हराएको फिफा ड्रिम प्रोजेक्ट !

0
Shares

पोखरा । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न एजेन्डामा छलफल गरियो । तर, कास्कीको माछापुच्छे्र गाउँपालिकामा बन्ने भनिएको फिफा ड्रिम प्रोजेक्टका बारेमा कुनै चर्चा नै चलेन । नव निर्वाचित कार्यसमिति आएपछि उक्त परियोजना एजेन्डामा प्रवेश नगरेपछि यतिबेला गण्डकी प्रदेशका फुटबल प्रतिनिधिहरु असन्तुष्टि देखिएका छन् ।

उनीहरूले नयाँ कार्यसमितिले परियोजना नै रद्द गर्ने योजना बनाएको आरोप समेत लगाएका छन् । बोलपत्र आह्वान भइसकेको अवस्थामा समेत एन्फाले वेवास्ता गर्नु सामान्य कुरा नभएको उनीहरूको टिप्पणी छ । फिफा र एएफसीको आर्थिक सहयोगमा दक्षिण एसियाकै नमुना परियोजना नेपालले प्राप्त गरेको हो ।

२०७६ सालमा माछापुच्छे्र गाउँपालिका भेडाबारीमा जग्गा देखाएपछि उक्त परियोजना कास्कीले पाएको थियो । जसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भई काम अघि बढेको थियो । उक्त स्थानमा टेक्निकल सेन्टर बनाउनका लागि स्थानीय जनसमुदाय, स्थानीय तह र प्रदेश सरकारले समेत आर्थिक, भौतिक सहयोग छ ।तर, पंकज विक्रम नेम्वाङ नेतृत्वको नयाँ कार्यसमितिसँगै ड्रिम प्रोजेक्ट छायाँमा परेको छ । जसको प्रभाव कास्की जिल्लाको नेतृत्वमा समेत देखिएको छ । नेम्वाङ पक्षकै रहेका कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रन्जितले आफुलाई परियोजना बारेमा केही ज्ञान नै नभएको प्रतिक्रिया दिए ।

उनले यस बारेमा पुर्व कार्यसमितिले कुनै समन्वय नै नगरेको र अहिलेको सबै कार्यसमिति नयाँ रहेकाले केही थाहा नभएको अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्तिले कास्कीमा परियोजना बन्न नदिने हो कि भन्ने मनसाय देखिएको छ । राष्ट्रिय स्तरकै पत्रिकामा बोलपत्र आह्वान भइसकेको परियोजना बारे थाहै नभएको भन्नु न्यायोचित हुने देखिँदैन । जबकि, अहिलेको कार्यसमितिमा उपाध्यक्षदेखि सदस्यसम्म पुरानै अनुहार समेत रहेका छन् ।

कर्माछिरिङ शेर्पा अध्यक्ष हुदाँ ल्याइएको परियोजनामा पंकजले नै विरोध गर्दै आइरहेका थिए । खेलकुदको यो राजनितिले गर्दा ठूलो योजना गुम्ने खतरा बढेको छ । पछिल्लो बैठक बस्दासमेत परियोजनाले चर्चा नपाउनुको पछाडी विफल बनाउने षडयन्त्र हुन् लागेको देखिन्छ ।गण्डकी प्रदेश फुटबल संघका महासचिव रमेश कार्कीले नयाँ कार्यसमिति मुकदर्शक बनेको बताए । उनले योजना विनाको विकास सम्भव नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्न नसके योजना बेकार जाने बताए । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तुष्टि जनाउँदै उनले नयाँ कार्यसमितिले यो योजनालाई विथोल्न षड्यन्त्र गरिरहेको आरोपसमेत लगाएका छन् ।

एन्फाको बैठकको एजेन्डामा समावेश नहुनु र बोलपत्र आह्वान भएको लामो समयसम्म पनि केही कुरा बाहिर नआउनाले थप शंकाको दायरामा ल्याएको उनको धारणा छ । ‘के गर्र्दै छ एन्फा ? बैठकमा पनि एजेन्डामा समावेश नहुनु, बोलपत्र आह्वान भएको महिनौँ बित्दासमेत केही कुरा बाहिर नआउनुले कतै यो योजनामाथि षड्यन्त्र त भइरहेको छैन । फिफा र एएफसीको सहयोग र नेपाल सरकाले पनि लगानी गरिसकेको यहाँहरूलाई जानकारी नै छ’ उनले भने,‘एन्फाको नवनिर्वाचित टिमले जुनसुकै बहानामा यो योजना विथोल्ने प्रयास गरेमा नेपाली फुटबल विकासमा ठूलो दुर्घटना हुनेछ ।’

एन्फा कास्की अध्यक्ष उज्जवलले दोहोरो कुरा गरेका छन् । आफु अनविज्ञ रहेको बताएका उनले नेम्वाङसँग आन्तरिक कुरा भएको समेत बताए । ‘वास्तविकता के हो हामी गएर बुझ्ने छौँ । परियोजनाका बारेमा जानकारी लिन हामी त्यहाँ जानेछौँ । मलाई जानकारी नै भएन, अनविज्ञ छु त्यसैले यो बारेमा बुझेर बोल्दा राम्रो होला’ उनले भने,‘यस विषयमा अध्यक्षसँग आन्तरिक कुरा भइरहेको छ । वहाँले पनि एकपटक गएर हेर्नु भन्नुभएको छ ।’

यस्तो छ परियोजना….

यो एक फुटबलको बहुउदेश्यीय परियोजना हो । विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै ड्रिम प्रोजेक्ट नेपाललाई दिएको हो । फिफा अन्तगर्तको यो एसियाकै सबैभन्दा ठूलो लगानी हो जुन, एन्फालाई दिइएको छ । एन्फाले उक्त प्रोजेक्ट कास्कीको भेडाबारीमा बनाउने योजना अघि बढायो ।

मिनी रंगशालासहितको एन्फा टेक्निकल सेन्टरका लागि डीपीआर तयार भइसकेको छ । स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाईसमेत गरियो । एन्फाको टेक्निकल टिमले स्थलगत निरीक्षणसमेत गरेर भ्याए । सबै तरिकाले उक्त स्थल प्रोजेक्टका लागि योग्य ठहरियो ।

२०७६ सालमा नेपालले प्रोजेक्ट पाएसँगै कास्कीमा बनाउने योजना अघि बढेको थियो । २०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताए पनि कोरोना महामारीका कारण योजना अघि बढ्न सकेन् । योजनाको चौथो वर्ष अर्थात् २०७९ सालमा आएर बल्ल बोलपत्र आह्वान भएको छ ।

फिफाको आर्थिक सहयोगमा बन्ने परियोजनाको लागत निकै ठूलोे छ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैयाँ छुट्टिएको छ । एन्फाले ४ चरणमा काम सक्नेछ । ३ सय ५२ रोपनी जग्गामा बन्ने परियोजनाको पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रवास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ ।

टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, दुई कृतिम मैदान, दुई बालुवा मैदान, स्विमिङपुल, रेष्टुरेण्ट,पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ । पाँच सय रोपनी जग्गा २० वर्षका लागि भोगचलान लिएको उक्त योजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ ।
प्रोजेक्टको शिलान्यास नभएता पनि माछापुच्छे« गाउँपालिकाले भने खोलाले कटान हुन सक्ने क्षेत्रमा २ सय मिटरसम्म बाँध लगाइदिएको छ भने, प्रदेश सरकारले पनि उक्त परियोजनाका लागि आवश्यक बजेटको विनियोजन गरेको छ ।