स्वयं सेविकालाई प्राथमिक उपचार सामाग्री

0
Shares

लमजुङ । मध्यनेपाल नगरपालिकाले पालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचार किटबक्स उपलब्ध गराएको छ । ग्रामिण भेगमा स्वास्थ्य क्षेत्रमा काम गरीरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगरपालिकाले प्राथमिक उपचार किट बक्स उपलब्ध गराएको हो ।

नगरपालिकाले गत वर्षको स्वास्थ्य सम्वन्धी कार्यक्रमहरुको समिक्षा गर्दै सोही अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्राथमिक उपचार बक्स वितरण शुरु गरेको हो । पहिलो चरणमा वडा नम्वर ६ का स्वयंसेविकाहरुलाई सामाग्री हस्तान्तरण गरिएको र पालिका भित्रका सबै स्वास्थ्य स्वयंसेविकाहरुलाई उपलब्ध गराइने नगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मध्यनेपाल नगरपालिकामा सवै वडामा गरी एकसय १३ जना स्वास्थ्य स्वयं सेविका रहेका छन् । स्वाथ्य सम्वन्धी विभिन्न गतिविधीहरुमा काम गर्दै आएका स्वास्थ्य स्वयंसेविकाहरुको सेवा प्रवाहलाई अझै थप प्रभावकारी बनाउन प्राथमिक उपचार किटबक्स उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ ।

प्राथमिक उपचार किटबक्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख रमेशकुमार पाण्डेले महिला तथा बालबालिकाहरुका लागि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पु¥याएको योगदान सम्मान योग्य रहेको उल्लेख गर्नुभयो । महिला स्वास्थ्य स्वयंसेविकाहरुले गर्दै आएको स्वास्थ्य सेवा र अझ ग्रामिण भेगका सर्वसाधरणले महसुस गर्नेगरी थप प्रभावकारी बनाउन नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महिला स्वास्थ्य स्वयं सेविकाहरुले देशभरिका गाउँपालिका र नगरपालिकाका वडास्तरसम्म स्वास्थ्यका विभिन्न अभियानका साथै प्राथमिक स्वास्थ्य उपचार र जनचेतना जगाउनमा महत्वपूर्ण योगदान दिएका छन् । राज्यले स्वास्थ्य क्षेत्रमा अवलम्बन गर्ने हरेक नीति तथा कार्यक्रम गाउँ स्तरमा कार्यान्वयन गर्न महिला स्वास्थ्य स्वयम् सेविकाको योगदान निकै अतुलनिय रहेको छ ।

संस्थागत सुत्केरीको प्रगतिका साथै भिटामीन ‘ए’ कार्यक्रम, हात्तिपाईले रोगविरुद्धको अभियान, पुर्णखोप जस्ता हरेकखाले स्वास्थ्य अभियान सफल पार्न महिला स्वास्थ्य स्वयं सेविकाको महत्वपूर्ण भूमिका रहेको छ ।