आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

0
Shares

काठमाडौं । 

यही मंसिर ४ गते सोमबार हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता भएका छन् । सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गर्न आह्वान गरेकोमा अहिलेसम्म ३९ दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । अहिले सम्ममा दर्ता भएका दलहरूमा नेकपा (एमाले) बाहेक बाँकी सबै साना दलहरू रहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) दल दर्ताको क्रमसंख्या १० औं स्थानमा रहेको छ । सत्ता गठबन्धनका दलहरूको दल दर्ता हुन बाँकी रहेको छ भने अन्य दलहरू दर्ता हुने क्रममा रहेका छन् । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्दछ ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।दल दर्तासँगै आयोगले निर्वाचनको लागि आवश्यक व्यवस्थापकीय, कानुनी र प्राविधिक तयारीलाई अघि बढाएको छ । आयोगले अहिले निर्वाचनको लागि गर्नुपर्ने कामको योजना, कार्यतालिका बनाउने, जनशक्ति व्यवस्थापन, निर्देशिका, कार्यविधि, कानून संशोधन लगायतको कामलाई प्राथमिकतामा राखेको प्रवक्ता पौडेलको भनाई छ ।

नीति, नियम र निर्देशिकाहरूमा समयमै परिमार्जन र निर्माण गर्नुपर्ने विषयमा अध्ययन भइरहेको पनि आयोगले जनाएको छ ।
दल दर्ताको काम सकिएपछि आयोगले उनीहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन लगाउने कार्यसूची तय गरिएको पनि आयोगले जनाएको छ।त्यसपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम शुरू गर्ने आयोगको योजना रहेको छ ।

समानुपातिक तर्फको निर्वाचन कार्यतालिका आयोगले बनाइसकेको छ । त्यसबारे नेपाल राजपत्रमा प्रकाशन भएपछि निर्वाचन प्रक्रिया शुरू गरिने छ । यसका साथै निर्वाचनको लागि आवश्यक सामग्री सूची तयार गर्दै सरकारसँग बजेट माग गर्ने तयारी गरिरहेको पनि आयोगले जनाएको छ । निर्वाचनका लागि ५८ प्रकारका सामग्री चाहिन्छ । त्यसमध्ये आयोगसँग मौजुदा सामग्रीको तथ्यांक संकलन गर्ने र नपुग सामग्री खरिद गर्ने तयारीमा आयोग रहेको छ ।

यसै गरी आयोगले मतदाता नामावली अद्यावधिक गर्ने पनि गृहकार्य अघि बढाएको छ । मतदाता नामावली तयार पारेर स्थानीय तहसम्म पठाएर त्यसमा भएको त्रुटि सच्याउन लगाउने छ । मतदाता नामावलीमा त्रुटि भएमा सच्याउने, नामावलीमा नपर्ने नाम परेको छ वा दोहोरो नाम परेको छ भने त्यसलाई हटाउन प्रक्रिया अघि बढाउन आयोगले तयारी गरिरहेको छ ।

त्यस्तै आयोगअन्तर्गतका विभिन्न महाशाखा र शाखाले गर्नुपर्ने काम, जिल्ला निर्वाचन कार्यालयले गर्नुपर्ने काम, आयोगले गर्नुपर्ने कामलाई आन्तरिक कार्ययोजना बनाएर अघि बढाइसकेको छ । त्यसै गरी निर्वाचनमा खटिने जनशक्तिको योजना तयार पार्ने, मतदाता शिक्षासम्बन्धी कार्यक्रम, निर्वाचन व्यवस्थापनमा खटिने कर्मचारीको तालिमलगायत जनशक्ति व्यवस्थापन र क्षमता अभिवृद्धिका विषयमा योजना बनाउने काम गरिरहेको छ ।

त्यसै गरी मतदान केन्द्र थप गर्ने, मतदान केन्द्रलाई सबैको पायक पर्ने स्थानमा राख्ने विषयमा मतदान केन्द्र पुनरावलोकन काम पनि आयोगले अघि बढाएको छ । आयोगका अनुसार स्थानीय तहको निर्वाचनको बेला भन्दा ३ सय हाराहारी निर्वाचन केन्द्र थप हुनेछ । स्थानीय तह निर्वाचनका बेला २१ हजार ७ सय ५६ स्थानीय तह रहेकोमा अब २२ हजार हाराहारी मतदान केन्द्र हुनेछ ।