दुर्गमका नागरिकलाई स्वास्थ्य सेवा दिन आधारभुत स्वास्थ सेवा केन्द्रको स्थापना

0
Shares

सिन्धुली ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ ढाडखोलाका स्थानियहरुलाई सामान्य ज्वरो, रुघाखोकीको विरामी हुदाँ औषधी लिनु परेमा घण्टौ हिडेर मरिणको भालुमारा वा क्यानेश्वरको क्वाटर पुग्नुपर्ने बाध्यता थियो । तर गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रमा पर्ने वडा नम्बर ८ को ढाडखोलामै आधारभुत स्वास्थ सेवा केन्द्रको स्थापना गरेपछि यो बाध्यता हटेको छ ।

आधारभुत स्वास्थ सेवा केन्द्रको स्थापना भएपछि ज्वरो, रुघाखोकी लगाएतको विरामी हुदाँ प्राथमिक उपचार र औषधी खान नपाइ मरिन्छ की भन्ने चिन्ता हटेको भन्दै स्थानियबासीहरु हर्षित भएका छन् ।

यस अघि स्वास्थ्य सेवा तथा औषधी लिन मरिण गाउँपालिकाको भालुमारा, हरिहरपुरगढी गाउँपालिको क्यानेश्वर क्वाटर वा सर्लाहीको हरिवन सम्म पुग्नुपर्ने बाध्यता रहेको ढाडखोलाकी ठुलीमाया बम्जनले बताउनुभयो । ‘सडक राम्रोछैन । गाडी आउदैन । ज्वरो आयो, रुघाखोकी लाग्यो भने औषधी पनि खान पाईदैन थियो । ठुलै विरामी भएर हिड्नै नसक्ने भए ढोकोमा बाकेर लैजानुपर्ने बाध्यता थियो । अब त घर नजिकै औषधी र उपचार लिन पाईने भयो । धेरै खुसी लागेको छ’ उहाँले भन्नुभयो ।

दुर्गम ठाउँका नागरिकहरुको बर्षौ देखि सामान्य स्वास्थ्य सेवा लिन घण्टौ हिड्नुपर्ने बाध्यताको अन्त्य गरी गाउँघरमै स्वास्थ्य सेवा दिन गाउँपालिकाले वडा नम्बर ८ ढाडखोलामा आधारभुत स्वास्थ सेवा केन्द्रको स्थापना गरेको हो । आधारभुत स्वास्थ सेवा केन्द्रको बिहीवार एक कार्यक्रमका बिच हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उद्घाटन गरी सेवा सुचारु गर्नुभएको छ ।

दुर्गमका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा दिनुपर्छ भनेर आधारभुत स्वास्थ सेवा केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष वाइबाले बताउनुभयो । ‘बर्षौ देखि ज्वरो आउँदा पनि औषधी खान नपाएर मरिन्छकी भन्ने चिन्तामा बस्नुभएका ढाडखोला बासीका लागि आधारभुत स्वास्थ्य सेवा दिनकै लागि सेवा केन्द्र राखेका हौं’ अध्यक्ष वाइबाले भन्नुभयो ।

उहाँले आफूले चुनावमा यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचारका लागि अहिले भोग्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएकाले निर्वाचित भएको ३ महिना भित्रै आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो । आधारभुत स्वास्थ सेवा केन्द्रबाट स्थानियबासीहरुले परिवार नियोजनका सबै सेवा, प्राथमिक उपचार, क्षयरोग कुष्टरोग, पोषण, गर्भवती चेकजाँच लगाएतका सेवाहरु लिन सक्ने हरिहपुरगढी गाउँपालिकाको स्वास्थ्य संयोजक राजेश्जर शाहले बताउनुभयो । आधारभुत स्वास्थ सेवा केन्द्रमा औषधी सहित स्वास्थ्यकर्मी राखिएको उहाँले बताउनुभयो ।