एक चीन नीति 



अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले इन्डो प्यासिफिक क्षेत्रको भ्रमण गरेपछि विश्वभर तरंग पैदा भएको छ । सिंगापुर, दक्षिण कोरिया, जापान सहित चिनिया अधीनस्थ क्षेत्र ताइवानको भ्रमण गरेपछि न्यान्सी विवादमा तानिन पुगेकी छन् ।

विशेष प्रयोजनविना नै केबल चीनलाई चिढाउनकै लागि पेलोसी त्यहाँ पुगेकी विश्वका अधिकांश राजनीतिक विश्लेषकहरुको भनाइ छ । शान्ति खलबलिने र दई बहुशक्ति सम्पन्न मुलुकबीच तनाब बढेर तेस्रो विश्वयुद्ध पनि हुनसक्ने लागतमा भ्रमण आवश्यक नरहेको उनीहरुको तर्क छ ।
चीनले ताइवानलाई आफ्नो अभिन्न अंगको रुपमा लिनेगरेको छ । पेलोसीले ताइवान भ्रमण गरेपछि अहिले सो क्षेत्र तनाबग्रस्त बन्नपुगेको छ । चीनले पेलोसीको ताइवान भ्रमण गलत्तै ताइवान वरपर सैन्य गतिविधिलाई तीव्र बनाएको छ । चीनको उक्त कदमलाई लिएर अमेरिकाले कडा जबाफ समेत दिएको छ ।

तरपनि चीनले आफ्नो सैन्य गतिविधिलाई भने निरन्तरता दिएपछि अमेरिकी उक्साहटमा ताइवानले समेत आफ्नो नौ सेनाको गतिबिधिलाई तीव्र बनाएर चिनीया भूमीतर्फ बढ्ने काम गरिरहेको छ । यसले अर्को युद्ध हुने त होइन भन्ने आशंका जन्माइदिएको छ । रुस–युक्रेन युद्धका कारण संसारभर अहिले खाद्यान्न संकट उत्पन्न भएको छ भने गरिबीको रेखामुनि रहेका देशहरु अहिले टाट पल्टने अवस्थामा पुगको बताइन्छ । रुस–युक्रेन युद्ध हुनुअघि अमेरिकाले युक्रेनलाई उचालेको आरोप लागिरहेको बेला पेलोसीको ताइवान भ्रमणले फेरि अर्को युद्ध शुरु हुने त होइन भन्ने चिन्ता बिश्वसामू बढेको छ । आफ्नो एकछत्र साम्राज्यलाई अझै मझबुत बनाउने दाउमा रहेको अमेरिकाले एसियाली मुलुकमा समेत शान्ति र स्थिरता नचाहेको आरोप खेपिरहेको छ ।

महाशक्तिका रुपमा उदयमान चीनको विश्वव्यापी व्यापार साम्राज्यलाई तहसनहस बनाउने उद्देश्यले पेलोसीको ताइवान भ्रमण भएको एकथरी विश्लेषकको धारणा छ । चीनले ताइवान आफ्नो अभिन्न अंग रहेको र ताइवानलाई उचालेर चीन विरोधी गतिविधि भए त्यसको सामना गर्ने चेतावनी दिनुले पनि यस क्षेत्रमा युद्धको संकेत बढेको अनुभूति हुन्छ ।युद्ध कसैको पनि पक्षमा नहुने भएकोले सबैले संयमता अपनाउनै पर्छ । अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने र चीन घेर्ने रणनीतिलाई तीव्रता दिएको देखिन्छ । चीनले अहिले ताइवान आफ्नो अधीनस्थ क्षेत्र भएको प्रमाणित गराउन नेपाल लगायत विश्वका अन्य मुलुकसँंग सहयोगको अपेक्षा गरेको छ । नेपालले अहिले सम्म ताइवानको विषयमा स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन ।

बारम्बार एक चीन नीतिमा प्रतिवद्ध रहेको कुरा मात्र दोहो¥याउँदै आएको छ । चीन–ताइवानबीच तनाव बढिरहेको बेला नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्काले मंगलबारबाट चीनको भ्रमण शुरु गर्नुभएको छ । चिनिया बिदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन भ्रमणमा निस्कनुअघि मन्त्री खड्काले नेपाल एक चीन नीतिमा अडिक रहेको बताउनुले पनि ताइवान मामिलाका बारेमा चीनको नेपाल धारणा माग्ने निश्चित जस्तै देखिन्छ । नेपालले अंगीकार गरेको असंलग्न परराष्ट्र नीतिकै अनुशरण गर्नु मुलुकका लागि हितकर पनि देखिन्छ । ताइवानको नाम नलिई ‘नेपाल एक चीन नीतिमा अडिक छ’ भनेर दोहो¥याउनु हाम्रालागि सफल कूटनीतिक अभ्यास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्