जनताको साथमा दल



आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसले आगामी शुक्रबारदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्नेभएको छ ।

वास्तवमा जनताका साथमा दल उभिन नसकेकै कारण जनता निराश भएका बेला यस प्रकारको अभियान आवश्यक पनि छ । यद्यपि आवश्यकता अभियानको मात्र नभएर व्यावहारिक अभ्यासको हो । बोली, भाषण र प्रतिवद्धता भन्दा पनि कर्मले राजनीतिक दल जनताको साथमा उभिनु आजको पहिलो आवश्यकता देखिन्छ ।

पछिल्लो समय जनताका साथ दलहरु जुन रुपमा खडा हुनुपर्ने थियो, हुन नसकेकै कारण गत वैशाखको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउन नागरिकहरु वाध्य भए । यस्तो बेला सबै दलले जनतासँग उभिने प्रतिस्पद्र्धा गर्नु आवश्यक देखिन्छ । मुलुकका हरेक राजनीतिक परिवर्तनमा नेपाली कांग्रेस निर्णायक शक्ति भएको विगतको इतिहासलाई साक्षी राखेर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको नेकाले जनाएको छ ।

तीन चरणमा हुने अभियानको पहिलो चरण भदौ १० गतेदेखि शुरू गर्न लागिएको जनाइएको छ । पहिलो चरणको अभियान भदौ २४ गते बीपी जयन्तीका दिन समापन गरिने भएको छ । समानुपातिक उम्मेदवारी दर्तापछि दोस्रो चरणमा र प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि तेस्रो चरणको अभियान सञ्चालन गरिने नेकाले जनाएको छ । तीनै चरणमा जनताको घर–आँगनमा पुगेर जनभावना बुझ्ने र त्यही अनुसार विकास निर्माणका योजना लगिने रणनीति अपनाइने भएको छ ।

यसका लागि सातै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरूप प्रतिनिधि खटाउने व्यवस्था गरिएको बताइएको छ । निर्वाचनमा नेपाली कांग्रेसको सफलताका लागि आयोजना गरिने यस अभियानमा अभियन्ताहरुले जनताका कडा प्रश्नहरुको सामना गर्नुपर्ने राजनीतिक समीक्षकहरुको धारणा छ ।

पछिल्लो पटक केपी ओलीको नेतृत्वमा रहेको दुई तिहाइ निकटको सरकारले असफलताको सामना गरेजस्तै नेकाले इतिहासमा दलभित्रकै गुटगट विभाजनका कारण मुलुकलाई दिशाहीन बनाएका सन्दर्भमा जनताका प्रश्न आउने देखिएको छ । वस्तुतः नेपाली कांग्रेसको इतिहास जति लामो छ, यसले मुलुकको राजनीतिक परिवर्तनका लागि जति निर्णायक भूमिका खेलेको छ, पार्टीभित्र गुटगत स्वार्थका कारण विश्वास गर्न नसक्ने जनआवाज आउनसक्छ ।

सम्भाव्य प्रश्न र जबाफका साथ जनताको घरमा जानुपर्ने समीक्षकहरुको धारणा छ । पार्टीलाई ठूलो रकम चन्दा दिने र सभापतिलाई खुशी पार्ने उम्मेदवारले मात्र संघ र प्रदेशमा टिकट पाउने अवस्था कायम छ । सभापति देउवा र पछिल्लो महाधिवेशनमा उहाँलाई चुनौति दिने सभापतिका पराजित उम्मेदवार शेखर कोइरालाबीच पूर्णतः मन मिलेको अवस्था छैन ।

पार्टीमा इमान्दार र लामो समयदेखि समर्पित भएर लागेका नेताले अवसर नपाउने र पैसावाल तर बेइमानले उम्मेदवारी पाउने अवस्थाका कारण अभियानमा एकीकृत मानसिकताभन्दा विभाजित मानसिकता देखिने त्रास छ । साँच्चिकै गुटगत स्वार्थलाई त्यागेर जनताका साथमा उभिने अभ्यास गर्नसकेको भए आजको अप्रिय स्थिति सिर्जना हुने थिएन । ढिला नै भएपनि, जनताका साथ उभिने अभियान थालियो, यो स्वागतयोग्य छ, तर अभियान व्यवहारकै स्तरमा आउनुभने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्