सिट बाँडफाँटमा अपमान गरे तालमेल हुँदैन : झलनाथ खनाल

0
Shares

काठमाडौँ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन्।

उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए। प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मद्देनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए।

उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबै दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए। उनले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनैपनि वृहत वाम एकताको सम्भावना नरहेको दाबी गरे।

नेता खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जान लागेको बारेमा यो महत्वपूर्ण भ्रमण रहेको बताए। उनले चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए।

उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताइवान, तिब्बत चीनकै भएको दाबी गरे। उनले यी क्षेत्रमा जुन कुनै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताए। उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने बताए।

उनले बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताए।