प्रशिक्षकविना प्रशिक्षण गर्न बाध्य

0
Shares

पोखरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिएसँगै खेलाडीमा चिन्ता पनि बढिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा गण्डकी प्रदेशमा प्रतियोगिता गर्नका लागि यतिबेला राखेप कुदेको कुद्यै छ । एकातिर प्रतियोगिता गराउन राखेप लागिरहेको छ भने अर्कातिर गण्डकी प्रदेशमा प्रतियोगिताको रौनकता भने छाएको छैन् । गण्डकी प्रदेशमा प्रतियोगिताका दौरान दश हजार बढी अतिथि आउने अनुमान गरिएको छ ।

३९ वर्षपछि गण्डकीमा फर्किएको प्रतियोगिताका लागि अन्य तयारीमा प्रदेशले जुटेको देखाए पनि खेलाडीको तयारीमा भने जुटेको देखिँदैन । गण्डकीको घरेलु मैदानमा प्रतियोगिता हुँदै गर्दा खेलाडीहरू भने यसलाई अवसरको रूपमा मात्रै नहेरी समग्र गण्डकीलाई च्याम्पियन बनाउनुपर्छ भन्ने मनसायका साथ अघि बढेका छन् । खेलाडीमा आत्मबल बढिरहँदा प्रदेशको तौरतरिकाको कारण भने खेलाडीमा असर परिरहेको छ ।

खेलाडीको व्यक्तित्व विकास र लक्ष्य प्राप्त गर्ने प्राथमिक व्यक्तिको रूपमा प्रशिक्षक रहन्छ । विशेष गरेर दक्षता, क्षमता, ज्ञान र विज्ञानको पहिचान गराउन र प्रेरित गर्न सक्ने प्राविधिज्ञको उपमा हो प्रशिक्षक । प्रतियोगिताको अवस्थामा खेलाडीलाई परिणाममुखी बनाउन काबिल प्रशिक्षकको रचनात्मक भूमिका रहन्छ । तसर्थ, व्यावसायिक रूपमा प्रबल, अनुभवले खारिएको र सम्बन्धित खेलमा पहिचान भएको व्यक्ति विशेषलाई प्रशिक्षकका रूपमा राख्ने परम्परा रहे पनि गण्डकीमा भने त्यसो भएको पाइँदैन ।

नेपालमा हुने हरेक राष्ट्रियस्तरको प्रतियोगितामा विभागीय क्लबको वर्चस्व रहेको हुन्छ । यसको कारक भनेकै प्रशिक्षक हो । विभागका खेलाडीलाई थप मिहेनत गराउने र अनुशासनमा राख्ने नै प्रशिक्षकले भएकाले प्रदर्सनका साथै पदकमा समेत हावी हुने गरेका छन् ।

नवौंमा आफूलाई सावित गराएर नेपालको राष्ट्रिय खेलाडी बन्ने पहिलो खुड्किलोको रूपमा प्रतियोगितालाई लिइरहँदा समयमै प्रतिक्षणको व्यवस्थापन गर्न नसक्दा खेलाडीहरू कोही बाहिर सिक्न जान बाध्य भएका छन् त कोही प्रशिक्षकविनै सिक्न बाध्य छन् । गण्डकी प्रदेशको प्रशिक्षक नभएपछि व्यक्तिगत खर्चमै प्रशिक्षणका लागि काठमाडौं पुगेका एक खेलाडीले गण्डकी प्रदेशको भर गरेर बस्यो भने प्रतियोगितामा प्रदर्शनी गर्न निकै गाह्रो पर्ने बताए । उनले गण्डकीले प्रशिक्षक नराखेकै कारण आफू प्रशिक्षणका लागि काठमाडौं आएको सुनाए ।

सातौँ र आठौँमा गण्डकीका लागि पदकसमेत ल्याएका ती खेलाडी १३औं साग गेमका पदक विजेतासमेत हुन् । ‘हामीलाई त प्रशिक्षकको आवश्यकता हुन्छ नै । हाम्रो आशा भनेकै प्रदेश र जिल्लाको कोच भइदिए हुन्थ्यो भन्ने हो’ उनले भने,‘यो त हामीले पहिलादेखि भोग्दै आएको समस्या हो । खेलाडी तयारी बारेमा नसोच्ने अनि प्रतियोगिता आउनै लाग्दामिात्र सिकाएर कहाँ राम्रो हुन्छ ?

यस्तै, प्रशिक्षकविना नै तयराीमा जुटेकी एक महिला खेलाडीले आफूहरूलाई प्रदेशले केही नगरेको अनुभुति भएको सुनाइन् । उनले नवौं प्रतियोगिता नजिक आए पनि अहिलेसम्म प्रशिक्ष नपाउँदा निकै समस्या खेप्न बाध्य भएको सुनाइन् । ‘हाम्रो त प्रशिक्षक नै हुनुहुन्न । आफै आएर जति जानेको छ त्यति सिक्ने हो’ उनले भनिन्, ‘हाम्रो पनि कोच भइदिएको भए नयाँ नयाँ तरिका सिक्न पाउथ्यौँ । विभागीय क्लब र काठमाडौंमा हरेक खेलमा प्रशिक्षक छन् यहाँ कोही छैनन् ।’

पोखरामा स्वयम्सेवी प्रशिक्षण गराउँदै आइरहेका दीपक गोदारले खेलाडीका लागि प्रतियोगिता नभई नेतृत्व तहमा पुगेका नेताहरूको नाम राख्नका लागि गरिएको बताए । उनले सामान्यतया खेलाडीलाई ३ महिनाको बन्द प्रशिक्षण राख्नुपर्ने उनेको भनाइ रहेको छ । तर, गण्डकी प्रदेशमा प्रतियोगिता आउनका लागि २ महिना मात्रै बाँकि रहेको छ । प्रशिक्षक विना पदक ल्याउने सपना गण्डकी प्रदेशले नदेखे पनि हुने उनको भनाइ छ ।

अहिलेसम्म खेलाडी तयारीका लागि प्रदेशले केही नगरेको गोदारले बताए । उनले यो खेलभन्दा पनि व्यवसायी देखिएको बताए । यस्तै, स्वयम्सेवी प्रशिक्षककै रूपमा रहेका सुवास खड्काले प्रदेशले प्रशिक्षणको व्यवस्थापन नगरेपनि आफूहरूले तयारी सुरु गरिसकेको बताए । ८ औं राष्ट्रिय खेलकुदमा ४ स्वर्ण, ३ रजत र २ कांस्य ल्याउन सफल फुल कन्ट्याक्ट करातेमा अहिले भने चुनौती रहेको सुनाए ।

उनले प्रशिक्षकलाई खेलाडी टिकाउनै गाह्रो भएको बताए । उनले सुदूरपश्चिम, कर्णाली लगायतका प्रदेशले खेलाडीलाई उत्प्रेरणा दिनुका साथै खेलाडीलाई प्रशिक्षणका लागि आवश्यक तयारीको चाँजोपाँजो मिलाइसके पनि गण्डकीमा त्यस्तो हुन नसकेको बताए ।