्घाटन गरिएको छ । दुईवटा कोठा र एउटा सानो हल भएको टिनको छानो भएको भवनमा उद्घाटन गरिएको दुई कार्यालय त्यहाँबाट सञ्चालन हुनै सक्दैन । मालपोत र नापीमा गरेर तीन दर्जन बढी कर्मचारी चाहिन्छ । उनीहरूलाई बस्ने ठाउँ छैन । कर्मचारी त यता र उताबाट ल्याउन सकिन्छ । बस्ने ठाउँ र बजेटको व्यवस्थापन प्रमुख चुनौती रहेको छ ।

नापी कार्यालय, बाँकेका प्रमुख नापी अधिकृत सहदेव सुवेदीले बजेटसँगै दरबन्दी स्वीकृत हुने जानकारी दिनुभयो । कोहलपुरका लागि बजेट सुनिश्चितताको प्रक्रियामा रहेको छ । दुवै कार्यालयमा उपसचिवको दरबन्दी सिर्जना गरिएको छ ।