भित्र पत्रकार सम्मेलन बाहिर हानाहान

रणसङ्ग्राम बन्यो त्रिवि

0
Shares

काठमाडौं । 

गृह मन्त्रालयलको असहयोगका कारण महिनौंदेखि तालाबन्दी भएको र त्यसका कारण दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको जनाउँदै त्रिविमा प्रहरी परिचालन गरी शान्तिसुरक्षा कायम गर्न आग्रह गर्दै आयोजना गरेको पत्रकार सम्मेलन बाहिर नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच हानाहान भएको छ । उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा बसेर काम गर्न सक्ने वातावरण नभएको भन्दै सरकार र पत्रकारसँग हारगुहार गरिरहँदा त्रिवि स्मृति भवनबाहिर दुई विद्यार्थी संगठनका नेताबीच हानाहान भएको थियो ।

उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले पत्रकार सम्मेलन गरिरहँदा बाहिर नेविसंघका तालाबन्दी गर्ने समूहले नाराबाजी गरेका थिए । प्रहरीले नेविसंघका नेतालाई हटाउन लाठी प्रहार गरेको थियो । प्रहरी र विद्यार्थीबीच हानाहान भइरहँदा प्रदर्शन गर्न पुगेका अनेरास्ववियुसँग नेविसंघको झडप भएको थियो । झडपका कारण त्रिवि पत्रकार सम्मेलन बाहिर रणसङ्ग्राम भएको थियो ।

स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनबाहिर झडप हुन थालेपछि केहीबेर पत्रकार सम्मेलन रोकिएको थियो । त्रिविका प्राध्यापक प्रेम चलाउनेलाई सांघातिक आक्रमण गरी कुटपिट गर्ने विद्यार्थी नेता योगेन्द्र रावलको टोलीले नाराबाजी गरेको थियो । झडपका क्रममा नेविसंघ र अनेरास्ववियुका केही विद्यार्थी घाइते भएका थिए । पत्रकार सम्मेलनमा उपकुलपति प्राडा बास्कोटाले हालसम्म ३ सय दिनभन्दा बढी समय त्रिविमा तालाबन्दी भएको स्मरण गराउँदै त्यसका कारण त्रिविको दैनिक काम कारबाहीमा समस्या परेको बताउनुभएको थियो ।

पछिल्लो समय त्रिविका उपकुलपतिबाहेक रेक्टर, रजिस्टार र डीन कार्यालयमा असार २७ देखि तालाबन्दी छ । त्यसअघि अनेरास्ववियुले तीनदिने चेतावनी दिएपछि नेविसंघले ताला खोलेको थियो । पत्रकार सम्मेलनमा उपकुलपति बास्कोटाले नेविसंघको जत्थाले तालबन्दी गरेको भन्दै पटकपटक आक्रोश पोख्नुभएको थियो । त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँणसमक्ष ताला खोल्न आग्रह गर्दासमेत बेवास्ता गरेको आरोप लगाएका थिए । ‘पछिल्लो समय उपकुपति बास्कोटाले तालाबन्दी खोल्न आग्रह गर्दा कुलपति एवं प्रम देउवाले आफैंले ताला फुटाउन भन्नुभएको थियो’ –पत्रकार सम्मेलनमा ताला खोल्नेबारे जानकारी दिँदै उपकुलपति बास्कोटाले भन्नुभयो ।

उपकुलपति बास्कोटाले नेविसंघले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको, कालो ब्यानर टाँगेको, कुर्सी जलाउने, ग्लोबल बैंकमा तोडफोड गर्ने, सेवा आयोगमा तालाबन्दी गरी प्राध्यापकको पदोन्नति गर्न नदिनेलगायतका अप्रिय काम गरेको बताउँदै भन्नुभयो– ‘उनीहरूको देखाउने एउटा र भित्र अर्कै माग हुने रहेछ ।’ शनिबार राजधानीको एल्लो पेगोडा होटलमा आयोजना गरेको कार्यकारी परिषद्को महत्वपूर्ण कागजात र माइन्युट पनि खोसेर लगेपछि त्रिविले सुरक्षा माग गरेको थियो । त्यसअघि तालाबन्दीलाई सामान्य ठान्ने उपकुलपति बास्कोटाले विद्यार्थीले अति नै गरेका कारण आइतबार पत्रकार सम्मेलन आयोजना गरेर नेविसंघमाथि आक्रोश व्यक्त गर्नुभएको थियो । त्यस बेला नेविसंघले पत्रकार सम्मेलन स्थल बाहिर लगातार नाराबाजी गरेका थिए ।

दर्जनौंको संख्यामा नेपाल र सशस्त्र प्रहरी बलको घेराभित्र पत्रकार सम्मेलनमा उपस्थित उपप्राध्यापक चलाउनेले आफूलाई कुट्ने समाजशास्त्रका विद्यार्थी नभई बाहिरबाट ल्याइएकाहरू थिए भन्नुभयो । पत्रकार सम्मेलन हुनुअघि उपकुलपति बास्कोटालाई विद्यार्थीले सर नमस्ते, आजदेखि त्रिभुवन विश्वविद्यालय नआउनुस् है । आजदेखि हाम्रो शान्तिपूर्ण आन्दोलन अशान्तिपूर्ण हुनेछ । नत्र हामी जिम्मेवार हुनेछैनौं भन्दै मोबाइलमा म्यासेज पठाका थिए ।

लामो समयदेखि दुई पदाधिकारी, व्यवस्थापन र मानविकी संकायका डीन, आर्थिक र कर्मचारी प्रशासन महाशाखा लेखाशाखालगायत एक दर्जन कार्यालयमा तालाबन्दी गरिएको थियो । तालाबन्दीका कारण कर्मचारीको वृत्ति विकासको काम ठप्प भएको छ । कर्मचारीले साउनको तलब खान पाएका छैनन् । त्रिविबाहेक सबै आंगिक क्याम्पसमा असारदेखि तलब दिन सकेको छैन ।

कर्मचारीको सञ्चयकोष, अवकासपछिको उपादान रोकिएको छ । नेविसंघले केही दिन अघि उपकुलपति बास्कोटालाई नभेटेपछि उहाँको कुर्सीमा जुत्ता खोलेर माला लगाएका थिए । त्यस बेला पनि सामान्य झडप भएको थियो । नेविसंघले उपकुलपति बास्कोटाको राजीनामा मागेको थियो ।

अनेरास्ववियुले सबै ताला खोल्यो, नेविसंघले लगायो
एमाले निकट अनेरास्ववियुले ताला खोलेको चार घण्टा बित्न नपाउँदै नेविसंघले फेरि तालाबन्दी गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालसहितको टोलीले विश्वविद्यालय सफाइ गर्ने कार्यक्रम आयोजना गरेको थियो । सफाइलगत्तै सो टोलीले रेक्टर, रजिस्ट्रार, व्यवस्थापन र सामाजिक संकाय डीन कार्यालय, लेखा, प्रशासन र कर्मचारी प्रशासन महाशाखामा लगाइएको

ताला फोडेको थियो ।
ताला खोलेको चार घण्टा बित्न नपाउँदै नेविसंघले उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाइदिएको छ । नेविसंघले अनेरास्ववियुले ताला फोडेका सबै कार्यालयमा ताला लगाउने भएको छ ।

माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन

दुजाङ शेर्पा
अध्यक्ष, नेपाल विद्यार्थी संघ

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले आन्दोलनको विषयमा संगठनमाथि अफवाह फैलाएको आरोप लगाउनुभएको छ । उहाँले नेविसंघले प्रश्नपत्र दोहोरिएको घटनामा दोषीलाई कारबाही र स्वतन्त्र छानबिन समिति गठन नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– ‘प्राध्यापक घनश्याम भट्टराईको समितिले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कारबाही नगरेसम्म र व्यवस्थापनबाहेक अन्य संकायको विज्ञ टोली गठन गरी पुनः छानबिन नगरेसम्म आन्दोलन जारी रहने छ ।’
माइन्युट च्यातेको र तालाबन्दी गरेको विषयमा उहाँको भनाइ थियो – ‘लुकेर विभिन्न स्थानमा बैठक गरिन्छ भने विद्यार्थीले के गर्ने त ?’ उहाँले त्रिविले सबै विषयमा छलफल गरी सहमति गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार आइतबार अनेरास्ववियुले युवासंघ र गुण्डा ल्याएर आफ्ना नेतामाथि आक्रमण गरेकोमा आपत्ति जनाउनुभयो ।
नेविसंघको तालाबन्दीका कारण महिनौंदेखि पदाधिकारी र डीन र विभिन्न महाशाखामा तालाबन्दी भएको विषयमा उहाँले पदाधिकारीकै कारण यस्तो अवस्था आएको दाबी गर्नुभयो ।

अति भयो सुनिता बराल अध्यक्ष, अनेरास्ववियु

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले महिनांैदेखि त्रिवि पदाधिकारीको कार्यकक्षमा ताला लगाएर नेविसंघले अति गरेको आरोप लगाउनुभएको छ ।

उहाँले तत्काल तालाबन्दी खोल्ने चेतावनी दिनुभयो । अनेरास्ववियुले पदाधिकारीलाई हटाउन सरकारबाटै यस्तो घटना भएको दाबी गर्नुभयो । महिनौंदेखि पदाधिकारीले ताला खोल्न आग्रह गरी कुलपति एवं प्रधनमनत्री शेरबहादुर देउवा, सहकुलपति एव शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर गुहार माग्दासमेत बेवास्ता गरेको आरोप लगाउनुभयो ।

उहाँले यस्तो विषम परिस्थितिमा नेविसंघले ताला बन्दी गरी झडपको स्थिति ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी यो चाहन्छौं कि विश्वविद्यालयको ताला तत्काल खोलियोस् समस्या भए पदाधिकारीसँग वार्ता गर्नुपर्छ । उहाँले नेविसंघकै कारण त्रिवि अस्तव्यस्त भएको आरोपसमेत लगाउनुभयो ।