लोकतन्त्रमा चुनाव चिन्ह


लोकतान्त्रिक व्यवस्थालाई सबल बनाउन विभिन्न साना–ठूला पक्षहरुको महत्वपूर्ण हात रहन्छ । यस्तै मध्येको एक हो निर्वाचन चुनाब चिन्ह । पाँच वर्षअघि सम्पन्न संघीय तथा प्रादेशिक निर्वाचनमा ९६ दलले पाएको चुनाव चिन्ह र यस अघिका निर्वाचनमा दलहरुलाई दिइएको चिन्हले यस सम्बन्धमा लोकतान्त्रिक चरित्र अनुशरण गर्न मुलुक परिपक्व हुँदैआएको प्रमाणित हुन्छ ।

पहिला राष्ट्रिय जनावरका रुपमा रहेको गाई पनि चुनाव चिन्ह दिइयो । ‘कसैले माग्यो भन्दैमा राष्ट्रिय झण्डालाई पनि चुनाव चिन्ह बनाउन दिने !’ भन्ने प्रश्न उब्जिएपछि गल्ती सच्याइयो । गाई चुनाव चिन्ह दिइएन । लोकतान्त्रिक व्यवस्थाका आधारभूत सिद्धान्तमा निर्वाचनमा सहभागी हुनपाउने स्वतन्त्रतालाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, राजनीतिक दल वा संगठन खोल्ने, उम्मेदवार बन्ने, अभिव्यक्ति दिने र भेला हुनपाउने, स्वच्छ प्रतिस्पद्र्धा र बहुलवादको अभ्यास गर्ने, समावेशी सहभागिता, राज्यका स्रोत–साधनमा समान र समतामूलक पहुँच, सञ्चार माध्यमको स्वतन्त्रता, पारदर्शिता र राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई प्रजातान्त्रिक व्यवस्थाका परिचयात्मक कडी मानिएको छ ।

नेपाल अहिले यी कडीहरुको पूर्णतः परिपालना गर्ने सोचका साथ अघि बढ्नुपर्ने हो, तर व्यवहारमा सिद्धान्तअनुसार काम हुन सकिरहेको देखिन्न । राप्रपा नेपालले चुनाव चिन्हका रुपमा आज पनि ‘गाई’ माग्दैआएको छ । यस पार्टीको चुनाव चिन्ह अहिले ‘तीर’ रहेको छ । राप्रपा (नेपाल) र राप्रपाबीच एकीकरण भएर राप्रपा बनेपछि तत्कालीन राप्रपा (नेपाल) खारेज भएको थियो । नयाँ राप्रपा नेपाल गठन गर्दा यस पार्टीको चिन्ह ‘गोरु’ थियो । राप्रपा (नेपाल) बनेपछि अरु पार्टीसँग एकता पनि भएको थियो । एकतापछि पनि पार्टीको नाम राप्रपा नेपाल नै थियो ।

पार्टीको नेतृत्व लाक्पा तामाङले गर्नुभएको थियो । तामाङले पार्टीमा छलफल नगरी नै पार्टी कमल थापालाई जिम्मा लगाएको भन्दै राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले आपत्ति जनाउँदै आउनुभएको छ । थापालाई पार्टी जिम्मा लगाउँदा तामाङले थापाको नासो उहाँलाई जिम्मा लगाएको बताउनुभएको थियो तर राणाले भने हिजोको राप्रपा (नेपाल) र अहिलेको राप्रपा नेपालबीच कुनै सम्बन्ध नभएको तर्क दिंदै आउनुभएको छ, तर चुनाव चिन्ह चाहिं पुरानै पार्टीको ‘गाई’ मागेर आफ्नै कुराको खण्डन गरिरहनुभएको छ ।

गत मंसिरमा सम्पन्न भएको एकता महाधिवेशनबाट लिङ्देन राप्रपाको अध्यक्ष बनेपछि नाममा ‘नेपाल’ थपेर थापा राप्रपा नेपालका अध्यक्ष हुनुभएको छ, र गाई चुनाव चिन्हमा खडा हुन चाहनुहुन्छ । धार्मिक तथा सांस्कृतिक आस्थाका कारण मत पाइने आश उहाँलाई हुनसक्छ । तर, यस आशमा लोकतान्त्रिक संस्कार भने देखिन्न ।

वस्तुतः गाईलाई आमा र लक्ष्मी मान्ने धार्मिक संस्कार बोकेका मतदाताले दल मन नपराए पनि चुनाव चिन्हको सम्मानमा मतदान गरेको २०७० को निर्वाचनले पुष्टि गर्दछ । गाई चिन्हले प्रत्यक्षतर्फ एकै सिटमा विजय हासिल नगरेपनि सिंगै देश एक निर्वाचन क्षेत्र मानिने समानुपातिकतर्फ २४ सिट जित्न दल सफल भयो । यसले प्रत्यक्षतः चुनाव चिन्हको पनि प्रभाव हुने प्रमाणित गरेको छ । त्यसैले चुनाव चिन्ह लोकतान्त्रिक मूल्य–मान्यता र संस्कार अनुकूल हुनुपर्छ, गलत प्रभाव पार्ने चिन्ह दिनसकिन्न ।