डोजर र जेट मेसिनसहित १७ सवारीसाधन तोडफोड

बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन अनिश्चित

0
Shares

काठमाडौं ।

बन्चरेडाडा ल्यान्डफिल साइटमा सोमबार राती फोहोर व्यवस्थापनमा प्रयोग हुने काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेसिनसहित फोहोर बोक्ने १७ वटा सवारी साधानमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको छ ।

केही दिनअघि ३२ जना स्थानीयले धुनिबेंसी नगरपालिका–१ का वडा अध्यक्ष मानबहादुर तामाङलाई वडा कार्यालयमा भेटी गत जेठ २६ गते कामपाका मेयर बालेन्द्र साहसँग भएको १८ बुँदे सहमतिमध्ये एउटा बुँदा पनि कार्यान्वयन नभएको आरोप लगाउँदै फोहोर व्यवस्थापन रोक्न पत्र बुझाएका थिए । वडा अध्यक्ष तामाङले सो पत्रसहित वडा कार्यालयको विज्ञप्ति कामपा कृषि तथा वातावरण व्यवस्थापन विभागलाई पठाएको थियो ।
आइतबारको निर्णय कार्यान्वयन गर्न दबाब दिँदै स्थानीयले सोमबार दिनभर वडा कार्यालय र त्यसपछि ल्यान्डफिल साइटमा नाराबाजी गरेका थिए । दुई स्थानीय वेस क्याम्पका प्रहरी र स्थानीयबीच झडक हुने स्म्भावना बढेपछि प्रहरी कार्यालय काठमाडौंले थप सुरक्षाकर्मी परिचालन गरी करिब ५० ट्रक फोहोर खसालेको थियो ।

जनतालाई उपस्थित हुन नदिई प्रहरीको सहयोगमा फोहोर खसालेपछि आक्रोशित स्थानीयले सोमबार राति महानगरका तीन मेसिनसहित १७ सवारी साधनमा तोडफोड गरेका हुन सक्ने वडा अध्यक्ष तामाङले बताउनुभयो । उहाँले स्थानीयले गरेको निर्णय जस्ताको तस्तै कामपामा पठाएको र कामपाले कार्यान्वयन नगरेका कारण स्थानीय जनता आक्रोशित भएकोे हुनसक्ने जिकिर गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मैले त फोहोर रोकेर समस्या समाधान हुँदैन तपाईंहरू तोडफोडमा नउत्रनुस् भनेको थिएँ तर अकस्मात घटना भयो ।’ ल्यान्डफिल साइट क्षेत्रको समेत वडा अध्यक्ष रहनुभएका तामाङले जनताले गल्ती गरेको स्वीकार्नुभयो ।

उहाँले सोमबार सुरक्षाकर्मीसहित स्थानीयको बैठकमा समस्या समाधान गर्ने विषयमा छलफल गर्दासमेत स्थानीयले फोहोर रोक्ने अडान कायम राखेकाले समस्या भएको बताउनुभयो । वडा अध्यक्ष तामाङले भन्नुभयो– ‘कति गाडी क्षति भए मलाई जानकारी छैन । कामपाका मेयर साह आफंैले गरेको सहमित कार्यान्वन नभएको कारण आक्रोशित जनताले तोडफोड गरेको हुनसक्छ ।’यसअघि जेठमा भएको लगातारको आन्दोलनमा वडा अध्यक्षको हैसियतमा कामपासँग वडा अध्यक्ष तामाङ सुटुक्क सहमति गर्न गएपछि त्यस बेलादेखि आक्रोशित स्थानीय संघर्ष समितिले वडा अध्यक्षले हचुवाको भरमा सही गरेका कारण समस्या बढेको बताएका छन् ।

स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले कामपाले एउटा पनि माग पूरा नगरेका कारण १८ बुँदे सम्झौता गर्ने समूहले नै तोडफोड गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीयले त तोडफोड गर्दैन, माग पूरा नभए यही भदौ १ गतेबाट सदाको लागि बन्चरेडाडा ल्यान्डफिल साइट बन्द गर्ने गरी आन्दोलन गर्नेछौं ।’ उहाँले सवारी साधनमा तोडफोड गर्नु आतंककारी गतिविधि भएको टिप्पणी गर्नुभयो ।
सहसंयोजक सनत उप्रेतीले सवारी साधन तोडफोड गरेर आन्दोलनलाई उग्र बनाउनु गलत भएको टिप्पणी गर्दै भन्नुभयो– ‘बाटो बन्द गरेर फोहोर रोक्न सकिन्थ्यो तर तोडफोड गरेकोमा हाम्रो पनि आपत्ति छ ।’
सोमबार राती करिब ९ बजे ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तोडफोड गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले राती ९ बजे भएको सो घटनमा १७ वटा फोहोर ओसार्ने सवारीसाधन तोडफोड भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘वडा कार्यालयले स्थानीयले फोहोर बन्द गर्ने जानकारी गराएको पत्र पठाएको विषयमा अध्ययन गरिरहेको अवस्थामा एकाएक तोडफोडमा उत्रनु गम्भीर गल्ती भएको छ ।’
कामपाले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरिसकेको छ । तोडफोड गरिएका सवारी तथा उपकरणहरूमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने अवस्थामा पु¥याइएको छ । यस्तै, रोकेर राखिएका गाडीहरूको सिसा फोडिएको छ ।
तोडफोडबाट निजी क्षेत्रका सवारी साधनमा बढी क्षति पुगको छ । प्रदेश नम्बर ३ –०१–००६ ज ०१३७, सोही प्रदेशको २२२०, ५८३७, बा४ ज ८५८६, ना ३ ज ५७०, वागमती प्रदेश ०१–००६ ज २८९२, बा ३ –०१–००६ ज १२५९ नम्बर प्लेटको सवारी साधनमध्ये अधिकांशको अगाडीको सिसा फुटेको छ ।
त्यस्तै बा४ ज ६७८६, बा४ ख ६७८६, बा ५ ख. १४२८, बा२ ज ७२३८, बा ५ ख ५०५५, सोही अल्फावेटको ७६६१ , प्र ३ –०१–००३ क ४७९९, बा ५ ख ३७७८ नम्बरको सवारी साधनमा क्षति पुगेको छ । महानगरले तोडफोडबाट लाखौं रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।

तोडफोड गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको गाडी तोडफोड गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । मंगलबार सामाजिक सञ्जालमा ट्विट गर्दै मेयर साहले लेख्नुभएको छ– ‘फोहोर व्यवस्थापनप्रति हामी शुरूवातदेखि नै संवेदनशील र क्रियाशील छौं । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो ।

वर्षौंदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्ध रूपमा नयाँ–नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।’ उहाँले अगाडि लेख्नुभएको छ– ‘यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौं ।’ उहाँले कानुनी रूपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध भएको टिप्पणी गर्दै भन्नुभएको छ– ‘कानुनबमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही हुनैपर्छ भन्नेमा महानगर स्पष्ट छ ।

तोडफोड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको छ ।’ उहाँले केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने भन्दै विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।