सूचना प्रविधिको दुरुपयोग



सूचना प्रविधि आजको आधारभूत विषय हो । इन्फरमेसन टेक्नोलजी जसलाई बोलीचालीमा आइटी पनि भनिन्छ, नेपालजस्तो अल्पविकसितदेखि विश्वका सर्वाधिक विकसित सम्मका मुलुकहरुका लागि अनिवार्य आवश्यकताको विषय बनेको छ ।

इन्टरनेट, वाइफाई, इमेल र फेसबुक–मेसेञ्जरआदि सामाजिक सञ्जालदेखि अनलाइन बिजनेससम्मका सन्दर्भप्रति जानकार हुनका लागि आइटीका बारेमा ज्ञान हुनैपर्छ । स्वदेश तथा विदेशमा रोजगारीका लागि समेत बढी आवश्यकताको विषय देखिएको आइटीको प्रयोग गर्दै सामाजिक विकृति फैलाउने काम भएका देखिन्छन् ।

हालै प्रकाशित एक समाचारअनुसार अनलाइन ठगीमा झापाको दमकमा शैक्षिक पराशर्म केन्द्र चलाउने सतप्रकाश साह नामका व्यक्ति पक्राउ परेका छन् । २५ वर्षीय ती युवाले जसरी आइटीको प्रयोग गर्दै अनलाइन मार्फत् लाखौंको जुवा खेलाउने कार्य गरेको सन्दर्भ बाहिर आयो, त्यसले युवा जमात नै आइटीमा बढी जानकार भएकाले यसको दुरुपयोगमा पनि उनीहरु नै बढी संख्यामा सक्रिय हुने सम्भावना देखायो ।

शैक्षिक परामर्श लिन केन्द्रमा पुगेका व्यक्तिहरुले ठगिएको चाल पाएपछि दिएको उजुरीका आधारमा खोजी गर्दैजाँदा प्रहरीले केन्द्रमा अनलाइन जुवा खेलाउने गरेको पत्ता लगाएको हो । साहको रबाफ निकै माथिल्लो स्तरको देखिएको, शैक्षिक परामर्श केन्द्रको आम्दानीबाट त्यो रबाफ सम्भव नभएको, साहको स्थानीय सिविल बैंकको खातामा एक महिनामा ८० लाख रुपियाँभन्दा बढीको कारोबार देखिएपछि प्रहरी उनको कोठासम्म पुगेको थियो । साहको कोठाबाट २ सय ४४ वटा एनसेलको सिमकार्ड बरामद भएको पनि प्रहरीले जनाएको छ । साह जुवाका लागि ईसेवाबाट कारोबार गर्दा रहेछन् । ईसेवाको एकाउन्ट बनाउन उनले २ सय ४४ वटा सिम प्रयोग गरेको पाइयो ।

अनलाइन जुवामा कारोबार गर्न एउटा मात्रै ईसेवा एकाउन्टले सम्भव नभएपछि उनले सञ्चालन गरेको केन्द्रमा इन्टरनेसनल कन्सलटेन्सीमा आउने सेवाग्राहीको नागरिकताको फोटोकपी र फोटो प्रयोग गरेर अरु सिमकार्ड निकाल्ने गरेको पनि देखिएको छ । एजुकेसन कन्सल्टेन्सीमा आउने विद्यार्थीको नागरिकताको फोटोकपी र फोटो राख्दै सिमकार्ड चलाउँदै गरेको भेटियो । प्रहरीका अनुसार साह अनलाइन जुवा खेलाउने वान एक्स एप्लिकेसनको टिम १ लिडर रहेको बुझिएको छ ।

टिम २ र टिम ३ मा दमक नगरपालिका–७ का राजु श्रेष्ठ र कमल गाउँपालिका– २ का अरुण कार्की रहेको देखिन्छ । श्रेष्ठ र कार्की पनि साहजस्तै युवा छन् । साहले डेढ महिनायता अनलाइन जुवा खेलाइरहेको बयान दिएको पनि प्रहरीले बताएको छ । साहको कन्सल्टेन्सीमा प्रहरीले नक्कली सरकारी कागजात र सरकारी छाप भेटेको छ । वडाको कागजपत्रदेखि सबै नक्कली कागजात कन्सल्टेन्सीबाट बनाइने प्रहरीले बताएको छ ।

कानुनी व्यवस्था अनुसार यस प्रकारको किर्ते र ठगी गर्ने व्यक्ति तथा मतियारलाई सात वर्षसम्म कैद वा ७० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । मुलुकको समृद्धिका लागि भरोसाका केन्द्र ठानिएका युवाहरु यस प्रकारको असामाजिक गतिविधिमा सरिक हुनु गम्भीर विषय हो । मुलुकमा सरकारस्वयम् भ्रष्टाचारको अभियोग खेपिरहेको छ, आश गरिएका युवा ठगी र किर्ते कार्यमा लागेका छन्, यसलाई सबैले गम्भीर विषयका रुपमा लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्