रुक्मणिराज सिवाकोटी स्मृति–पुष्पको अन्तर्य


रोहिणी घिमिरे

रुक्मणिराज सिवाकोटी स्मारक कोषले हालै ‘रुक्मणिराज सिवाकोटी स्मृति पुष्प–१’ प्रकाशन गरेको छ । रुक्मणिराज सिवाकोटीको स्वर्गारोहण भएको अर्धवार्षिक पुण्यतिथिको अवसर पारेर प्रकाशन गरिएको यस स्मृति ग्रन्थमा पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी, पूर्वसचिव काशीराज दाहाल, पूर्वमन्त्री डा. दुर्गा पोखरेल, पूर्व–मुख्य न्यायाधीश हरिबाबु भट्टराई, वरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया, पूर्व–मुख्य न्यायाधीश दुर्गाप्रसाद उप्रेती, प्रा.डा. रामप्रसाद उपाध्यायलगायत ५८ जना व्यक्तित्वका लेख–रचना समावेश गरिएको छ ।

स्व. रुक्मणिराज सिवाकोटीकै ज्येष्ठ सुपुत्र अर्थात् उच्च अदालत, सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीद्वारा सम्पादित यस स्मृति ग्रन्थमा रुक्मणिराज र उनको परिवारसँग जोडिएका प्रसंगहरु मात्र नभएर दोलखाको सुनखानीका सिवाकोटीहरुको ऐतिहासिक पक्ष पनि विभिन्न लेखमार्फत उजागर गरिएको छ । त्यसैले त्यहाँका अन्य सिवाकोटीहरुका लागि समेत यो ग्रन्थ पठनीय एवं संग्रहणीय हुनेछ ।

दोलखाको सुनखानी क्षेत्रलाई सिवाकोटीहरुको गढ मानिन्छ । प्रा.डा. गोपालप्रसाद सिवाकोटीको भनाइ उद्धृत गर्दै पूर्वन्यायाधीश दुर्गाप्रसाद उप्रेतीले यस स्मृति ग्रन्थमा लेखेका छन्, ‘सुनखानीमा सिवाकोटीहरु सन् १६७१ मा पुगेका थिए ।’ उनका अनुसार कुमाउँ गढवालको सिवाकोटबाट आएकाले नै सिवाकोटी भनिएको हो । यहाँ आएर पहिलोपटक बसोबास गर्ने व्यक्ति गणेश सिवाकोटी थिए । पछि उनैका सन्तति गोवद्र्धन र महेश्वर सिवाकोटीले सन् १७८३ मा सुनखानीमा ५६ झ्याले चौघरा दरबार बाएको कुरा दुर्गाप्रसाद उप्रेतीको लेखले स्पष्ट पारेको छ ।

तिनै गणेश शिवाकोटीका माहिला छोरा हरिदास पुटुङ गएर बसोबास गरे भने जेठा नारायणदास र कान्छा गजाधर सुनखानीमै बसे । यिनै तीन भाइका सन्तान अहिलेका दोलखाका सिवाकोटीहरु भएको उनको लेखबाट झल्किन्छ । यस लेखले केही हदसम्म सिवाकोटीको इतिहास खोतलेको छ । त्यसैले यो स्मारिका मात्र नभएर सिवाकोटीहरुको ऐतिहासिक दस्तावेज नै मान्न सकिन्छ ।

सिवाकोटीद्वय गोवद्र्धन र महेश्वरले सुनखानीमा ५६ झ्याले चौघरा दरबार बनाई बसेको प्रसंग यस स्मृति ग्रन्थमा पढ्दा सिवाकोटीका पुर्खा प्रतापी रहेको ज्ञात हुन्छ । दोलखा जिल्लाको उत्तरी क्षेक्षको यही सिवाकोटी वंशमा जन्मिएका पं. कपिलमुनि सिवाकोटी (रुक्मणिराज सिवाकोटीका पिताजी) त्यस क्षेत्रका नामुद संस्कृतज्ञ एवं ज्योतिर्विद थिए । उनले बनारस पुगेर संस्कृत व्याकरणसहित ज्योतिषशास्त्रको अध्ययन गरे । त्यति बेलाका लागि बनारस पुगेर पढ्नु चानचुने कुरा थिएन, जबकि काठामाडौं पुग्न पनि ६ दिन लाग्थ्यो । पं. कपिलमुनिले वि.सं. १९७५ मा ‘मनीषाकर नीति’ नामको ३४६ श्लोक संख्याको पद्य रचना गरी बनारसबाट नै प्रकाशित गरेको कुराले उनको विद्वत्व झल्किन्छ ।

त्यसै गरी पं. कपिलमुनिले डिल्लीबजारको डेरामा बस्दा तत्कालीन राजा महेन्द्रको पहिलो सन्तान जन्मनेबित्तिकै चिना बनाउन खोजेको कुरा रोचक मात्रै नभएर उनको विद्वताको कसी पनि मान्न सकिन्छ । उनै पं. कपिलमुनिका कनिष्ठ सुपुत्र रुक्मणिराज सिवाकोटीले वडाध्यक्ष एवं उपप्रधानपञ्च भई गाउँमा सामाजिक योगदान पु¥याएका थिए । गुमुखोला–तोरीखेत कुलो निर्माण, नागदह–पिखुती बाटो फराकिलो पार्ने कार्य, गुमुखोला दोभानमा हाट लगाएर बजार बसाउने कार्य आदि उनका उदाहरणीय कार्य भएको यस स्मृति ग्रन्थमा उल्लेख छ ।

रुक्मणिराज सिवाकोटीको जीवनसँग जोडिएका यस्ता अनगिन्ती कुरालाई विभिन्न व्यक्तित्वहरुले आ–आफ्ना किसिमले यस स्मारिकामा प्रस्तुत गरेका छन् । साथै यस स्मृति ग्रन्थमा समावेश सबै लेखकहरुले आ–आफ्ना लेख–रचनामार्फत स्व. रुक्मणिराज सिवाकोटीको योगदानको कदर गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

यस धर्तीमा रुक्मणिराज सिवाकोटीजस्ता कैयौं महापुरुषको जन्म भएको छ । उनीहरु धर्म एवम् सत्य स्थापनार्थ भगवान्को अंश लिएर यस धर्तीमा पदार्पण भएका हुन् । आखिर उनीहरु जेका लागि जन्म लिएका थिए, सो कार्य पूरा गरेर आफ्नो बाटो लागे । स्व. रुक्मणिराज सिवाकोटी पनि यस धर्तीमा आफ्नो कार्य पूरा गरेर ९० वर्षको उमेरमा स्वर्ग प्रस्थान गरे । उनको यस स्मृति ग्रन्थले यही कुरा झल्काएको छ ।

यो पनि

पुस्तक चर्चा : एउटै पुस्तकबाट ७३ चाडपर्वको विस्तृत जानकारी