समानुपातिक निर्वाचनको छुट्टै मतपत्र

0
Shares

काठमाडौं । 

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मतपत्र छाप्ने जिम्मेवारी पाएको जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले आयोगले सामानुपातिक र प्रत्यक्ष तर्फको संघ र प्रदेशको मतपत्र छुट्टै रङको गर्ने तयारी गरेको छ । त्यसका लागि केन्द्रले सामग्री खरिद प्रक्रिया अघि बढाएको केन्द्र प्रवक्ता चित्रकुमार आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा संघ र प्रदेशको समानुपातिक निर्वाचनको लागि एकै खालको मतपत्र प्रयोग गरिएकोमा यसपटक छुट्टाछुट्टै रंगको हुनेछ । आयोगले सबै मतपत्रको विषयमा केन्द्रको प्राबिधिक टोलीसँग छलफल गरिसकेको छ । आयोगका निर्णयअनुसार भदौ २० गतेबाट केन्द्रले समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ ।८ करोड थान मतपत्र छपाइ गर्ने भएको छ । निर्वाचन आयोगका प्राविधिक टोलीले आइतबार केन्द्रको मुख्यालयमा अवलोकन गरेपछि सोमबार राती मतपत्र छपाई तथा प्याकिङलगायत आवश्यक काम गर्न आदेश दिएको छ ।

केन्द्रका अनुसार करिब ८ करोड मतपत्र छाप्न ७ वटा मेसिन प्रयोग गरिनेछ भने करिब १ सय ७५ कर्मचारी मतपत्र छाप्ने काममा खटिनेछन् । मतपत्र छाप्ने प्रेसको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।मतपत्र छपाइमा संलग्न सुरक्षाकर्मी र अन्य कर्मचारीलाई प्रेसमा मोबाइल बोक्न तथा कुनै पनि कागजात लैजान वर्जित गरिएको छ । नेपाली सेनाले सुरक्षा जिम्मा लिएका कारण प्रेसका कर्मचारीले सेनाकै सुरक्षा निर्देशन मान्नुपर्नेछ । छापाखाना सुरक्षा गर्न १ सय ५० जना नेपाली सेना परिचालित हुने बताइएको छ ।

केन्द्र प्रवक्ता आचार्यले यही महिनाको अन्त्यबाट छपाइ प्रक्रिया शुरू हुन सक्ने बताउनुभएको छ । आयोगले दल दर्ता सकेर चुनाव चिह्न दिएपछि समानुपातिकतर्फको मतपत्र छाप्ने काम शुरू हुनेछ ।केन्द्रका अनुसार संघअन्तर्गत १ सय ६५ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फ र समानुपातिक तर्फ २–२ करोड थान मतपत्र छपाइ गर्ने भएको छ । त्यसै गरी प्रदेशको समानुपातिक र प्रत्यक्षमा पनि २–२ करोड मतपत्र छपाइ गर्ने भएको छ ।

प्रवक्ता आचार्यले आयोगले दिएको निर्देशनअनुसार छपाइ गर्न केन्द्र तयार रहेको जानकारी दिँदै भन्नुभयो– ‘स्थानीय तहको निर्वाचनमा जस्तै समयमै मतपत्र पु-याउने गरी तयारी थालिनेछ । आयोगले सुरक्षाका लागि ३० वटा सीसीटिभी जडान गरिसकेको छ ।’दल दर्ता प्रक्रिया सकिएलगत्तै आयोगले दिएको चिह्नअनुसार समानुपातिकको मतपत्र छपाइ हुनेछ । त्यसै गरी सम्भवतः असोज २८ गतेबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ हुनेछ । उम्मेदवारको मनोनयन, दाबी विरोधपछि मात्रै प्रत्यक्षतर्फको मतपत्र छपाइ हुने भएको छ ।

मतपत्र छपाइ गर्न सुरक्षण मुद्रणालयभित्रका सबै गतिविधि नेपाली सेनाले निगरानी गर्नेछ । सीसीटिभीको अनुगमन सेनाबाटै हुनेछ । फुटेज राख्ने र अन्य सुरक्षा जाँचसमेत नेपाली सेनाबाटै हुनेछ । तीन तहको सुरक्षा घेराभित्र मतपत्र छपाइ गर्न उच्च सुरक्षा संयन्त्र परिचालन हुनेछ ।