तलब सरह अतिरिक्त भत्ता बुझ्ने स्वास्थ्यकर्मीबाट रकम असुल



रौतहट । डाक्टर जहुर रहिनले चन्द्रनिगाहपुर सरकारी अस्पताल बाहेक चन्द्रपुर हस्पिटल प्रालिमा अतिरिक्त समय काम गर्नुहुन्छ । तर, उहाँले गत आर्थिक वर्षमा चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ५ सय ५३ सिफ्ट अतिरिक्त काम गरेको भन्दै ६ लाख ३२ हजार ६ सय ७ रुपियाँ बुझ्नु भएको छ ।

उहाँ करारमा कार्यरत रहनु भएको हो । उहाँ मात्र हैन दैनिक बिहान, दिउँसो, साँझ र रातिलाई ३ सिफ्ट अतिरिक्त समय काम गरेको भनि सिफ्टलाई दिन मानेर १ दिन बराबरको तलब भुक्तानी लिनेमा १९ जना स्वास्थ्य कर्मचारी रहेका छन् ।

महालेखा परीक्षकको कार्यालयले गत आव ०७७/७८ मा गरेको लेखापरीक्षणमा चन्द्रपुर अस्पतालमा कार्यरत १९ जना स्वास्थ्य कर्मचारीले अतिरिक्त कामको भत्ता भन्दै बुझेको ३६ लाख ४५ हजार ८ सय ३ रुपियाँ असुल गर्नुपर्ने औँल्याएको छ । भत्ता बुझेकामध्ये डाक्टर जहुर राईन, डाक्टर देब शंकर पासबान, डाक्टर धर्मेन्द्र पटेलको करार म्याद सकिएपछि फिर्ता भएका छन् ।

अतिरिक्त भता रकम बुझ्नेमा डाक्टर सन्दीपकुमार साह ४ सय ६ सिफ्टको ५ लाख १ हजार ३ सय १३ रुपियाँ, डाक्टर जहुर राईन ५ सय ५३ सिफटको ६ लाख ३२ हजार ६ सय ७, डाक्टर देबशंकर पासबान २ सय ६ सिफटको ३ लाख ६ हजार ६ सय १९, विवेककुमार चौधरी २ सय ३५ सिफ्टको १ लाख ७ हजार ७ सय ६५, अजयकुमार यादब ३ सय २१ सिफ्टको २ लाख ५६ हजार ४ सय ७९, कुलप्रसाद तिमल्सिना ३ सय २१ सिफटको २ लाख ५६ हजार ४ सय ७९, बलिराम साह १ सय १३ सिफटको ९० हजार २ सय ७, सम्झनाकुमारी झा १ सय ७३ सिफटको १ लाख ७६ हजार ३ सय १३, कुन्ता दाहालको १ सय ३६ सिफटको १ लाख १८ हजार ७ सय २१, मोनिका साह १ सय ३२ सिफटको १ लाख ५ हजार ४ सय ६८, बिमला साह १४७ सिफटको १ लाख १७ हजार ४ सय ५३, रन्जु मुखियाको २ सय १ सिफटको १ लाख ५१ हजार ५ सय ४४, प्रेम कुमारी पौडेलको १ सय ८२ सिफटको १ लाख ३७ हजार २ सय १९, गजेन्द्र चौधरीको ३ सय ६० सिफटको ३ लाख १४ हजार ३ सय ६२, राजेश प्रसाद रौनियारको ४६ सिफटको ३४ हजार ६ सय २ रुपियाँ राजरानी रानाको ३६ सिफटको २७ हजार १ सय ४२, मिरा कार्कीको ६२ सिफटको ४९ हजार ५ सय ३ रुपियाँ रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले अतिरिक्त समय काम गरेको भुक्तानी गर्दा कर्मचारीको ड्युटी लिष्ट तयार गरी बिदाको दिन बिदा लिन नसकेको पुष्टि हुने हाजिर र जनशक्ति कमी भएको आधारमा प्रमाण राखेर भुक्तानी गर्नुपर्ने, तथा सर्सत बजेटतर्फ अतिरिक्त भुक्तानी समय बजेट ब्यबस्था नभएको अबस्थामा नगरपालिकाले सर्शत तलब भत्ताबाट खर्च लेखि तलब खुवाएकोले रकम असुल गर्नुपर्ने औँल्याएको हो ।

अतिरिक्त भता बुझने स्वास्थ्य कर्मचारीले दैनिक बिहान, दिउँसो, साँझ र रातिलाई ३ सिफ्ट अतिरिक्त समय काम गरेको भनि सिफ्टलाई दिन मानी १ दिन बराबरको तलब भुक्तानी गर्न मिल्ने आधार तथा जनशक्ति कम भई अतिरिक्त समय काममा खटाएको प्रमाण र कार्यमूल्याकन तथा विद्युतीय हाजिर पेश नभएको औँल्याएको हो ।

सिफ्टमा काम गर्ने सबै स्वास्थ्कर्मी लाई कोभिड–१९ को जोखिम भत्ता ७५ दिनको ५० प्रतिशत रकम भुक्तानी भइसकेको अवस्थामा अतिरिक्त समय भुक्तानी दिन नमिल्ने भएको हुँदा स्वास्थ्यकर्मीले बुझेको अतिरिक्त भत्ता असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सिग्देलले महालेखा परीक्षकको कार्यालयले असुल गर्न औल्याएको रकम असुल गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्