सय वर्ष आयुका २६ गुम्बा

बल्ल आयो पुनर्निर्माणको जिम्मा



काठमाडौं ।

पुरातत्व विभागले चालु आर्थिक वर्षमा सय वर्ष पुराना २६ गुम्बा पुनर्निर्माण गर्ने भएको छ । विभागले सात वर्षअघिको महाभूकम्पले क्षतिग्रस्त बनेका ती गुम्बाहरूको स्थलगत अध्ययन गरी पुनर्निर्माण गर्ने जिम्मेवारी लिएको हो ।
विभागका महानिर्देशक दामोदर गौतमले २०७२ सालको भूकम्पले ध्वस्त र क्षतिग्रस्त सम्पदामध्ये सय वर्ष पुराना २६ वटा गुम्बा पुनर्निर्माण शुरू गर्न लागिएको जानकारी दिनुभयो ।

भूकम्प गएको सात वर्षपछि बल्ल गुम्बा पुनर्निर्माण शुरू हुन लागेको भएपनि संस्कृतिविद् तथा बौद्ध धर्मावलम्बी तथा अन्य सरोकारवालाहरूले प्रसन्नता व्यक्त गरेका छन् ।महानिर्देशक गौतमका अनुसार तीमध्ये अधिकांश बहुवर्षीय रहेका छन् । विभागले पुनर्निर्माण शुरू गर्न लागेको अधिकांश गुम्बा ऐतिहासिक रूपमा अति महत्वपूर्ण रहेको बताइएको छ । विभागले पहिलो चरणमा सोलुखुम्वु, दोलखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, गोरखा र नुवाकोट गरी सात जिल्लाका गुम्बा पुनर्निर्माण गर्दैछ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार यसअघि पुनर्निर्माण प्राधिकरणले हस्तान्तरण गरेका सम्पदामध्ये गुम्बा पुनर्निर्माण गर्न लागिएको हो । प्राधिकरणले काम सम्पन्न गरेर सम्पूर्ण सम्पत्ति सरकारलाई हस्तान्तरण गरेपछि खारेज भएको प्राधिकारणको काममध्ये सरकारले सम्पदाअन्तर्गत सय वर्ष पुरानो गुम्मा पुनर्निर्माण गर्ने जिम्मा विभागले लिएको हो ।
तथ्याङ्कअनुसार सोलुखुम्बुको देक्षेन छो खोर्लिङ, दोलखाका रोल्वालिङ दातज्यम टासी छयोलिङ र रोल्वालिङ साङा छ्योलिङ गरी दुई, धादिङका जिलिङचो, पङगङ, टासी छयेजोङ, फ्यान्चेत गरी चार, रसुवाको माङचेन, ज्योमो लाहाङ, नागाथालिङ र साम्बालिङ गरी चार गुम्बा पुनर्निर्माण हुनेछन् ।

त्यस्तै, सिन्धुपाल्चोकका साङाक उर्गेन धोङाग छोलिङ, ध्याङ डाँडा ध्याङ, नतले छेताङ घ्याङ, टासी वाङदाङ, साङालिङ बौद्ध, ङिङमा, ज्याङतेर सेरपाली पाङ, केवलुङ र घुमसाङ गरी ९ वटा गुम्बा पनि पुनर्निर्माण हुने सूचीमा छन् ।
विभागले भूकम्पले क्षति भएका अन्य गुम्बा पुनर्निर्माण गर्न बजेट अभाव भएको कारण देखाउँदै चालु आबमा २६ वटा मात्रै पुनर्निर्माण गर्न लागेको हो ।

यसअघि विभागले भूकम्पले ध्वस्त र क्षतिग्रस्त मठमन्दिरलगायतका सम्पदा मात्रै पुनर्निर्माण गरिरहेको थियो । प्राधिकरणको खारेजपछि पहिलोपटक यति धेरै संख्यामा गुम्बा पुनर्निर्माण गर्न लागिएको हो ।विभागले केही महिनाभित्र टेन्डर प्रक्रिया शुरू गरी दशैंलगत्तै पुनर्निर्माणको काम शुरू गर्ने जनाएको छ । महानिर्देशक गौतमले २६ मध्ये अधिकांश गुम्बा जीर्ण अवस्थामा छन् ।

हामी आगामी आबमा ६० वटा नयाँसहित बहुवर्षीय ठेक्काअन्तर्गत पुनर्निर्माणलाई जोड दिनेछाैं– प्रवक्ता कुँवरले भन्नुभयो । सरकारले आवश्यकताका आधारमा बजेट विनियोजन नगर्दा सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको हो ।

विभागले चालु आबमा १ सय ३८ सम्पदा पुनर्निर्माण गर्ने लक्ष्य रहेको विभागका महानिर्देशक गौतमको भनाइ छ । त्योसमेत गरी चालु आबको अन्त्यसम्ममा करिब ७ सय २५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न हुनेछ । चालु आबमा सम्पदा पुनर्निर्माण गर्न २ अर्ब बजेट विनियोजन गरिएको छ ।

भूकम्पपछिको ७ वर्षमा ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् । विभागले क्षति भएका ९ सय २० वटा सांस्कृतिक सम्पदाहरूको मौलिक स्वरूपलाई यथावत कायम राखी पुनर्निर्माण सम्पन्न भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्