अनेमसंघ सिन्धुलीको पाँचौ सम्मेलन शनिबार र आइतबार सिन्धुलीमाढीमा हुने

0
Shares

सिन्धुली । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ सम्मेलन आइतबार र शनिबार सिन्धुलीमाढीमा हुने भएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीले आज पत्रकार समेलन गरेर दुई दिन हुने पाँचौ जिल्ला सम्मेलनको तयारी सकिएको जनाएको छ ।

६ बर्षपछि हुन थालेको जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेमसंघ सिन्धुलीले जनाएको छ । सम्मेलनको उद्घाटन अनेमसंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक शुसिला नेपालले गर्नुहुने सम्मेलन प्रचारप्रसार उपसमिति संयोजक बिमला पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलनका लागि जिल्लाको ७९ वडाबाट ५ जनाका दरले छनोट भएका ३ सय ९५ जना प्रतिनिधि, ३२ जना आयोजक, प्रदेश तथा केन्द्रीय कमिटिका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति हुने संयोजक पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलनले अनमसंघको मस्यौदा विधान २०७८ अनुसार १ अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, १ उपसचिव, १ कोषाध्यक्ष सहित बढीमा ६१ जनाको जिल्ला कमिटि निर्वाचित गर्ने संयोजक पाण्डेले बताउनुभयो ।

अनेमसंघ सिन्धुलीको अध्यक्ष पार्वती सुनुवारले २०७३ जेठ २२ र २३ गते पछि एकै पटक ६ बर्षमा हुन थालेको जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै संगठनको सुद्धिकरण र सुदृढीकरण गर्ने बताउनुभयो । सम्मेलनको लागि ५ लाख खर्च लाग्ने अनमसंघको अनुमान रहेको छ ।