पदाला र टाँडको भरमै चल्छ ढाडाकोटी कुलो

0
Shares

बाजुरा । 

विकासका दृष्टिकोणबाट पछि परेको ७५औं जिल्ला बाजुरा जगन्नाथ गाउँपालिका–१ ल्वारवाडाका दले कामीलाई जहिल्यै ‘कुलो’ कै पिरलो भइरहन्छ । बिहान उठ्यो कुलो दिउँसो पनि कुलो अबेर राती पनि कुलोमै व्यस्त देखिन्छन् । चार दशकदेखि ढाडाकोटी कुलाराका रूपमा परिचित कामी भन्नुहुन्छ– ‘आफू सुते कुलाको पानी पनि सुत्छ कि भन्ने चिन्ताले जहिल्यै सताउँछ । हामी सुते ढाडाकोटका १२ सय परिवारलाई पानीमरु हुन्छ ।’

‘मलाई कुनै अपर्झट काम परे विषे दाइ र दाइलाई अपर्झट काम परे म जान्छु नत्र रातदिन हामी दुवै कुलोमै हुन्छौं’ –उहाँको भनाइ थियो । कुलोमा सानोतिनो काम भए कुलाराद्वयले नै मर्मतसम्भार गर्छन् । ठूलो काम परे १२ सय गाउँलेको गुहार माग्छन् । विशेष गरी जेठ र कात्तिकमा गुहार माग्दै आएका कुलाराले यो वर्ष भने दिउडा पाटन पहिरोका कारण बढी क्षति भएपछि गाउँलेको श्रमदानमा केही दिन ढिला भयो ।

‘कुलाराले खबर गर्ने र देउताले कुलो सोर्न पठाउने नियम ढाडाकोटीका लागि सर्वमान्य कानुनसरह मानिन्छ’ –स्थानीय बुद्धिजीवी एवं सरस्वती मावि ढाडाकोटका शिक्षक गंगाप्रसाद उपाध्यायले भन्नुभयो । स्थानीय जनश्रमदान र स्रोतसाधानको उपयोग गरी पुर्र्खाको परम्परादेखि सञ्चालनमा ल्याएको उक्त कुलो अहिले पनि निरन्तरता दिएको छौं । घरबाट सातुसामान बोकेर जाने दिनभर काम गर्ने राती खरको छाना र ओडारमा बास बस्ने प्रचलन छ । ढुंगेयुगमा पाटनको चट्टानमा टाँड र रूखमा प्वाल पारेर पन्दाला (काठको पाइप), राखेर हाम्रा पुर्खाले कुलो सञ्चालनमा ल्याएका थिए ।

परापूर्व कालमा पनि प्रत्येक घरबाट कुलो सोर्न तीनदेखि पाँच दिनसम्म जंगलमा बस्ने प्रचलन थियो, अहिले पनि कायमै छ । ‘हाम्रो कुलो ढुंगेयुगकै शैलीमा छ । चट्टान र रूख खोप्छौं, टाँड बनाएर कुलो नियमित गरेका छौं, विगतझैं यो वर्ष ५ वटा काठका पदाला चारवटा टाँड जनश्रमदानमै निर्माण गरेका छौं’ –शिक्षक उपाध्यायले भन्नुभयो । गाउँगाउँमा स्थानीय सरकारले सिंहदरबारको झल्को दिने गरी विकासे बजेट बाँडफाँट गर्छन् तर यहाँ जनश्रमदान गरेर कुलो ल्याउने प्रचलन छ ।

पछिल्लो समयमा शिक्षक कर्मचारी कुलोमा जान नसकेपछि दैनिक ६ सय रुपियाँका दरले घरघरबाट ग्रह हाल्ने (गयल परेका घरपरिवारबाट सजायस्वरूप ज्याला उठाउने) गर्दछन् । शिक्षक उपाध्यायले आफूले कुलोका लागि समय दिन नसकेकाले ३ हजार रुपियाँ तिरेको बताउनुभयो ।

‘जनसंख्या बढी छ, पानीको स्रोत कम छ, त्यसै भएर पनि यहाँ पानी पालो लगाउने प्रचलन छ । पानी चोरेर लगे पाँच सय जरिवाना तिर्नुपर्छ’ –स्थानीय उपभोक्ता कविता बोगटीले भन्नुभयो । धार्मिक एवं सामाजिक परम्पराअनुसार लेक कुलो सोर्न पुरुष मात्र जाने तथा औली कुलो सोर्न महिला पुरुष नै जाने चलन छ । स्थानीय युवा आनन्द गिरीको भनाइ छ ।
ढाडाकोटी कुलो सिँचाइ र कुटानी पिसानी घट्टको प्रयोगमा मात्र सीमित छैन । नुहाउने, धुने तथा सरसफाइको प्रयोगमा त छँदै छ, धारामा पानी आएन भने त्यही कुलाकै पानी पिउने गर्छन् स्थानीयहरू । यसका साथै जंगलका एकान्त ठाउँमा पानीघट्ट हुँदा महिला बलात्कारको सिकार भएका घटना पनि छन् ।

ढाडाकोटी कुलोमा केही वर्ष यता स्थानीय तह र प्रदेश सरकारवाट सानोतिनो लगानी सरकारले गरेको भए पनि आपसी मिलोमतोमा ठेक्कापट्टा गरेको आरोप स्थानीयले लगाएका छन् । ‘गत वर्ष स्थानीय तह र प्रदेश सरकारबाट १ करोड ६ लाखको योजना परेको थियो । ठेकेदारले घटेर ५३ लाखमा ठेक्का लिए । त्यो ठेक्का पनि पछि पाँच जना पेटी ठेकेदार बने, रकम खाए उपलब्धि भएन’ – स्थानीय मनसुर विष्टले भन्नुभयो । विगतदेखि हजार लाखका योजना दिने उपभोक्ता समिति गठन गर्ने, कुलो मर्मतका नाममा नेताले कार्यकर्ता पाल्ने गरेको स्थानीयको गुनासो छ ।

उक्त कुलो थिनी, ढाडाकोट, हुनी, बस्केना, सेरा, अस्वाडा, ढिकाखोला, लुमा र काप्रीलगायतका बस्तीको प्रयोगमा छ । एउटै मूल कुलोबाट सात कुलामा विभाजन गरिएको छ । वर्षा मौसममा पानी पुगे पनि कात्तिकदेखि पानीको समस्या हुन्छ । हिउँदमा त हिउँ ठेलेर दिउण पाटनबाट पानी ल्याउनुपर्छ ।

एउटा कुरा चाहिँ संयोग नै मान्नुपर्छ, अरु कुरामा राजनीति भए पनि कुलो सोराइमा भने कुनै खालको राजनीति हुँदैन । देउताले तुसाराको पात बिच्छ्याउनु, घरको एक जना कुलो सोर्न जानु भन्ने देवाज्ञा दिएसँगै गाउँले कुलो मर्मत गर्न जान्छन् । पुर्खाले जनश्रमदानबाट ल्याएको कुलो अहिले पनि जनश्रमदानकै कारण ढाडाकोटी कुलो जीवन्त छ । प्रत्येक वर्ष जेठ र कात्तिक महिनामा कुलो सोराइ हुन्छ । उक्त कुलोबाट पचास आलो अर्थात् पैंतीस सय पाथी बिउ लाग्ने खेतको रोपाइँ हुने कृषक अम्मलाल विष्टले भन्नुभयो ।

ढाडाकोटी कुलोलाई व्यवस्थित गर्न सम्बन्धित निकायले दीर्घकालीन विकासको अवधारणाअनुसार बहुउपयोगी कुलोको डीपीआर तयार गरी पक्की बाँध तथा कुलो निर्माण गर्ने योजना कार्यान्वयन गरे मात्र ढुंगेयुगीन कुलो आधुनिक नहरका रूपमा परिणत गर्न सकिन्छ ।