नेपाल-अंग्रेज युद्धको वीरताको गाथा : ऐतिहासिक पाल्पाको भगवती जात्रा ! आज दिउँसो निकालिँदै

0
Shares

पाल्पा । नेपाल–अंग्रेज युद्धसँग जोडिएको दुई सय २ वर्ष पुरानो श्री ७ रणउज्जेश्वरी भगवती रथयात्रा निकालिने भएको छ । आज (शनिबार) दिउँसो जिल्ला सदरमुकाम तानसेनबाट निकालिने भएको हो ।

वीरताको गाथासँग जोडिएको ऐतिहासिक पाल्पाको भगवती जात्रा केहीबेरमा विधिवत् रूपमा निकालिँदै छ । विगतका वर्षहरूमा सिन्दुरजात्रा गरी धुमधामले मनाइँदै आएको रथयात्रा दुई वर्षयता कोभिड–१९ संक्रमण तथा उच्च जोखिमका कारण अनौपचारिकता सीमित थियो । यसवर्ष भव्यरूपमा रथयात्रा र बजार परिक्रमा गरी मनाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पाल्पाको भगवती जात्रा नेपाली वीरता र राष्ट्रियताको प्रतिकका रूपमा मुलुकभर चिनिदै आएको छ । तत्कालीन पाल्पा गौँडाका तैनाथवाला कर्णेल उजिरसिंहले नेपाल–अंग्रेज युद्धमा जानुअघि भगवती मातासँग प्रार्थना गरी विजय प्राप्त होस् भन्दै भाकल गरेपछि सवै युद्धमा पराजय भोगेका नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेपछि यो जात्राको शुरुवात गरिएको थियो । युद्ध जितेको खुशीयालीमा जात्रा दिउँसो १२ बजेको साइतमा नित्यपूजा गरी निकालिने मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

ऐतिहासिक भगवती जात्रालाई पश्चिम नेपालकै ठूलो जात्राको रूपमा पनि लिइन्छ । इतिहासविद् निर्मल श्रेष्ठका अनुसार कर्णेल उजीरसिह थापाले वि.सं. १८७२ मा निर्माण थालनी गरी वि.सं. १८७६ मा तीनतले मन्दिर निर्माण गरेका थिए ।

थापा नेतृत्वको फौजले वि.सं. १८७२ बैशाख ७ गते जीतगढीमा अंग्रजलाई परास्त गरेका थिए । युद्धमा निस्कनुअघि कर्णेल थापाले विजय भएमा ठूलो मन्दिर बनाइ हर्ष बढाइसहित सिन्दूर जात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए । आफ्नो भाकल पूरा भएपछि कर्णेल थापाले मन्दिर बनाइ यो जात्रा निकाल्न थाले श्रेष्ठ बताउँछन् ।

उनका अनुसार वि.सं. १८७७ सालदेखि हरेक वर्ष तानसेनमा कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाइने यो जात्रा नेपाल–अंग्रेज युद्धसँग जोडिएको हुँदा राष्ट्रिय महत्वको भनेर चर्चा हुँदै आएको छ । जिल्लामा मनाइने जात्रा एवं उत्सवमध्ये सबैभन्दा ठूलो रणउजीरेश्वरी भगवती जात्राको दिन तानसेनमा सार्वजनिक बिदा दिने प्रचलन छ । भगवती जात्रालाई राष्ट्रिय उत्सबको रूपमा मान्यता दिनुपर्ने माग स्थानीयको छ ।

जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रूपमा लिइने गरिएको छ । तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट रथलाई शुभ साइतमा निकालेर बाजागाजाका साथ झाँकीसहित रथयात्रा तानसेन दरबार परिसर र बजार परिक्रमा गराइन्छ ।

यस क्रममा पञ्चबलीसमेत दिइन्छ भने भगवतीको विशेष पूजा अर्जना हुने गर्दछ । रथयात्राको बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने गरिन्छ । पाल्पा सदरमुकाम तानसेनमा भव्य रूपमा मनाइने भगवती जात्रा हेर्न पाल्पाका गाउँ–गाउँबाट र छिमेकी जिल्ला गुल्मी,रुपन्देही,अर्घाखाँची तथा स्याङ्जाबाटसमेत आउने गर्दछन् ।

जात्राको अघिल्लो दिनमा जाग्राम वस्ने, बिहान सर्वसाधारणले पूजाआजा गर्ने दिउँसो साइत निकाली नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, व्यापारी, वुद्धिजीवि, शिक्षक विद्यार्थी र सर्वसाधारण समेतको उपस्थितिमा वाजागाजासहित नगर परिक्रमा गरी साँझ ४.३० बजे पुनः मन्दिरमै रथ बिसर्जन गर्ने परम्परा रहेको छ ।