सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिने एक जना पक्राउ

0
Shares

काठमाडौं । सामाजिक सञ्जालमा महिलालाई सास्ति दिएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेाम ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राजथला रहेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएको प्रहरीले जनाएको छ । त्यसपछि उनले महिलालाई साथी बनाएर संवाद गर्ने क्रममा अश्लिलता प्रदर्शन गरेको प्रहरीको आरोप छ ।

त्यसैको स्क्रिनसट लिएर महिलालाई थप मानसिक यातना दिएर बेइज्जत गरिदिन्छु भन्दै बाध्य पारी पीडित महिलालाई समेत अश्लिलता प्रदर्शन गर्न लगाएको प्रहरीको आरोप छ ।

त्यसपछि ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिन खोजेको तर त्यो पूरा नभएपछि अश्लिल तस्बिरहरू पीडितका आफन्त तथा साथीहरूलाई समेत पठाएर महिलालाई मानसिक यातना तथा दु:ख हैरानी दिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।