मदिरा तस्करीको अखडा बन्यो गोबरगाढा टापु

0
Shares

राजविराज ।

दशगजा क्षेत्रमा अवस्थित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापुमा दैनिक २८ लाखभन्दा बढी रुपियाँको मदिरा तस्करी हुँदै आएको खुलासा भएको छ ।

सो तस्करीमा जनप्रतिनिधिदेखि प्रहरीसम्मले पनि सघाउँदै आएको खुलेको हो । रातिराति ६ नम्बर र ८ किलो नौंज (डुङ्गा खुल्ने ठाउँ) बाट डुङ्गामा राखेर गोबरगाढा टापुसम्म पु-याइने कार्टुनका कार्टुन मदिरा दिउँसो घोडामा लादेर भारततर्फ पठाउने गरेका छन् । ‘वर्षौंदेखि यहाँका पाँच परिवारको मूल व्यवसाय नै दारु (मदिरा) वारपार गर्नु हो, दैनिक ३ सयभन्दा बढी कार्टुन दारु भारत पठाइन्छ’, नाम नछाप्ने सर्तमा एक स्थानीयले भने– ‘यहाँ १ हजार रुपियाँमा खरिद गरेर ल्याइएको दारुको कार्टुन भारतमा ९ हजार रुपियाँसम्ममा बिक्री हुने गर्छ, के कति रुपियाँको कारोबार हुन्छ भन्ने कुरा तपाईं आफैं हिसाब गर्नुहोला ।’

उनका अनुसार ३० वटा बोतल रहने गरेको एउटा कार्टुनको मूल्य १ हजार नेपाली रुपियाँ अर्थात् ३३ रुपियाँ प्रतिबोतलको मूल्यमा खरिद गरेर ल्याइएको मदिरा २ सय भारु अर्थात् ३ सय २० रुपियाँसम्ममा बिक्री हुने गर्छ । दैनिक ३ लाख रुपियाँमा खरिद गरेर ल्याइएको मदिरा २८ लाख ८० हजार रुपियाँमा बिक्री गर्दै आएका छन् ।

तस्करलाई वडाध्यक्षको संरक्षण

वडाध्यक्ष कुशेश्वर यादवले मदिरा तस्करी गर्दै आएकाहरूलाई संरक्षण दिएको स्थानीयहरूको दाबी छ । ‘तस्करीको विषय राजनीतिक इस्सु हो, भोटसँग जोडिएकाले वडाध्यक्ष यादवले संरक्षण दिँदै आएका छन् भने खोज्दै जानु तस्करीमा संलग्न व्यक्ति उहाँकै आसेपासे हुन्’, स्थानीयले भने– ‘यहाँको सञ्जाल तपाईंले सोचेजस्तो छैन, तपाई यहाँबाट जानेबित्तिकै समाचार नहोस् भन्नका लागि हरसम्भव कोसिस हुन्छ, समाचार लेखे पनि केही छैन तर मेरो नाम कसैलाई नबताइदिन अनुरोध छ ।’

डाध्यक्ष यादवले भारततर्फ पु¥याउने कार्य नहुनुपर्ने हो तर भइरहेको छ भने त्यसमा आफ्नो कुनै पनि किसिमको संरक्षण वा संलग्नता नरहेको बताउनुभएको छ । दुई जनाले २ पेटी मदिरा ल्याउने लाइसेन्स लिएका वडा अध्यक्ष कुशेश्वर यादवले बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यसमा मेरो कुनै संरक्षण वा संलग्नता छैन ।’

तस्करसँग असुली

स्थानीयहरूका अनुसार विगत ५-६ वर्षदेखि गोबरगाढा हुँदै भारततर्फ मदिरा तस्करी हुँदै आएको छ । बीओपी तिकुलियाका इन्चार्ज इन्स्पेक्टर देवराज पोखरेल र हवलदार सचिन्द्र यादवले तस्करहरूसँग असुली गर्दै आएका छन् । ‘महिनामा उहाँहरू दुई पटकसम्म आउनुहुन्छ र लाइन दिएबापत १०÷१० हजारका दरले सबै (तस्कर) सँग उठाउनुहुन्छ’, ती स्थानीयले भने– ‘लाइन मिलाउनमा मुख्य भूमिका भने सचिन्द्रले निर्वाह गर्दै आएका छन्, त्यो रकम सम्भवतः प्रहरीका उच्च अधिकारीसम्म पनि पुग्ने गर्छ ।’

यता प्रहरी इन्स्पेक्टर पोखरेलले असुली गरिहेको विषयलाई गलत रहेको बताउनुभयो । ‘हाम्रो एरिया रहेकोले मेरो नाम आएको हुन सक्छ तर त्यो गलत हो, मैले एक रुपियाँ पनि कसैसँग लिएको छैन र हवलदार पनि हाम्रो बीओपीको होइन’, उहाँले भन्नुभयो– ‘मदिरा सुनसरीतर्फबाट पनि त्यो बस्तीसम्म पुगेको हुन सक्छ ।’

उता, सशस्त्र प्रहरीका एसपी प्रदीप खड्काले तस्करलाई सघाएको पाइए कारबाही गर्ने बताउनुभएको छ । ‘पैसा उठाएको कुरा त नहोला तर गरेको रैंछ भने संलग्नलाई कारबाही हुन्छ’, उहाँले भन्नुभयो– ‘हवलदार यादव हाम्रै प्रहरी हुन्, तस्करलाई सघाएको पाइए कारबाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सो विषयमा निगरानी गर्न प्रहरी प्रमुखहरूलाई निर्देशन दिएको बताउनुभएको छ । ‘मसमक्ष सामान्य जानकारी आएसँगै प्रहरी प्रमुखहरूलाई निगरानी गर्न भनिसकेको छु, तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी राख्दैनौं’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।