हरिहरपुरगढीका आले र सिङतानले तरकारी बेचेर मनग्य आम्दानी गर्दै

0
Shares

सिन्धुली ।

हरिहरपुरगढी गाउँपालिका ५ बोटेनीका कृषक चन्द्र बहादुर आलेको दैनिकी तरकारी रोप्ने र गोडमेल गर्ने मै वित्ने गर्छ । कृषक आलले आले मगर कृषि तथा पशु पालन फर्म खोलेर विगत दुई बर्षदेखि तरकारी र बङ्गुर पालन गर्दै आउनुभएको छ ।

उहाँले लौका, करेला, घिरौला, बोडी, खोर्सानी, टमाटर लगाएतका तरकारीको खेती गर्दै आउनुभएको छ । उहाँले तरकारीसँगै बङ्गुर पालन पनि गर्नुभएको छ । उत्पादन भएको तरकारी मरिण गाउँपालिकाको भालुमारा बजार लगाएत स्थानिय बजारहरुमा बेचेर दैनिक २,३ हजार आम्दानी लिने गरेको उहाँले बताउनुभयो ।

 

वि.स २०७७ चैत देखि व्यवसायीक रुपमा तरकारी खेती गर्न सुरु गर्नु भएका आलेले तरकारी र बङ्गुर बेचेर ६ महिनामा ३ लाख ५० हजार भन्दाबढी आम्दानी गरेको सुनाउनुभयो । उहाँले टनेल राखेर बेमौसमी तरकारी र टमाटर उत्पादन गर्ने गरेको बताउनुभयो । उहाँले सकभर अर्गानिक तरकारी उत्पादन गरौ भनेर विषादीको कम प्रयोग गर्दै आएको र गडैँला र गाईको गहुँत प्रयाग गर्ने गरेको बताउनुभयो ।

 

उहाँले तरकारी र बङ्गुर पालनको लागि स्थानीय सहकारी, वडा र गाउँपालिकाले सहयोग गर्दैआएको सुनाउनुभयो । तरकारीमा किरा धेरै लाग्न थालेपछि परीक्षणका लागि गाउँपालिकाको प्राविधिकहरुले माटो लगेको उहाँले बताउनुभयो । उहाँले धान,मकै मात्रैको खेती गर्दा राम्रो आम्दानी गर्न नसकिने भएकाले तरकारी खेती सुरु गरेको बताउनुभयो ।साना किसानको क्षमता बढाउनका लागि वडा र गाउँपालिकाले अनुदान, प्राविधिक र मल वीउमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

 

त्यस्तै हरिहरपुरगढी गाउँपालिका २ का एक बहादुर सिङतानले पनि अहिले तरकारी खेती गरी रहनुभएको छ । ४ बर्ष खाडीमुलक मलेसिया बसेर घर फर्किएका सिङतानले ३ बिगा जमिन भाडामा लिएर ८ महिना देखि तरकारी खेती गरिरहनुभएको हो । मलेसियामा पनि कृषि क्षेत्रमै काम गर्नुभएका सिङतानले त्यहा सिकेको सिपकै आधारमा गाउँघरमै तरकारी खेती सुरु गरेको बताउनुभयो । उहाँका अनुसार अहिले सम्म ४१ वटा टनेल लगाएतका संरचना तयार गरी तरकारी खेतीमा करिव २७ लाखको हाराहारीमा खर्च लगानी भएको छ । घिरौला, बोडी, घिउसिमी,टमाटर,काक्रा,सिमी लगायतका तरकारी बेचेर मासिक१ लाख सम्म आम्दानी लिदै आएको उहाँले सुनाउनुभयो ।

उत्पादित तरकारी स्थानीय बजारहरु कालिमाटी, चैनपुर र सिन्धुलीमाढीमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले तरकारी खेतीका लागि चाहिने टनेल प्लाष्टिक र तरकारीको बिउ अनुदानमा दिदै आएको उहाँले सुनाउनुभयो ।