पुनर्जीवित प्रकरण : पास्टर राजेन्द्र पक्राउ

0
Shares

बुटवल ।

बुटवल उपमहानगरपालिका ११ बुद्ध नगरमा संचालित चर्चमा पास्टरले मृत्यु भएको भनिएको व्यक्तिलाई जिवित गराएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कंचनपुर घर बताउने वर्ष ३८ को पास्टर राजेन्द्र गोतामेलाई नियन्त्रणमा लिएर अनुन्धान शुरु गरेको बताएको छ । एक वर्ष अघि लकडाउनको समयमा घटना भएको पास्टरले बताएको पनि प्रहरीले जनाएको छ ।

बाँकी कुरा हामीले अनुसन्धान गर्नका लागि उहाँलाई सोधखोज गर्दै रहेकाले केही समय पछि थप जानकारी दिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्याम अर्यालले बताउनु भयो ।

विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवल उपमहानगरपालिका ११ बुद्ध नगरमा संचालित होली क्यालभरी चर्चका पास्टर भनिने राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ ।

यस्तो भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जालमै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि आदेश दिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने भएकाले अनुसन्धान गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताउनु भयो ।

प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले चर्चमा पास्टरलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले बताउनु भयो

भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन् ।