निर्वाचन घोषणासँगै बुटवलमा जग्गा नापजाँचको काम शुरु

0
Shares

बुटवल।

सरकारले प्रदेश र संघको निर्वाचन घोषणा गरेपछि बुटवलमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम शुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको कामको शुभारम्भ गर्नुभएको हो ।

नापजाँचको काम शुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने बताउनुभयो ।

जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम शुरु भएको बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।उहाँले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम शुरु गर्न सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले नापजाँचमा वडाको तर्फबाट समन्वय र सहकार्य हुने बताउनुभयो ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गर्नुभयो ।

नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीब्र गतिमा अघि बढ्ने बताउनुभयो ।