रोहित क्लिनिकसहित १२ पसलमा शिलबन्दी

७० हजार बराबरको अखाद्य सामान बरामद

0
Shares

बाजुरा।

जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाले बुधबार दिउँसो सदरमुकाम मार्तडीमा संयुक्त अनुगमन गरेको छ । अनुगमनका क्रममा सदरमुकाम मार्तडी रोहित क्लिनिक मेडिकल सहित ११ वटा खुद्रा तथा कपडाका पसल शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले एक सूचना जारी गर्दै जानकारी गराउनु भएको छ।

मार्तडी बजारमा रहेको रोहित मेडिकलमा सम्बन्धित विषयमा अध्ययन गरेको स्वास्थ्यकर्मी नबसेको पाईएपछि सिलबन्धी गरेको हो । मेडिकल सञ्चालकसंग सम्बन्धित प्रमाणपत्र भटिएन । आवश्यक कागजात नभएपछि दर्ता प्रमाणसहित दर्तामा संलग्न भएको व्यक्तिले प्रशासनमा उपस्थित हुने गरी शिलबन्दी गरेको बडीमालिका नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगम समिति संयोजक नन्दा कुमारी थापाले बताउनुभयो ।

रोहित क्लिनिक मेडिकलमा आधिकारिक व्यक्ति भन्दा पनि अनाधिकृत व्यक्तिले औषधी विक्री वितरण गर्ने गरेको र जनताको स्वास्थ्यमा समेत खेलबाड हुने भएकाले आवश्यक काजगातसहित आधिकारिक व्यक्तिलाई प्रशासनमा उपस्थित हुन सार्वजनिक रुपमा पत्र टाँस गरी शिलबन्दी गरेको उपप्रमुख तथा अनुगमन संयोजक थापाको भनाइ छ ।

यस्तै बजार अनुगमनका क्रममा खाद्य तथा कपडा व्यवसायीका ११ वटा पसल शिलबन्दी गरिएको छ । व्यापारीले पान नम्बर नराखेको विल मार्फत भुक्तानी नदिने गरेको,होडिङ्ग बोर्ड नराखेकाले सिलबन्दी गरिएको जिल्ला निरीक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्र विष्ट द्वारा हस्ताक्षेरित सूचनामा उल्लेख गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विष्टका अनुसार बजारमा दैनिक खाद्यवस्तुको मूल्य वृद्धि,कालो बजारी लगायतका जनगुनासो आउन थालेपछि बजार अनुगमन गरिएको हो । जरिवाना र कारबाही गर्ने गरी बजार अनुगमन गरेको हो । उपभोक्ता संरक्षण ऐनको दफा ३९ अनुसार कालोबजारी गर्ने ब्यापारीलाई पाँच हजार देखि २० हजार रुपियाँ सम्म जरिवाना गर्न सकिने कानुनी प्राब्धान छ । तर,पहिलो पटकलाई जनही पाँच हजार रुपियाँका दरले जरिवाना गरेका छौं सहायक प्रजिअ विष्टले भन्नुभयो । प्रत्येक वर्ष अषाढ २५ गते भित्र अनुगमन गरिसक्नु पर्ने हो । विविधकारणले एक महिना ढिलो भएको छ । अब केही दिनमा जिल्लाभरी अनुगमन गरिनेछ । उपभोक्ता हितका लागि राज्य संयन्त्र सक्रिय हुँदा केही तत्वले असहयोग गरेका छन् । तिनीहरुलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने हुन्छ प्रजिअ विष्टले भन्नुभयो ।

बुधबार दिउँसो गरिएको बजार अनुगमनमा करिब ७० हजार बराबरको अखाद्य तथा अन्य सामग्री बरामद गरेको छ । बजार अनुगमनमा म्याद गुज्रेका सामाग्री जिल्ला प्रहरी कार्यालय बाजुराको सुरक्षामा राखिएको छ ।

बजारमा हुने चर्काे मुल्यवृद्धि,कालोबजारी र व्यापारीले मुल्य सूचि नराख्ने,पान नम्बर देखिने गरी नराख्ने र ग्राहकलाई सामान किनेको विल अनिवार्य दिन अनुगमन टोलीले सुझाव दिएको छ ।

उपभोक्ताले सामान खरिद गर्दा विलविजक अनिवार्य लिने। प्रयोग गर्न उपयोग छ छैन सामान खरिद गर्नु पहिले राम्ररी हेर्ने अखाद्यसामान फेला परे स्थानीय प्रशासनलाई जानकारी गराउन उपभोक्तलाई अपिरल गर्दछौं प्रजिअ विष्टले भन्नुभयो । बजारमा सामान किन्दा भ्याट मुल्य जोडेर सामान दिन्छन् । तर ब्यापारीले भ्याट विल दिदैनन् उपभोक्ताको गुनासो छ ।

बजार अनुगमनमा बडिमालिका नगरपालिका उपप्रमुख नन्दाकुमारी थापा, बजार निरिक्षण अधिकृत लोकेन्द्र विष्ट,बडीमालिका नगरपालिकाका पुष्पराज भट्ट,जिल्ला प्रशासनका चक्र बोहरा,कोष तथा लेखा नियन्त्रक कार्यालयका देबी खत्री,घरेलु तथा साना उद्योग विकास समितिका मानबहादुर रावल,उद्योग वाणिज्य संघका हंसबहादुर सिंह लगायत सुरक्षाकर्मी र पत्रकार सहभागी थिए ।