जनताको घर घरमा पुग्ने र उनीहरुका दु:ख बुझ्ने असली नेता हो : अध्यक्ष नेपाल

0
Shares

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको सेवा गर्छु भनेर नेता बनिसकेपछि नागरिकका घर घरमा पुग्ने तथा उनीहरुको सुख दु:खका बारेमा जानकारी लिनु पर्ने बताउनु भएको छ । जनताको घर घरमा पुगेर उनीहरुका दु:ख बुझने नै असली नेता भएको उहाँको भनाई थियो ।

शनिबार नेकपा (एकीकृत समाजवादी पार्टी) सर्मथक डोटी काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले नेताले जनताका दु:खलाई आफ्ना दु:ख सम्झेर काम गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेता भनेका सबैका साझा हुन्, जनताले भोग्नु परेका पीडालाई आफ्नो पीडा सम्झेर काम गर्नु सक्नु नै नेताको प्रमुख दायित्व हो ।”

यसैगरी अध्यक्ष नेपालले नेता हुनका लागि विभिन्न दु:ख कष्ट सहन गर्न सक्नु पर्ने भएकाले एकीकृत समाजवादीका नेताहरुले आफ्ना दु:ख भुलेर भएपनि जनहितमा काम गर्न आग्रह गर्नुभयो । नेताले म भन्नु भन्दा पनि हामी भनेर काम गरे देश, नागरिक तथा पार्टीका लागि हितकारी हुने समेत अध्यक्ष नेपालले बताउनुभयो।

अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि आफ्नो पार्टीले उम्मेदवारहरुको नामावली तयारी गरीरहेको जानकारी गराउनुभयो ।उहाँले भन्नुभयो, “हामी उम्मेदवारको नामावलीको तयारीमा छौँ, सम्भवत: भदौँ २० गते सम्म सबै नाम सार्वजनिक गर्छौँ ।” यसैगरी उहाँले आगामी निर्वाचनमा गठबन्धनका सबै दललाई उचित तथा सम्मान हुने खालको सिटबाडफाड हुने बिश्वास व्यक्त गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै निर्वतमान मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य प्रेमबहादुर आलेले आफू डोटेली जनताको विकास र हितका लागि नेता भएकाले आफू पदमा रहेका बेला देश र जनताकै हितमा काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “देश र जनताको हित र विकासका लागि म नेता भएको हुँ, मैले पदमा रहदा देश र जनताकै पक्षमा काम गरेको छु, मैले कति काम गरेको छु भन्ने कुरा जनताले प्रतक्ष देखेका छन् ।”

यसैगरी निर्वमान मन्त्री आलेले आफू डोटेली जनताका घर घरमा पुगेको र उनीहरुका सुख दु:खका विषयमा प्रतक्ष रुपमा जानकारी लिएकाले डोटेली जनताले आफूलाई पटक पटक निर्वाचित गराउदै आएको दावी समेत गर्नुभयो । आलेले भन्नुभयो, “म डोटीका जनताका घर घरमा पुगेको छु, उनीहरुका दु:ख के हुन मैले बुझेको छ, डोटेली जनताको दु:खमा मलहम लगाउने जिम्मा मेरो काधमा छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै निर्वतमान मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य आलेले सुदूरपश्चिमको धनगढी स्थित गेटा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि आफू मन्त्री भएका बेला बजेट विनियोजन गराउन सफल भएकाले अबको पाँच वर्ष भित्रमा उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण हुने जिकिर गर्नुभयो ।

यसैगरी पूर्वमन्त्री आलेले कैलाली, बिपीनगर, गड्सेरा, दिपायल, बझाङ हुँदै उरैताक्लाकोट जोड्ने सडक निर्माण कार्य सञ्चालनसँगै कालोपत्र गराएरै छोड्ने बताउनुभयो । उहाँले घुमाउरो शैलीमा डोटेली जनताको माग आफूलाई नै केन्द्रमा पठाउने भएकाले आगामी मंसिर ४ गतेको निर्वाचनमा डोटीबाट संघिय निर्वाचनको उम्मेदवार आफूनै रहेको जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्या गरी कम्तिमा पनि एक सय जना भन्दा बढीले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेको डोटी काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।