खडेरी लाग्यो, के खाएर बाँच्ने हजुर !

0
Shares

कुमार श्रेष्ठ, बाँके ।

नरैनापुर गाउँपालिका वडा नं. १, कटकुइयाका ६३ वर्षीया नन्हौ यादवले भएको खेत पनि रोपाइँ गर्न पाएनन् । दश कठ्ठा जमिन रहेका यादवले आधाजति रोपाइँ गरे । पाँच कठ्ठा रोपाइँ गर्दा पाँच हजार नै खर्च भयो । बडो मुस्किलले रोपेको त्यो धान सुक्दै गएको छ ।

नरैनापुरमा यसपालि पानी नै परेन । आकाशेपानीको भरमा रहेको नरैनापुरमा १५ प्रतिशत रोपाइँ भएको छ । ८५ प्रतिशत जमिन बाँझै छ । रोपेको धान पनि सुकेको छ । हरियो हुनुपर्नेमा पहेंलो र सुकेको धान अनि धाँजा फाटेको खेत देखिन्छ । ‘अहिलेसम्म यस्तो खडेरी भएको थिएन । यसपालि त नरैनापुरमा पानी नै परेन । भएको खेत पनि रोप्न पाइएन । रोपेको पनि सुक्यो’, ६३ वर्षीय यादवले भन्नुभयो– ‘के खाएर बाँच्ने हो हजुर ! चिन्ता बढेको छ ।’

नरैनापुर डुबान क्षेत्र हो । राप्ती नदीमा बाढी आउँदा नरैनापुरको दक्षिण भेग डुबानमा पर्ने गर्दथ्यो । यो वर्ष नदीमा बाढी पनि आएन । ६३ वर्षीय यादवको ६ जना परिवारलाई दश कठ्ठा जमिनमा धान, गहुँ, मसुरो लगाउँदा वर्षभरि खाना पुग्थ्यो । यो वर्ष धानको एक गेडा घर भित्रिने अवस्था देखिँदैन । यादव भन्नुहुन्छ, ‘आधाजति रोपाइँ गर्दा पाँच हजार खर्च भयो । त्यही पनि डुब्यो ।’

वडा नं. ४ का सावितराम पासीले धान रोप्नै नपाएकाले के खाएर बाँच्ने चिन्ता थपिएको बताउनुभयो । गाउँपालिकाका कृषि शाखाका कर्मचारी सदन भण्डारीका अनुसार, नरैनापुरमा ३ हजार ७ सय ८ हेक्टर खेतीयोग्य जमिन छ । यो वर्षमा यसको १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । पालिकामा २ सय ६० हेक्टरमा सिँचाइ हुन्छ । रोपाइँ भएको १५ प्रतिशतमध्येमा आधाजसो धान तत्काल पानी नपाएमा मर्ने अवस्थामा पुगेको छ ।

गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद शाहले सुख्खा परेकाले आफ्नो ठाउँका लागि केन्द्र, प्रदेश सरकारले विशेष प्याकेज दिन आग्रह गरिरहेको बताउनुभयो । पालिकाले रोपाइँ भएको १५ प्रतिशत धानलाई बचाउन बिग्रेको बोरिङ बनाउने, खानेपानीका ट्यांकीलाई तत्काल सञ्चालन गरेर खेतमा पानीको व्यवस्था गर्न लागेको छ । गाउँपालिकामा दुईवटा बोरिङ र दशवटा खानेपानीका ट्यांकी छन् । दुवै बोरिङ र पाँचवटा खानेपानीका ट्यांकी तत्काल सञ्चालनमा आउन सक्छन् । यी सञ्चालनमा ल्याउँदा रोपाइँ भएका आधा बढी धानलाई सिँचाइ गर्न सकिने पालिकाको आँकडा छ ।

बाँकेमा गत वर्ष कात्तिकमा परेको बेमौसमी वर्षाले धेरैको धान डुबायो । नरैनापुरमा पनि त्यसको ठूलो चपेटामा प¥यो । सरकारले बेमौसमी वर्षाले क्षति पुगेका किसानलाई क्षतिपूर्ति दिन पैसा पठाएको छ । नरैनापुरमा अहिलेसम्म पुगिसकेको छैन । गत वर्ष धेरै पानी परेर धान डुबायो, यसपालि पानी नै नपरेर धान रोप्न पाइएन, नरैनापुरवासीको एउटै स्वर छ । यो वर्ष बाँकेमै कम रोपाइँ भएको छ । ८५ प्रतिशत रोपाइँ भएको बाँकेमा सबैभन्दा कम नरैनापुरमा रोपाइँ भएको छ ।