देउवा, ओली र प्रचण्ड



मुलुकमा गठबन्धनको सरकार छ । मुलुकको राजनीति पाँच दल गठबन्धन गरी मंसिर ४ गतेको निर्वाचन लड्ने विषयमा केन्द्रित देखिन्छ । चुनावपछि बन्ने सरकारको नेतृत्व पनि अहिले प्रधानमन्त्री भएका, परीक्षणबाट बारम्बार असफल भइसकेका व्यक्तिहरुले गर्ने पक्कापक्की छ । सरकारको नेतृत्व दुई–चार जनाको हातबाट बाहिर जाने अवस्था अहिले देखिन्न । त्यसो भए निर्वाचन केका लागि ?

निर्वाचनपछि मुलुकको स्थिति र गन्तव्य फेरिनेमा राजनीतिको सत्ता, संघर्ष र लाभहानीबाट अलग रहेका कोही पनि आशावादी बन्न सकेको देखिन्न । चुनावदेखि चुनावसम्मको यात्राले मात्र देश र जनताको स्थितिमा तात्विक भिन्नता ल्याउँदैन । यसो हुनुमा निर्वाचनको विधि, प्रक्रिया मात्र दोषी नभई त्यसलाई प्रयोग गर्ने राजनीतिक दल सञ्चालन पद्धति र सञ्चालन गर्नेहरु निकै जिम्मेवार देखिन्छन् । यसतर्फ जनता सचेत नभए मुलुक झन् बर्बादीतर्फ उन्मुख हुने देखिन्छ ।

हुनत औपचारिक भाषामा निर्वाचनलाई लोकतन्त्रको मुख्य आधार भनिन्छ । तर लोकतन्त्र भनेको केवल निर्वाचन मात्र होइन । जनताप्रति उत्तरदायी र जवाफदेही शासनजस्ता लोकतान्त्रिक मूल्य र मान्यताले लोकतन्त्रलाई बलियो बनाउँछ । यी मूल्य बिनाको विशुद्ध प्रणाली निर्वाचन व्यवहारमा एउटा कर्मकाण्डी मात्र सिद्ध हुन्छ । पद, सत्ता र सुविधामा केन्द्रित भएकाले अहिले चुनावको उद्देश्य गौण भएको छ । भोटको लेनदेनजस्तो मात्रै भएको छ ।

मतदातालाई खरिद–बिक्रीको वस्तु ठान्न थालिएको छ । चुनाव भनेको नेता कहलिएका आठ–दश जनाको निजी व्यवस्थापनजस्तो भएको छ । २०४८ सालदेखि अहिलेसम्मको हाम्रो राजनीतिलाई हेर्ने हो भने हाम्रा नेताहरू संवैधानिक राजनीतिक प्रणाली सञ्चालन र सार्वजनिक जीवनको सदाचारमा पूरै असफल भएका छन् । तर नेपालमा केही मुट्ठीभर नेताले राजनीति कब्जा गरेका कारण पटकपटकको असफलताका बावजुद घुमीफिरी उनीहरूले नै सत्ता हातपारिरहेका छन् ।

उनीहरु पटक–पटक असफल हुँदा पनि आफ्नो विकल्प नभएको आभास दिइरहेका छन् । एमालेका केपी ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका प्रचण्डकै क्षमता भएका व्यक्ति दलमा अरु कोही छैनन् ? अलिकति पनि स्वस्थ राजनीतिक संस्कार हुन्थ्यो त यी तीनै जनाले नेतृत्व मात्र होइन, राजनीतिबाटै विश्राम लिनुपथ्र्याे । किनभने उनीहरुकै अभिमानका कारण राजनीतिक अस्थिरता भोग्नुपरेको तथ्य कतैबाट लुकेको छैन ।

यस्ता नेताहरुलाई चुनौती दिन, आलोचना गर्न र साइजमा ल्याउन पार्टी स्वार्थभन्दा माथि उठेका प्रभावशाली व्यक्ति आवश्यक पर्दछ । जस्तो, प्रखर समाजवादी चिन्तक प्रदीप गिरी थिए । उनको निधनले मुलुकको राजनीतिको बिडम्बना, बेथिति, नेतृत्वको दोष औल्याउनसक्ने एक राजनीतिज्ञ मुलुकले गुमाएको छ ।

राजनीतिमा नाफा र नोक्सानीको हिसाब–किताब नगरी अन्याय, विकृति–विसंगति विरुद्ध सधैं खरो उत्रिने, आफ्नै दलका नेता र प्रधानमन्त्रीलाई पनि सशक्त आलोचना गर्ने गिरीको स्वभावबाट प्रत्येक राजनीतिक दलका नेता र कार्यकताले प्रेरणा लिनुपर्दछ । जनताले पनि २०४८ सालदेखि चुनावमा हावी हुँदै आएका अनुहारहरू सबै यस पटक एकमुस्ट फ्याँकिनुपर्छ, २०६४ सालदेखि पटकपटक मन्त्री प्रधानमन्त्री भएर असफलता र अनियमितताको पोको बोकेकाहरूलाई खोजीखोजी पाखा लगाउनुपर्छ । अनि मात्र परिवर्तन सम्भव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्