डेढ महिनाअघि नै काठमाडौंमा डेंगु

0
Shares

काठमाडौं ।

दशैं–तिहारताका फैलने गरेको डेंगु यसपालि डेढ महिनाअघि नै फैलिएको छ । सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुले मानिसलाई मारी नै हाल्ने नभए पनि शारीरिक पीडा भने अत्यधिक दिन्छ ।

उहाँले सन् २०१९ मा झै डेंगु अहिले पनि फैलँदै गरेको जिकिर गर्दै डेंगुको विषयमा नेपाल सरकारले विशेष ध्यान दिने बेला आइसकेको बताउनुभयो । सरकारले डेंगु नियन्त्रणमा पहिला नै तयारी गर्नुपर्नेमा अहिलेसम्म पनि गम्भीर हुन नसकेको डा. पुनको भनाइ छ । काठमाडौंमा मात्र १ हजारभन्दा बढी डेंगुका बिरामी हुनसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘कतिपयले अस्पताल नै नआई नजिकैको औषधि पसल, क्लिनिक, निजी अस्पतालमा गएर उपचार गराएको हुन सक्छ । यस्तो अवस्थामा अध्ययन अनुसन्धान हुन सकेको छैन ।’

पहिला तराई क्षेत्रमा मात्र फैलिने गरेको डेंगु अहिले काठमाडौंमै महामारीका रूपमा फैलँदै छ । डेंगु नियन्त्रणका लागि सरकार र नागरिक दुवै सजक हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । डेंगु रोग बढ्नुको कारक तत्वमा काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्नु पनि रहेको छ । कालो–सेतो रंगको (जेब्रा) लामखुट्टेको नियन्त्रण नगरी डेंगुको समस्या समाधान नहुने बताउँदै डा. पुन भन्नुहुन्छ– ‘अझै डेढ महिनासम्म डेंगु फैलिने समय भएकाले यसले पनि कोभिडले झैं गम्भीर रूप नलेला भन्न सकिन्न । डेंगो सेरो टाइप फरक हुन गयो र पुनः दोहोरिन गयो भने थप जोखिम हुन सक्छ ।’

डेंगुको लक्षणका बारेमा डा. पुनले भन्नुहुन्छ– ‘लगातार ३ देखि ४ दिन अर्थात् एक सातासम्म ज्वरो आउने र जिउ असाध्य दुख्यो भने डेंगु लागेको हुन सक्छ । डेंगु लाग्दा हड्डी नै भाँचिएको झैं गरी दुख्न सक्छ । यस्तो लक्षण देखियो भने चिकित्सकको सल्लाह लिई उपचार गर्नु उपयुक्त हुन्छ ।’ सामान्य अवस्थाको ज्वरोभन्दा डेंगु ज्वरो आउँदा ज्यान असाध्य दुख्ने र काम छुट्ने गरी ज्वरो आउने हुन्छ । तर, यस्तो बेलामा चिकित्सकको सल्लाहबिना आफूखुसी पेनकिलर, ब्रुफिन जस्ता औषधिहरू खान नहुने तर सिटामोल, प्यारासिटामोलसम्म खान सकिने डा. पुन बताउनुहुन्छ ।

पछिल्लो समय काठमाडौंमा जनघनत्व बढ्नुका साथै ठूल्ठूला उद्योग कलकारखान खुल्ने, गाडीका ग्यारेजहरु बढ्ने, प्लास्टिकको प्रयोग धेरै हुने कारणले गर्दा लामखुटेले जमेको पानीमा सुरक्षित बास बनाउने र एक व्यक्तिलाई टोकेर पुनः अर्को व्यक्तिलाई टोक्दा डेंगु सार्ने सम्भावना बढी हुन्छ । यसको रोकथामको प्रमुख उपाय भनेको लामखुट्टेको बास नष्ट गर्ने, घरमा बस्दा पूरा शरीर ढाक्ने लुगा लगाउने र सकेसम्म झाडी र पानी जम्ने ठाउँमा नजाने नै भएको डा. पुनको भनाइ छ । यसका साथै घरमा दिउँसै सुत्दा पनि झुल लगाएर सुत्न, लामखुट्टेबाट बच्नका लागि घर वरिपरि खाल्डाखुल्डी र पानी जम्ने ठाउँ पुर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।