‘जनताको साथमा नेपाली कांग्रेस’

अभियान विवादको बीज हुन सक्ने आशंका

0
Shares

काठमाडौं । 

आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले शनिबार पत्रकार सम्मेलन गरी भदौ १० गतेदेखि अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।

मुलुकका हरेक राजनीतिक परिवर्तनमा नेपाली कांग्रेस निर्णायक शक्ति भएको विगतको इतिहासलाई साक्षी राखेर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्नलागिएको उहाँले बताउनुभएको छ ।तीन चरणमा हुने अभियानको पहिलो चरण भदौ १० गतेदेखि शुरू गर्न लागिएको जनाइएको छ । पहिलो चरणको अभियान भदौ २४ गते बीपी जयन्तीका दिन समापन गरिने भएको छ ।

समानुपातिक उम्मेदवारी दर्तापछि दोस्रो चरणमा र प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि तेस्रो चरणको अभियान सञ्चालन गरिने प्रवक्ता महतले बताउनुभयो । तीनै चरणमा जनताको घर–आँगनमा पुगेर जनभावना बुझ्ने र त्यही अनुसार विकास निर्माणका योजना लगिने उहाँको भनाइ छ ।

यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइने भएको छ । यससँगै सातै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरूप प्रतिनिधि खटाउने व्यवस्था गरिएको महतले जानकारी दिनुभयो ।निर्वाचनमा नेपाली कांग्रेसको सफलताका लागि आयोजना गरिने यस अभियानमा अभियन्ताहरुले जनताका कडा प्रश्नहरुको सामना गर्नुपर्ने राजनीतिक समीक्षकहरुको धारणा छ । पछिल्लो पटक केपी ओलीको नेतृत्वमा रहेको दुई तिहाइ निकटको सरकारले असफलताको सामना गरेजस्तै नेकाले इतिहासमा दलभित्रकै गुटगट विभाजनका कारण मुलुकलाई दिशाहीन बनाएका सन्दर्भमा जनताका प्रश्न आउने देखिएको छ ।

नेपाली कांग्रेसको इतिहास जति लामो छ, यसले मुलुकको राजनीतिक परिवर्तनका लागि जति निर्णायक भूमिका खेलेको छ, पार्टीभित्र गुटगत स्वार्थका कारण विश्वास गर्न नसक्ने जनआवाज आउनसक्छ । सम्भाव्य प्रश्न र जबाफका साथ जनताको घरमा जानुपर्ने समीक्षकहरुको धारणा छ ।

राणाकाल र पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि संघर्ष गरिरहँदा पनि नेपाली कांग्रेसभित्र गुटको टकराव थियो । चुनावी राजनीतिमा आएपछि २००७–२०१७ र २०४७ यता गुटगत राजनीति अझ ध्वंशात्मक भएर आयो । गुटगत स्वार्थकै कारण नेपाली कांग्रेस स्थापनापछि अहिलेसम्म दुई पटक पार्टीमा ठूला विभाजन भए । विभाजन हुँदा ताका दुवै पटक कांग्रेस नेतृत्वको सरकार थियो । पहिलो पटक २००९ सालमा पार्टी विभाजन हुँदा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो भने बीपी कोइराला पार्टी सभापति । दोस्रो पटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकार थियो भने सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो ।

सरकारको नेतृत्व गरेका देउवालाई २०५९ सालमा संकटकाल नथप्न पार्टीले निर्देशन दियो। माओवादी द्वन्द्व चरम अवस्थामा थियो । देउवाले पार्टी निर्देशन अवज्ञा गर्दै संकटकाल लम्याउनुभयो । केन्द्रीय समितिमा बहुमतमा रहेका कोइरालाले पार्टी बैठक राखेर देउवालाई कारबाही गर्नुभयो । देउवाले ४ असार २०५९ मा बानेश्वरमा आफू पक्षीय कार्यकताको भेला गरेर नयाँ पार्टी नेपाली कांग्रस (प्रजातान्त्रिक) गठनको घोषणा गर्नुभयो ।

कांग्रेस स्थापनादेखि नै पार्टीमा मातृका र बीपी गुट जन्मिएका थिए । दुवैको महत्वाकांक्षाका कारण दुई गुटको द्वन्द्व चलेको थियो । जसको परिणाम खुला राजनीतिमा आएपछि कांग्रेस विभाजित भयो। आज, गत वैशाखको स्थानीय निर्वाचनपछि नेपाली कांग्रेसमा पार्टी विभाजनमा पुग्ने हदसम्मको गुटगत तिक्तता त देखिँदैन, तर देउवा र नेता शेखर कोइरालाबीच पूर्ण रुपले मन मिलेको अवस्था छैन ।

पार्टीलाई ठूलो रकम चन्दा दिने र सभापतिलाई खुशी पार्ने उम्मेदवारले मात्र संघ र प्रदेशमा टिकट पाउने अवस्थाका कारण राजनीतिक शुद्धीकरणको समस्या देखिन्छ । पार्टीमा इमान्दार र लामो समयदेखि समर्पित भएर लागेका नेताले अवसर नपाउने र पैसावाल तर बेइमानले उम्मेदवारी पाउने अवस्थाका कारण अभियानमा एकीकृत मानसिकताभन्दा विभाजित मानसिकता र विवाद बाहिर आउने त्रासलाई पनि राजनीतिक विश्लेषकले औंल्याएका छन् ।