एसियामा कुपोषण प्रभावितको संख्या बढ्दो



काठमाडाैं । 

कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । एफएओले कोभिडले विश्व अर्थतन्त्रमा पारेको व्यापक प्रभावसँगै लाखौं मानिस खाद्य असुरक्षा तथा कुपोषणबाट नराम्ररी प्रभावित भएको जनाएको छ ।

विश्व खाद्य कार्यक्रम (एब्लुएफओ) का अनुसार एसियामा कुपोषणबाट प्रभावितको संख्या सन् २०१९ को तुलनामा २०२० मा ३६ करोडबाट बढेर ४१ करोड पुगेको छ । यस्तै, कुपोषणको दर ७ दशमलब ९ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ । एसियाको कूल कुपोषित जनसंख्यामध्ये ८९ प्रतिशत दक्षिण एसियामा रहेको डब्लूएफओले जनाएको छ ।

एफएओको अनुसार नेपालमा सन् २०१७ देखि २०१९ अवधिमा कुपोषणको दर ४ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०१८ देखि २०२० मा ४ दशमलब ८ प्रतिशत पुगेको छ । यस्तै, सोही अवधिमा दक्षिण एसियाका अर्को राष्ट्र अफगानिस्तानमा कुपोषण दर २३ दशमलब ४ प्रतिशतबाट बढेर २५ दशमलब ६ प्रतिशत, भारतमा १४ प्रतिशतबाट बढेर १५ दशमलब ३ प्रतिशत, पाकिस्तानमा १२ दशमलब २ प्रतिशतबाट बढेर १२ दशमलब ९ तथा श्रीलंकामा ६ प्रतिशतबाट बढेर ६ दशमलब ८ प्रतिशत पुगेको बताइएको छ ।

एफएओको अनुसार सन् २०२० मा ७२ देखि ८१ करोड मानिसहरूले भोकमरीको सामना गरेका छन् । जबकि सन् २०१९ मा यो संख्या १६ करोड हाराहारीमा थियो । भोकमरीबाट सबैभन्दा बढी प्रभावित एसिया तथा प्रशान्त क्षेत्र रहेको जनाइएको छ ।

डब्लूएफपीका अनुसार कोभिडका कारण बढेको बेरोजगारी र उत्पादनको बजार घटेसँगै खाद्य संकट निम्तिएको हो । यसका साथै आय र रेमिटेन्स घट्दा पनि शहरी तथा ग्रामीण घरपरिवारको खाद्यान्न किन्ने क्षमतामा कमी आएको डब्लूएफपीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्