जगदीप धनखर बने भारतका नयाँ उपराष्ट्रपति


नयाँ दिल्ली।

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन् । १६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए । पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए ।

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बनेकी थिइन् ।