गठबन्धनले अमेरिका र चीनको लडाईमा नेपाल मैदान बनाउँदै छ : योगेश भट्टराई

0
Shares

काभ्रे।

नेकपा एमाले काभ्रेले चुनावी प्रशिक्षण शुरु गरेको छ । जिल्ला स्तरीय अगुवा कार्यकर्ताहरुका लागि आगामी मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीका लागि प्रशिक्षण आयोजना गरिएको एमाले काभ्रेले जानकारी दिएको छ ।

एमाले सचिव योगेश भट्टराईले गठबन्धका कारण मुलुकमा अस्थिरता र संकट उत्पन्न भएको बताउँदै आगामी निर्वाचनबाट गठबन्धलाई परास्त गरी मुलुकको समृद्धीको यात्रालाई निरन्तरता दिनु पर्ने बताउनु भयो । ‘गठवन्धन नेतृत्वको सरकार र दलहरु मुलुकमा अस्थिरता निम्त्याउँदै सदभाव भड्काउन खोजिरहेका छन्’–सचिव योगेश भट्टराईले भन्नुभयो–‘एमाले जातीय तथा क्षेत्रिय र सामाजिक सद्भाव कायम राख्न निरन्तर सक्रिय छ ।’

नेपालमा सद्भाव भड्काउन गठवन्धनको बलमा विदेशी शक्तिहरु समेत सक्रिय भएको भट्टराईले बताउनु भयो । ‘शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिका र चीनको लडाईमा नेपालको भूमि मैदान बनाउन दिंदैछ ’–सचिव भट्टराईले भन्नुभयो –‘असंलग्न राष्ट्रको सिद्धान्त विर्सेर नेपाललाई लडाईको केन्द्र बनाउने गठवन्धन सरकारको योजना नेपाली जनताले आगामी मसिंरको निर्वाचनबाट परास्त गर्नु पर्छ ।’

एमाले सचिव भट्टराईले ३३ सिटमा झरेको, बूढानिलकण्ठमा ¥याल चुहाएर बसेको, प्रतिस्पर्धाबाट भागिसकेको काँग्रेसलाई सत्ता सुम्पन प्रचण्ड र माधव नेपालले गरेको गलत क्रियाकलापको साक्षी बस्न नसकेको बताउनु भयो । ‘समाजबादमा जाने भन्दैमा सम्भव छैन, त्यसका लागि असल चालक आवश्यक छ, प्यासेन्जर बस्ने सिटमा बसेर समाजबादको यात्रा तय हुन सक्दैन’–सचिव भट्टराईले भन्नुभयो–‘समाजबादको यात्रा नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीले मात्रै संचालन गर्न सक्नेछन् । काँग्रेस र एमाले जाने बाटो फरक छ । फरक बाटो हिड्नेहरुसँग काँध मिलाएर प्रचण्ड र माधव नेपाल समाजबादको बाटोमा पुग्न सक्दैनन ।’

विगतका आन्दोलनहरुमा एमाले सहयात्री बनेको बताउँदै एमाले सचिव भट्टराईले संविधान जारी गर्ने अगुवाई तत्कालिन संविधान सभा अध्यक्ष सुबास नेम्वाङ्गले गरेको स्मरण गराउनु भयो । ‘राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री शुशिल कोईराला डराएर भागिरहेका बेला अध्यक्ष सुवास नेम्वाङ्गले संविधान संविधान सभाबाट पारित गर्ने चेतावनी दिनु भयो’–भट्टराईले भन्नुभयो–‘काँग्रेसले संविधान जारी भएको पर्सिपल्टबाट संविधान जलाउने आन्दोलन गर्न निर्देशन दियो ।’

आगामी निर्वाचनबाट सत्ता गठवन्धनले मुलुकलाई भड्खालोमा हाल्न गरेका गतिविधिको भण्डाफोर गर्दै नेकपा एमालेले शुरु गरेको मुलुक निर्माणको अभियानलाई अघि बढाउन जनताकोमा जाने तयारीमा जुटन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

आगामी निर्वाचन र राष्ट्रिय राजनीतिका सन्दर्भमा एमाले सचिव भट्टराईले प्रशिक्षण दिनु भयो भने जनताको बहुदलीय जनबादको मान्यता अनुरुप पार्टी संगठन निर्माणका सन्दर्भमा स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।

पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाका सन्दर्भमा प्रशिक्षण दिनु भएको थियो । बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले प्रदेशका समग्र जिल्लामा पार्टीका प्रशिक्षण र भेला तथा तयारीका बारेमा जानकारी गराउनु भएको थियो । एमाले अध्यक्ष अशोक ब्याञ्जुले काभ्रे जिल्लाको समग्र परिस्थिती र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

स्थायी कमिटी सदस्य काशिनाथ दाहालले मुलुकलाई अघि बढाउन नेकपा एमालेको विचार अब्बल भएको बताउनु भयो । माओवादीहरु हतियार विसाएर एमालेका जनताको बहुदलीय जनवादको अभियानमा आएको बताउँदै सिगो मुलुक नै एमालेको विचारको केन्द्रमा अघि बढिरहेको बताउनु भयो ।
एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचनमा एमालेले जिल्लाका सबै सिटमा जित हासिल गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्लाका ६ सय भन्दा धेरै अगुवा कार्यकर्ता सहभागि थिए । एमालेले भदौ १५ अगावै सबै संगठित सदस्यको सदस्यता नविकरणको अभियान जारी राखेको छ भने सबै जनवर्गीय संगठन, गाउँ तथा नगर कमिटी र वडा कमिटीको बैठक तथा चुनावी तयारी गर्न परिपत्र गरिसकेको छ । पहिलो चरणको अभियान भदौ २० मा सकिए लगत्तै दोश्रो चरणको कार्यक्रम तय हुने एमाले सचिव राजन भुर्तेलले जानकारी दिनु भयो ।

प्रशिक्षणमा एमाले केन्द्रीय सदस्यद्वय रेशम लामा र रुकमणी राना, प्रदेश कमिटी उपाध्यक्ष रामहरि सुवेदी तथा प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु र सदस्यहरु, गाउँ कमिटीका पदाधिकारीहरु, जनवर्गीय संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।